सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगबाट कार्य प्रारम्भ « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगबाट कार्य प्रारम्भ



नेपालको संविधान बमोजिम सुदूरपश्चिम प्रदेशमा गठन भएको प्रदेश लोकसेवा आयोगले आफ्नो काम प्रारम्भ गरेको छ । आयोगका अध्यक्ष यज्ञराज बोहराले पदपूर्तिको प्रयोजनका लागि मन्त्रालय, कार्यालय र निकायवाट कर्मचारीको रिक्त माग पद पठाइदिन पत्राचार भई कार्य प्रारम्भ भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘पदपूर्ति गर्ने प्रयोजनका लागि सुदूरपश्चिम प्रदेशका मन्त्रालय, निकाय, कार्यालयबाट रिक्त माग पद पठाइदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको छ ।’’

प्रदेश लोकसेवा आयोग ऐन बमोजिम आयोगको नियमावली, कार्य सञ्चालन निर्देशिका, आयोगका पदाधिकारी, विषय विज्ञ, विशेषज्ञ र कर्मचारीको आचारसंहिता जारी भइसकेको छ । आयोगलाई योग्यता, निष्पक्षता र स्वच्छताका आधारमा प्रदेशमा रहेका मन्त्रालय र मातहतका कार्यालय÷निकायका रिक्त पदमा कर्मचारी पदपूर्तिका लागि परीक्षामार्फत योग्य नागरिक सिफारिस गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

संविधानको धारा २४४ मा प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा आयोग रहने व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशमा २०७७ चैत्र महिनामा प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा पदाधिकारीको नियुक्ति गरिएपछि प्रदेशको राजधानी धनगढीमा आयोगको कार्यालय सञ्चालनमा आएको थियो । यसैबीच सुदूरपश्चिम प्रदेशका प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रमुख गङ्गाप्रसाद यादव समक्ष आज आयोगका अध्यक्ष बोहराले प्रदेश लोकसेवा आयोग ऐन बमोजिम आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

प्रस्तुत प्रतिवेदनमा आयोगबाट सम्पादन भएका कामसम्बन्धी विवरण समेटिएको छ । समारोहमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, आयोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस !


अध्यात्मिक शिक्षाले मानव कल्याण र विश्व शान्तिको मार्ग देखाउँछः मुख्यमन्त्री राउत



जनकपुरधाम, ६ कात्तिक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भौतिकवादी युगमा मानिसलाई अहिंसाको बाटोमा डोर्‍याउन अध्यात्मिक शिक्षाको महत्व रहेको बताएका छन् ।

जनकपुरधाम उपमहनगरापालिका–१४ मुजेलियास्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको शनिबार उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले भने, ‘कुनै पनि धर्मका धार्मिक शिक्षाले मानिसलाई अहिंसाको मागमा चल्न सिकाउछन् । धार्मिक शिक्षाले पनि समाजलाई जोड्छ,धार्मिक सदभाव बढाउछन, भाइचारा, मानव कल्याण र विश्व शान्तिको वकालत गर्छन् ।’

पाँच कठ्ठा क्षेत्रफलमा चार करोड पचास लाखको लागतमा निर्माण भएको उक्त भवनमा राजयोग सेवा केन्द्रसँग सम्बन्धित प्रशिक्षणहरु सञ्चालन हुने जनाइएको छ । सेवा केन्द्रको नेपाल निर्देशक राज दादी मा को अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य सत्रुधन महतो, राम अशिष यादव , परमेश्वर साह, शारदा थापासहित समाजसेवीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस !

कांग्रेसद्वारा कुशवाहामाथि दुव्र्यवहार गर्नेउपर कारवाहीको स्वागत



नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुव्र्यवहार गर्ने दोषीलाई कानुनी कारवाही गर्न सरकारले अघि बढाएको प्रक्रियाको स्वागत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत राजनीति, प्रशासन तथा समग्र समाजमा रहेका बेथितिविरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै कानुन हातमा लिने, बलजफती र हुल हुज्जत गर्ने कार्य भने सभ्य समाजको परिचायक हुन नसक्ने बताउनुभएको छ ।

यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कारवाहीको विषय बन्ने जनाउँदै उहाँले जनकपुरको घटनाले नेपाली इञ्जिनीयर, कर्मचारी र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।

कांग्रेसले सहकर्मीउपर गम्भीर दुव्र्यवहार हुँदा इञ्जिनीयर आक्रोशित र आन्दोलित हुनु स्वभाविक भएको जनाउँदै सुरु कानुनी कारवाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास लिएको छ । शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक तथा सदस्यलाई तदनुकूलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने कांग्रेसले स्मरण गराएको छ ।

हुलहुज्जतको बाटोबाट समुन्नत समाजमा पुग्न नसकिने उल्लेख गर्दै कांग्रेसले हरेक दल, नेतृत्व, सदस्य, समर्थक र नागरिकले यसलाई गहिरो आत्मसात् गर्नुपर्ने आवश्यकताका साथ थप सजगता तथा कडाइका लागि सरकारसँग अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

एकीकृत समाजवादीले तीन महिने संगठन विस्तार अभियान चलाउने



सीपी लोहिया,/न्युज कारखाना

बैतडी, ६ कात्तिक

नेकपा (एकीकृत समाजवादी) बैतडीको पहिलो विस्तारित बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले तीन महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । संगठन विस्तार अन्तर्गत पालिकाका कमिटीहरु गठन गर्ने, अहिले गठन प्रक्रियामा रहेका वडा कमिटी गठनलाई निरन्तरता दिने, जनवर्गीय संगठनहरु विस्तार गर्ने, नयाँ सदस्यता थप गर्ने र पुरानालाई नवीकरण गर्ने बताइएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका पोलिटब्यूरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्टले अबको तीन महिना संगठन विस्तार र सुदृढीकरणमा लाग्ने बताए । विस्तारित बैठकले जिल्ला सचिवालय गठन गर्ने तथा जिल्ला कमिटी सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।

सचिवायल सदस्यको टुंगो लगाउने जिम्मेवारी जिल्ला कमिटीका पदाधिकारीलाई दिएको छ । जिल्ला पदाधिकारीले नै स्थानीय तहका इन्चार्जहरु तोक्नुका साथै जनवर्गीय संगठनका इन्चार्जसमेत तोक्ने निर्णय गरेको छ । सचिवालय सदस्यमा यसअघि नेकपा एमालेमा छँदा सचिवालय सदस्य र जिल्ला कमिटी सदस्य रहेका ब्यक्तिलाई स्वतः समावेश गर्ने र जिल्ला कमिटी सदस्यको टुंगो पदाधिकारी बैठकले लगाउने बताइएको छ ।

पार्टीले केही दिनअघिको अविरल वर्षाका कारण विपदमा परेका बैतडीवासीका पीडाहरु सरकार समक्ष पुर्‍याउने जनाएको छ । बाढी पहिरो पीडितका लागि तत्काल राहत तथा पुनर्स्थापनाका काम अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

यसैगरी स्थानीय तहमा भइरहेको भ्रष्टाचार न्यूनीकरणका लागि पहल गर्ने, सार्वजनिक मुद्दामा बहस गर्ने, विकास निर्माणका काममा हुने ढिलाईको कारण खोजी र कार्यान्वयन पक्षलाई बलियो बनाउने निर्णयसमेत भएको पोलिटब्यूरो सदस्य भट्टले बताए । उनले भने, ‘हामी अब पार्टी संगठन विस्तारको कामलाई तीब्रता दिनुका साथै आम जनताका सानादेखि ठूला मुद्दामा केन्द्रीत हुन्छौं ।’

उनले अहिले सरकारमा रहेका दलहरुको गठबन्धन आगामी चुनावसम्म रहने र चुनाव जितेरै छाड्ने दावी गरे ।

पत्रकार सम्मेलनमा नेकपा (एस) का प्रदेश सहसचिव एवं सुदूरपश्चिम प्रदेशका पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले आफ्नो पार्टी अहिले पनि सरकारमा भएकाले जनजिविकाका सवालहरुमा केन्द्रीत रहेको बताइन् ।

उनले भनिन्,‘सुदूरपश्चिम प्रदेश सरकारमा हाम्रो पार्टीको बाहुल्यता छ । केन्द्र सरकारमा हाम्रो पार्टीको गठबन्धन छ । त्यसैले दुबै सरकारसँग हामी जनजीविकाका सवालमा कुरा उठाउछौं । अहिले बर्षाका कारण विपदमा परेका बैतडीबासीका समस्यालाई हल गर्न, उनीहरुको पुनर्स्थापना गर्न हामी पहल गर्छौ ।’

पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी भट्टले केन्द्रीय नेताका कारण पार्टी विभाजन भएकाले यसमा आफूहरुको कुनै गल्ती नरहेको बताइन् । उनले आफ्नो पार्टी अहिले सानो भए पनि जिल्लाका पुराना नेताको खोजी गरी उनीहरुसँगको सहकार्यमा अगाडि बढ्ने बताइन् ।

पत्रकार सम्मेलनमा नेकपा (एस) का जिल्ला अध्यक्ष महादेव भट्टले विगतमा भएका गल्ती कमजोरीलाई सुधार्दै नेकपा (एस) बलियो पार्टीको रुपमा स्थापित हुने बताए । उनले आगामी निर्वाचनमा बैतडीका ५० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले चुनाव जित्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: