१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एमाले स्थायी समितिमा पनि भुसालले फरक मत राख्ने, ओली नै मुख्य दोषी रहेको जिकिर



काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज बिहान ११ बजेदेखि बस्ने भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र विष्णु पौडेलका प्रस्तावमाथि नेता घनश्याम भुसालले फरक मत राख्ने भएका छन् । आगामी असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको एमालेको प्रथम विधान महाधिवेशनमा पेश गर्ने तीनवटा दस्तावेजलाई आजको बैठकले अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।

अध्यक्ष ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलको संगठनात्मक प्रस्ताव र विधान मस्यौदा समितिका संयोजक विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावलाई आजको स्थायी कमिटी बैठकले परिमार्जन गर्ने एमाले स्रोतले बतायो ।

अध्यक्ष र महासचिवले प्रस्तुत गरेका दस्तावेजमाथि तेस्रो धारका नेता घनश्याम भुसालले तीन बुँदे असहमति प्रस्तुत गरेका छन् । आइतबार केन्द्रीय कमिटीको बैठकमा भुसालले हलबाटै उठेर आफ्नो रिजर्भेसन दर्ता गरेका हुन् अध्यक्ष केपी ओलीले ‘छोटोमा कुरा गरौं’ भन्दै भुसाललाई रोक्न खोजेपछि आइतबारको बैठकमा केही ‘नोक–झोंक’ समेत भएको थियो । भुसालले छोटो र लामो भन्दा पनि आफ्ना कुराहरु राख्न पाउनुपर्ने र एमालेको निर्माणमा आफ्नो पनि योगदान रहेको बताएका थिए ।

संसद विघटन लगायतका विषयमा सबै नेताहरु दोषी देखिए पनि अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले केपी ओली सबैभन्दा बढी दोषी रहेको भुसालले आइतबारको बैठकमा बताएका थिए । अध्यक्ष र महासचिवको दस्तावेजमा अध्यक्षका कमजोरीहरू पनि उल्लेख हुनुपर्ने भुसालको माग थियो । त्यसैगरी, अध्यक्ष र महासचिवको प्रतिवेदनमा जनताको बहुदलीय जनवादको भजन कीर्तन गरिएको भुसालको आरोप छ । जबजको स्पष्ट व्याख्या हुनुपर्ने उनले माग गरेका छन् ।

त्यसैगरी नेकपा एमाले यतिबेला कार्यक्रमविहीन बनेको हुनाले दलाल पुँजीवाद विरुद्ध समाजवादमा जानका लागि पार्टीको आगामी योजना र कार्यक्रम स्पष्ट रुपमा ल्याउनुपर्ने भुसालको माग छ । अध्यक्ष र महासचिवको दस्तावेजमा स्पष्ट कार्यक्रम नआएको भन्दै उनले यसमा फरक मत राख्न पाउनुपर्ने माग गरेका छन् । त्यसैगरी विष्णु पौडेलको प्रस्तावमा ३ जना उपाध्यक्ष राख्ने प्रस्ताव गरिएकोमा ७ उपाध्यक्ष बनाइनुपर्ने केन्द्रीय कमिटीबाट सुझाव आएको छ । यसलाई पनि आजको स्थायी कमिटी बैठकले सच्याउने नेताहरुले बताएका छन् ।

त्यसो त केन्द्रीय कमिटीको बैठकमै सहभागी नरहेका प्रभु साहले पनि ८ बुँदे प्रस्ताव अघि सारेका छन् । साहको प्रस्तावलाई प्रदेश २ को समूहगत छलफलमा रामचन्द्र मण्डलले प्रवेश गराएका छन् । माओवादीबाट एमालेमा प्रवेश गरेका सबै तहका नेताहरुलाई पूर्ववत् पदमा खटाइनुपर्ने उनीहरुको माग छ । ​पूर्वमाओवादीको मागलाई एमाले स्थायी कमिटी बैठकले सम्वोधन गर्नुपर्ने प्रभु साह पक्षका नेताहरु बताउँछन् । यसो गर्दा साहलाई स्थायी कमिटी सदस्य बनाइनुपर्ने ती नेता बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय