१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

अर्थ मन्त्रालयले भन्यो-स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन, कच्चा वस्तुको भन्सार घटेको छ



सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको पुनः स्पष्ट पारेको छ । सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ ।

स्यानिटरी प्याड आयातमा आव ०६९/०७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको र कुनै पनि वृद्धि नगरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्रै कायम गरिएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले भनेको छ, “स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो ।”

ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानीजानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरूको भ्रममा नपर्न मन्त्रालयले अनुरोध गरेको छ ।

विनियोजन विधेयक, २०७८ को बुँदा नं ७३ मा करको विषयमा केही उल्लेख छैन । सो बुँदाले स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्य राखी छुटको व्यवस्था गरिएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार आव ०७७/०७८ मा नेपालमा १ अर्ब १७ करोड ७४ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याड आयात भएको देखिन्छ ।  ती प्याड र टेम्पोनबाट नेपाल सरकारले  ३४ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

भन्सार विभागले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनामा मात्रै ८ करोड ७९ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याडल आयात भएको छ । देशभित्र वार्षिक ३ अर्ब रुपैयाँ बराबरको स्यानिटरी प्याड र टेम्पोन खपत हुने गरेको छ ।

नेपालमा एकाध उद्योग सञ्चालमना छन् ।    भन्सार विभागका अनुसार भारत, चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिकलगायत मुलुकबाट नेपालमा स्यानिटरी प्याड र टेम्पोन आयात हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय