१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

विधुत प्राधिकरणले सुनियोजितरुपमा इन्टरनेटका तार काटिदिदैछ, सेवा प्रवाह गर्नै गाह्रो बनायो : आइएस्पान



ISPAN- Internet Service Provider Association of Nepal

इन्टरनेट सेवा प्रदायक संघ नेपालले इन्टरनेटको तार सुनियोजितरुपमा काटिएको भन्दै आपत्ति जनाएकोछ । नेपाल विद्युतप्राधिकरणले इन्टरनेट सेवाको तार सुनियोजितरुपमा र देशमा मुख्य मुख्य स्थानहरुमा काटेपछि सेवा अवरुद्ध भएको भन्दै त्यसमा आपत्ति जनाएको हो।

विद्युत प्राधिकरण र त्यसका कर्मचारीहरुले गैरकानूनी कार्य गरेको भन्दै सबै कुराको बेवास्ता गरी एकहोरो ढङ्गले देशभरि इन्टरनेट सेवा अवरोध गर्न नियोजितरुपले प्राधिकरण अग्रसर भएको आरोप लगाएका छन् ।

आइस्पानले प्रेस विज्ञप्ती जारी गर्दै सो इन्टरनेट सेवा प्रवाह गर्ने वातावरण सुनिश्चित नगरेसम्म र विद्युत प्राधिकरणले देशभरि इन्टरनेट सेवा अवरोध गर्ने गतिविधि नरोकेसम्म देशमा इन्टरनेट सेवा प्रवाह गर्ने अवस्था नरहेको उल्लेख गरेका छन् ।

आइस्पानकाअनुसार विद्युत प्राधिकरणले सुनियोजित रुपमा भरतपुर, बुटवल, काठमाडौँ, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ्ग, खाडीचौर, धनगढी लगायतका देशका मुख्य मुख्य ठाउँहरुमा, अति आवश्यक इन्टरनेट सेवालाई अवरोध पुर्याउने उद्देश्यका साथ इन्टरनेट सेवा प्रवाह गरिरहेको फाईबर-तार काटेको छ।

भरतपुर वितरण केन्द्र/शाखा कार्यालय र विराटनगर वितरण केन्द्र/ शाखा कार्यालयहरुका कर्मचारीहरुले इन्टरनेट ठप्प पार्न अनेकन गैरकानूनी क्रियाकलाप गर्दै मुख्य मुख्य ठाउँको इन्टरनेट सेवा प्रवाह गरिरहेको फाईबर-तार छानी छानी काटेको सेवा प्रदायकहरुको भनाई छ ।

“यस कारणले गर्दा अहिले हामी नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेट सेवा प्रणालीमा ठूलो क्षती पुगेको छ भने, फाईबर-तार काटेर, मर्मत कार्यमा समेत अवरोध पुर्याउन खटिएका प्राधिकरणका कर्मचारीहरुले गर्दा इन्टरनेट सेवा प्रवाह गर्न नसक्ने अवस्था विद्युत प्राधिकरणले सृजना गराएको छ । यसकारण यी क्षेत्रमा इन्टरनेट ठप्प हुन पुगेको कुरा ग्राहक महानुभावहरुमा जानकारी गराउँदछौँ,” विज्ञप्तीमा भनिएको छ।

सेवा प्रदायकहरुलाई अहिलेको समयमा देशका विभिन्न भागमा पनि इन्टरनेट सेवा प्रवाह गर्न हामीलाई हम्मेहम्मे परिरहेको अवस्था भएको भन्दै वर्तमान कोभिड-१९ को महामारीमा अनलाईन शिक्षा, बैकिङ्ग, रोजगारी, स्वास्थ्य, विमान/विमान स्थल जस्तो संवेदनशिल क्षेत्रलाई जोडेको इन्टरनेटलाई अवरोध गर्ने विद्युत प्राधिकरणको क्रियाकलपहरु अक्षम्य रहेको बताएको छ।

त्यसैगरी यो अवस्था सृजित गर्ने विद्युत प्राधिकरण नै सबै घटनाको कारक तत्व, कारण र जिम्मेवारी लिनु पर्ने अक्षम्य निकाय भएको पनि उल्लेख गरिएको छ।

यो अवस्थाबाट निकाश निकाल्न इन्टरनेट सेवा प्रदायक संघले आफ्ना सम्पूर्ण संयन्त्रलाई प्रयोग गरिरहेको पनि जानकारी गराएको छ।

हेर्नुस् विज्ञप्ती-


प्रतिक्रिया दिनुहोस !