१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एमाले बैठक : प्रतिवेदन प्रस्तावमाथि छलफल गर्न समूह निर्माण



काठमाडौं । विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदन मस्यौदामाथि छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १० वटा समूह निर्माण गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरु भएको केन्द्रीय कमिटी बैठकले प्रतिवेदन मस्यौदामाथि छलफल गर्न प्रदेशको आधारमा समूह बनाएको हो ।

समूहगत रुपमा छलफल गरेर प्रतिवेदन मस्यौदाहरुमाथि सुझाव केन्द्रीय कमिटी बैठकमा पेश गरिने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन मस्यौदा दिइएको छ ।

‘केन्द्रीय सदस्यहरुले अध्ययन गरेर समूहमा आफ्नो सुझाव राख्नेछन् र टोली नेताले केन्द्रीय कमिटी बैठकमा संकलित सुझाव पेश गर्नेछन्,’ तामाङले भने । समूहगत छलफलपछि शनिबार दिउँसो एक बजेबाट केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गरिने भएको छ ।

१५–१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन मस्यौदाहरुमाथि स्थायी कमिटीमा यसअघि नै छलफल भइसकेको छ । अब केन्द्रीय सदस्यहरुको समेत सुझाव आएपछि स्थायी कमिटी बैठकले प्रतिवेदनहरु टुंगो लगाउनेछ ।


प्रतिक्रिया दिनुहोस !