१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सरकारले ल्याउँदैछ दल फुटाउने अध्यादेश प्रतिस्थापन गर्ने विधेयक



काठमाडौँ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण सत्तारुढ गठबन्धनभित्रै दल विभाजनको त्रास रहेका बेला सरकारले उक्त अध्यादेश प्रतिस्थापन गर्ने विधेयक ल्याउन लागेको छ ।

केही समयअघि नेकपा एमालेबाट माधव नेपाललाई नयाँ पार्टी गठन गर्न सहयोग पुग्नेगरी सरकारले संसद बैठक स्थगित गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशको तत्कालीन उद्देश्य पूरा भइसकेको भन्दै चाँडो प्रतिस्थापन विधेयक ल्याउन सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरुले नै दबाव दिँदै आएका थिए । यसै अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा समेत ढिलाइ भइरहेको केही दलका नेताहरुले बताउने गरेका छन् ।

यस अवस्थामा आज बस्ने प्रतिनिधिसभा बैठकमा उक्त अध्यादेश प्रतिस्थापन विधेयक पेस गर्ने सरकारको तयारी रहेको जनाइएको छ । दिउँसो दुई बजे बस्ने बैठकमा विधेयक पेश गर्ने तयारी रहेको छ । उक्त विधेयक पास भएपछि राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज हुनेछ ।

अध्यादेश खारेज भएमा जनता समाजवादी पार्टीभित्र देखिएको त्रास समेत अन्त्य हुने भएको छ । उक्त पार्टीबाट सरकारमा जान र मन्त्री बन्न आकांक्षी धेरै भएको तर कोटा सीमित भएकाले मन्त्रिपरिषद विस्तारभएमा असन्तुष्ट सांसदले पुनः पार्टी विभाजन गर्ने सम्भावना थियो । यसैकारण उक्त पार्टीले अध्यादेश खारेज गर्नुपर्ने र त्यसपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्नुपर्ने अडान राख्दै आएको थियो । केही समयअघि जनता समाजवादीबाट महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष अलग भएर नयाँ दल गठन गरिसकेका छन् । गत भदौ २ गते जारी भएको उक्त अध्यादेशमा कुनै पनि पार्टीका २० प्रतिशत केन्द्रीय सदस्य अथवा सांसदले दल विभाजन गर्न चाहेमा वैधानिकता पाउने प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस !