७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

विप्लव निकट विद्यार्थी संगठनको अध्यक्षमा प्रकाश शाही



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले २२औँ राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले उद्घाटन गरेर सुरु भएको सम्मेलन ६ देखि ९ असोजसम्म पोखरामा चलेको थियो ।

सम्मेलनले प्रकाश शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नवनिर्वाचित अध्यक्ष शाहीले सम्मेलनले २१औँ राष्ट्रिय सम्मेलनबाट प्रस्तावित वैज्ञानिक समाजवादी शिक्षाको प्रारम्भिक खाका प्रस्तुत गरेको जानकारी दिए । उनले शिक्षालाई पछिल्लो समयमा व्यापारको हिसाबले हेरिएको र सो विषय सम्मेलनमा उठान गरिएको बताए ।

अनलाइन शिक्षाका नाममा भइरहेको लुट र विभेदलाई नियन्त्रण गरी तत्काल भौतिक कक्षा संचालन गर्नसमेत उनले माग गरेका छन् । सरकारले जनताको कुनै पनि समस्याको समाधान गर्न नसकेको उनको आरोप छ । शाहीले सरकारबाट मुठ्ठीभरका मानिसले मात्र लाभ पाइरहेको आरोप लगाए ।

देशको विद्यमान शिक्षा क्षेत्रले सम्पूर्ण विद्यार्थीको भविष्य सुनिश्चित गर्न नसक्ने उनको ठहर छ । उनले दुर्गम क्षेत्रका विद्यार्थीको पढाइको स्तर खस्किनुमा भौतिक सुविधा नहुनु प्रमुख कारण भएको बताए ।

‘देश कोरोना संकटबाट आक्रान्त बनेका बेला संक्रमित सबै नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्नुका साथै सम्पूर्ण नागरिकलाई कोरोना खोपको अनिवार्य व्यवस्था गरिनुपर्छ’, उनले भने ।

उनले मेडिकल शिक्षामा भएको बेथितिको अन्त्य गरी सरकारको लगानीमा मेडिकल कलेजको विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष नरेन्द्र विश्वकर्माले जनमतसंग्रह पार्टीको मुख्य एजेन्डा बनाउने बताए । ‘वैज्ञानिक समाजवादी व्यवस्था र दलाल पुँजीवादी संसदीय व्यवस्थाका विषयमा तत्काल जनमतसंग्रहको घोषणा गर्न सरकार समक्ष माग गर्छौं’, उनले भने ।

यस्तै, महासचिव मिलन राईले जनताको जनजीविकाको अवस्था अत्यन्तै कमजोर भएको भन्दै अझै पनि नेपालमा राजनीतिक परिवर्तन भई नसकेको बताए ।


प्रतिक्रिया दिनुहोस !