१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

कस्तो सरकार आयो ? सिस्नु जस्तो, जता छोयो त्यतै पोल्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुको छातीभित्र मुटु होइन, ढुंगा रहेको टिप्पणी गरेका छन् । एमाले विशेष कमिटीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टी र सरकारको चर्को आलोचना गरे ।

आफूतिर नलाग्ने शिक्षकलाई दुर्गममा सरुवा गर्न थालेको भन्दै उनले भने, ‘यिनीहरुको त मानवीय मन पनि छैन । यिनीहरुका छातीभित्र मुटु होइन ढुंगा रहेछ ढुंगा । त्यो पनि दर्शनढुंगा भन्छन् नि छिप्पिएको सेतो । त्यस्तो मुटु छ ।’

अध्यक्ष ओलीले सरकारलाई सिस्नुसँग पनि तुलना गरे । सुकुम्बासीहरुलाई जग्गा दिन आफ्नो सरकारले बनाएको आयोग खारेज गरेको, छिमेकी देशहरुसँग सम्बन्ध बिगारेको भन्दै उनले भने, ‘कस्तो सरकार आयो–आयो ? सिस्नु जस्तो, जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा तातोपानी लगाएर ठीक पार्नुपर्छ ।’

माके र माने पार्टी

एमाले अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई माके र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलार्ई माने पार्टी भन्दै टिप्पणी गरे । दुवै पार्टीले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतामा फाटो ल्याउने काम मात्र गरेको भन्दै उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा देखा परेको दक्षिणपन्थताविरुद्ध जुध्ने अरे । कांग्रेसका पछिपछि हिँड्नु छ, दक्षिणपन्थको विरोध !’

माधव नेपालको पार्टी पदाधिकारी पार्टी भएको भन्दै उनले अघि भने, ‘पदाधिकारी अलि ठाउँ भरिएको छैन क्यारे । कोही बिकाउको माल छ कि, यो पद दिन्छु भनेर तान्न सकिन्छ कि भनेर खोज्दै हुनुहुन्छ तर त्यो पूरा भएको छैन ।’

सम्बोधनका क्रममा ओलीले आफ्नो सरकारले नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति पनि असन्तुष्टि जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !