१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

एक रुपैयाँ मात्र भ्रष्टाचार गरेको प्रमाण दिए मृत्युदण्डका लागि तयार छु: गच्छदार



विराटनगर, ७ असोज

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास काण्डको बचाउ गर्दै आफू जग्गा कारोबार गर्ने नभएको बताएका छन् । प्लटिङ गर्ने आफ्नो काम नभएको बताउँदै उनले सडक, भवन तथा अन्य संरचनाहरू बनाउने काम आफ्नो नभएको बताएका हुन् ।

१९ महिनापछि गृहजिल्ला सुनसरी आउने क्रममा विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै गच्छदारले भौतिक पूर्वाधार विकास मन्त्रालयको सडक, भवनहरू बनाउने काम भएको भन्दै जग्गा दलाल गर्ने आफ्नो काम नभएको दोहोर्‍याए ।

जग्गासम्बन्धी निर्णय मन्त्रिपरिषद्को बैठकले गरेकाले दोषी भए प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई कारवाही हुनुपर्ने उनको भनाइ थियो । ‘तत्कालीन प्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालसहित अन्य मन्त्रीहरूलाई पनि कारवाही हुनुपर्‍यो’, उनले भने, ‘म मात्र कसरी परेँ, निर्णय गर्ने सब, कारवाही भोग्ने बेलामा म मात्र ?’

उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका बारेमा समेत प्रश्न उठाएका छन् । जो प्रधानमन्त्री हो, उसैले आयोगका पदाधिकारी नियुक्त गर्ने गरेका कारणसमेत निर्दोषलाई दोषी देखाउने गरेको उनको आरोप छ ।

‘ललिता निवाससम्बन्धीको फाइल मात्र मन्त्रिपरिषद्को बैठकमा मैले पेस गरेको हुँ’, उनले भने ।

उनले योजना बनाएरै फसाए पनि अदालत र जनताबाट न्याय पाउने विश्वास व्यक्त गरे । ‘मेरा लागि न्यायधीश भनेको नै जनता हो, उहाँहरूले साथ दिनुभयो भने झूटा मुद्दाले केही पनि गर्दैन । म जनताको शरणमा आएको छु’, भावुक हुँदै गच्छदारले भने ।

आफू मन्त्रिपरिषद्को सदस्य मात्र भएकाले सरकारले सक्छ भने दोषी देखिए त्यस समयका गृहमन्त्री भीम रावल र मन्त्री विद्यादेवी भन्डारीलाई समेत कारवाही गर्न उनले माग गरे ।

५१ वर्षको आफ्नो राजनीति सखाप बनाउन खोजिए पनि जनतको साथ पाएकाले आफूलाई कुनै असर नगर्ने उनको भनाइ थियो । उनले आफूले अहिले सम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी पनि गरे । ५१ वर्षको राजनीतिक जीवनमा एक रुपैयाँ मात्र भ्रष्टाचार गरेको प्रमाण दिए आफू मृत्युदण्डका लागि पनि तयार भएको उनले बताए । जनताले दोषी भनेमा फाँसीका लागि समेत तयार रहेको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !