२१ मंसिर २०७९, बुधबार
 |   Wed Dec 7 2022
Logo

प्यान्डोरा पेपर्सको खोज पत्रकारिता, अवैध धनका बारेमा अहिलेसम्मकै ठूलो खुलासा



काठमाडौं । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिष्ट’ (आईसीआईजे) ले अफशोर लगानी सम्बन्धी अहिलेसम्मकै ठूलो खोज प्यान्डोरा पेपर्स मार्फत गरेको छ । विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी र शक्तिशाली व्यक्तिहरूले अवैध तरिकाले कमाएको धन वैध बनाउन कसरी ‘ट्याक्स हेभन’ (सम्पत्तिको स्रोत नखोजिने र जवाफदेही हुनुनपर्ने) देशमा पुर्याएर एउटा समानान्तर अर्थतन्त्र चलाइरहेका छन् भन्ने खुलासा यसले गरेको छ ।

अफशोर खातामा रकम जम्मा गर्ने र शेल कम्पनी मार्फत कारोबार गर्नुको मुख्य उद्देश्य अवैध तरिकाले आर्जित रकम लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरि स्वदेश भित्र्याउने खेल नै हो । यो चक्रले असमानता बढाउने, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा अवरोध गर्ने, तस्करी र गैरकानूनी गतिविधि बढाउँछ । यो छायाँ अर्थतन्त्रले अन्ततोगत्वा विश्व अर्थव्यवस्थालाई नै कमजोर बनाएर सीमित व्यक्तिलाई समृद्ध बनाउँछ ।

आईसीआईजेले ९० देशका ३३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफशोर खाता र शेल कम्पनी मार्फत अवैध रकम लुकाएको र छायाँ अर्थतन्त्र चलाइरहेको खुलासा गरेको छ । प्यान्डोरा पेपर्सले खुलासा गरेको अफशोर खाता र शेल कम्पनीमा १६ जना नेपालीको नाम पनि जोडिएको छ । अवैध तरिकाले कमाएको रकम विदेश पुर्याएर त्यसलाई ‘वैध’ बनाएर विभिन्न ठाउँमा लगानी गर्ने वा फेरि नेपाल भित्र्याउने काममा नेपालीको पनि संलग्नता छ र त्यसलाई अधिकार सम्पन्न निकाय र राजनीतिज्ञको प्रत्यक्ष÷परोक्ष संरक्षण छ । नेपालको कानूनले राष्ट्र बैंकको स्वीकृति विना नेपालीलाई विदेशमा लगानी गर्न रोकेको छ । त्यसैले नेपालीले विदेशमा लगानी गर्नु दण्डनीय अपराध हो ।

कोरोना महामारीबीच नेपालमा मात्रै झन्डै ५० जना व्यक्तिसँग यस विषयमा सोधखोज, अनौपचारिक कुराकानी तथा अन्तर्वार्ता गरिएको थियो । प्यान्डोरा पेपर्स खुलासाका क्रममा नेपाल जोडिएका इमेल, वर्ड फाइल, पीडीएफ फाइल र तस्वीर लगायत विभिन्न कागजपत्रका झण्डै तीन हजार दस्तावेज केलाइएको थियो । प्यान्डोरा पेपर्स विश्वका १४ वटा बिचौलिया कम्पनी (ल फर्म) तथा सेवा प्रदायकले राखेका रेकर्ड गोप्य स्रोतबाट प्राप्त भएपछि गरिएको खुलासा हो । यसका लागि १ करोड १९ लाख भन्दा बढी दस्तावेज केलाइएको थियो । यी विभिन्न दस्तावेजको डिजिटल परिमाण २.९४ टेराबाइट्स छ । सेवा प्रदायकले रेकर्डमा राखेका अधिकांश कागजात सन् १९९६ देखि २०२० सम्मका हुन् । तर, कतिपय रेकर्डहरू सन् १९७० का पनि छन् । आईसीआईजेले विश्वका विभिन्न सञ्चारमाध्यमसँग मिलेर सन् २०१३ देखि सन् २०२१ सम्म गरेका खुलासामध्ये प्यान्डोरा पेपर्स सबैभन्दा ठूलो खुलासा हो ।

नेपालमा खोज

नेपालमा यो खुलासाका लागि खोज पत्रकारिता केन्द्रको नेतृत्वमा पत्रकार, मेन्टर, सम्पादक र फ्याक्ट चेकरसहित पाँचवटा संस्था र फ्रिलान्सर गरी १४ जनाको सहभागिता थियो । खोजका लागि विदेशका ६ जना पत्रकारको समेत सहयोगमा झण्डै एक वर्ष लगाएर नेपाल र विदेशका विभिन्न नागरिककोे अफशोर लगानी र कारोबारबारे अनुसन्धान गरिएको थियो ।

कोरोना महामारीबीच नेपालमा मात्रै झन्डै ५० जना व्यक्तिसँग यस विषयमा सोधखोज, अनौपचारिक कुराकानी तथा अन्तर्वार्ता गरिएको थियो । प्यान्डोरा पेपर्स खुलासाका क्रममा नेपाल जोडिएका इमेल, वर्ड फाइल, पीडीएफ फाइल र तस्वीर लगायत विभिन्न कागजपत्रका झण्डै तीन हजार दस्तावेज केलाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: