१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एमाले फुटाएपछि दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक



फाइल तस्विर

काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । एमालेको विभाजन भएपछि देउवा सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बैठक बोलाएका हुन् । सोमबार बेलुका चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार सोमबार चार बजे बस्ने मन्त्रिपरिषद बैठकले अध्यादेश खारेजको निर्णय गर्ने भएको हो ।

मन्त्रिपरिषदको निर्णय लगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी भएको छ । सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अध्यादेश फिर्ता लिने तयारी भएको पार्टी स्थायी कमिटी बैठकमा सोमबार बिहान ब्रिफिङ गरेका छन् । माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले बैठकमा प्रचण्डले अध्यादेश फिर्ता लिन आजै चार बजे मन्त्रिपरिषद बैठक बस्ने र त्यसलगत्तै सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबण्डामा छलफल हुने ब्रिफिङ गरेका बताए ।

‘चाँडोभन्दा चाँडो मन्त्रिमण्डललाई पूर्णता दिनेगरी तयारीहरु भइरहेका छन् । माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साहले बैठकले खासै ठुलो निर्णय नगरेपनि पार्टीको स्थानीय तहको अधिवेशन मिति हेरफेर तथा सरकारको पूर्णताको लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलफल भएको जानकारी दिए । सरकारले गत साउन २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । संविधान अनुसार संसदको अधिवेशन सञ्चालनमा आएको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्छ । अध्यादेश पेस भएसँगै ६० दिनभित्र सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !