कालो धन लुकाउने चौधरी, गोल्छा, सुमार्गीलगायतका १६ नेपालीलाई होला त कारबाही ? « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

कालो धन लुकाउने चौधरी, गोल्छा, सुमार्गीलगायतका १६ नेपालीलाई होला त कारबाही ?



काठमाडौं । आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासा अनुसार, नेपालका दुई ठूला व्यापारिक घराना – चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिहरू समेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो । अमेरिकाको वासिङटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’ लाई उपलब्ध गराएको कागजात अनुसार प्रतिनिधिसभा सदस्य तथा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको छ । ती कम्पनीहरू विनोद चौधरी, उनकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलको नाममा छन् ।

यस्तै अफसोर कम्पनी खोलेर कारोबार गर्नेमा नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसन पनि छ । गोल्छा अर्गनाइजेशन सम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमै कम्पनी छ । त्यसैगरी खोपके नेपालकै यसअघिको खुलासा नेपालिक्समा उल्लेख भएका नेपाली नागरिकहरू अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनीहरू पनि सञ्चालनमा रहेको तथ्य फेला परेको छ । यसबाहेक ललितपुर पुल्चोक ठेगाना भएका राजेन्द्र शाक्य र अन्य नेपाली व्यवसायीहरू– सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, काठमाडौं ज्ञानेश्वरका सुधीर मित्तल, नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सराफको लगानीमा पनि ट्याक्स हेभन मुलुकमा कम्पनी सञ्चालनमा रहेको देखिएको छ ।

गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न पाइन्न । आयकर ऐन–२०५८ ले ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’ लाई ‘बासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी व्यवस्था गरेको छ । ‘यो व्यवस्था अनुसार कुनै नेपाली नागरिक १८३ दिन विदेशमा बस्छ, त्यसपछि उसले विदेशमै आम्दानी गर्छ भने त्यहाँ लगानी गर्न पाउँछ’ पूर्व अर्थ सचिव रामेश्वर खनाल भन्छन्, ‘यसबाहेक नेपाली नागरिकको विदेशमा लगानी गैरकानूनी हो ।’ अर्थात् ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशका बैंकमा खाता खोल्नेदेखि कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैनन् । ऐन विपरीत काम गरेमा ‘बिगो बमोजिम जरिवाना, ६ महीना कैद वा दुवै सजाय’ हुने व्यवस्था छ ।

गैरआवासीय नेपालीले पनि कर छली गर्न सजिलो मानिने, सम्पत्तिको स्रोत खुलाउन नपर्ने र अवैध आर्जनबाट प्राप्त सम्पत्ति समेत लुकाउन सजिलो ठानिने ट्याक्स हेभन मुलुकमा लगानी गरेको देखिनु अपारदर्शी कारोबार र वैधताका दृष्टिले गम्भीर प्रश्न हो ।

ट्याक्स हेभन मुलुकमा ‘अफशोर कम्पनी’ खोलेर लगानी गर्नु किन गम्भीर विषय हो भन्ने बारेमा आईसीआईजेका निर्देशक जेरार्ड रायलले प्रष्ट्याएका छन् । प्यान्डोरा पेपर्स सार्वजनिक हुनुअघि अष्टे«लियाको एबीसी टेलिभिजनलाई अन्तर्वार्ता दिंदै रायलले ‘अफशोर कारोबारले सम्बन्धित देशमा असमानता र गरीबी बढाउनेदेखि कर बापत आउनुपर्ने रकम मुलुकले गुमाइरहेको’ बताएका छन् । उनको भनाइमा यस्तो कारोबारबाट व्यापारी, नेता, सरकारी अधिकारी र अपराधीहरू अफशोर गोपनीयताको फाइदा उठाएर लाभान्वित भएका छन् ।

‘आम मानिसले अफशोर दुनियाँ विरुद्ध आवाज उठाउन किन जरूरी छ भने, यसले गरीबी बढाउँछ, असमानता निम्त्याउँछ । जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन् शरणार्थी समस्या जस्ता थुप्रै समस्या निम्तन्छन् । मूलभूत रूपमा संसारका सबै खराबीलाई व्यवस्थामा भित्र्याइन्छ र, त्यो व्यवस्थाको उद्देश्य केही व्यक्तिलाई समृद्ध बनाउनुभन्दा अर्को हुँदैन’, अन्तर्वार्तामा रायलले भनेका छन् ।

नेपालको सन्दर्भमा पूर्णकालीन राजनीतिज्ञहरूको हालसम्म अफशोर कारोबारमा नाम उल्लेख नभए पनि त्यस्तो कारोबार गर्नेहरूलाई उनीहरूको साथ देखिन्छ । किनकि हालसम्म ५५ नेपाली तथा गैर आवासीय नेपालीले अफशोर कारोबार गरेको विवरण खोपकेले नेपालिक्स मार्फत २ माघ २०७५ मा नै खुलासा गरिसकेको छ । यस्तो विवरण सार्वजनिक हुँदा समेत राज्यका शक्तिशाली निकायहरूको मौनता जारी छ । यी निकायको मौनताले ट्याक्स हेभन मुलुकमा नेपालीको लगानीलाई प्रोत्साहन गरिरहेको देखिन्छ । प्यान्डोरा पेपर्स त्यसको एउटा उदाहरण हो ।


प्रतिक्रिया दिनुहोस !


विपद्मा परेकालाई सरकारले राहत दिनुपर्छ : वरिष्ठ नेता पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढी, पहिरो प्रभावित जनतालाई सरकारले राहत दिनुपर्ने बताउनुभएको छ । उहाँले विपद्मा परेकाका लागि प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले किसानलाई बीउविजन, मल, ऋण, क्षतिपूर्ति, भत्केका संरचना निर्माणलगायत सबै किसिमको प्रबन्ध मिलाउन सरकारले दीर्घकालीन र तत्कालीन कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

सरकारलाई अझ तदारुकताका साथ राहत कार्यक्रममा जुटन आग्रह गर्ने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा नेता पौडेलले अझै पनि लोकतन्त्रमाथि सङ्कट नटरेकाले त्यसको रक्षाका लागि कांग्रेसले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कांग्रेस बलियो भयो भने मात्रै नेपालमा लोकतन्त्रको रक्षा हुन्छ र लोकतन्त्रको रक्षा भए मात्रै नेपाल राष्ट्रको स्वाधिनताको रक्षा हुन्छ ।” वरिष्ठ नेता पौडेलले कांग्रेसको सबलता र सक्षमता नेपालको लोकतन्त्रसँग गाँसिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

अध्यात्मिक शिक्षाले मानव कल्याण र विश्व शान्तिको मार्ग देखाउँछः मुख्यमन्त्री राउत



जनकपुरधाम, ६ कात्तिक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भौतिकवादी युगमा मानिसलाई अहिंसाको बाटोमा डोर्‍याउन अध्यात्मिक शिक्षाको महत्व रहेको बताएका छन् ।

जनकपुरधाम उपमहनगरापालिका–१४ मुजेलियास्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको शनिबार उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले भने, ‘कुनै पनि धर्मका धार्मिक शिक्षाले मानिसलाई अहिंसाको मागमा चल्न सिकाउछन् । धार्मिक शिक्षाले पनि समाजलाई जोड्छ,धार्मिक सदभाव बढाउछन, भाइचारा, मानव कल्याण र विश्व शान्तिको वकालत गर्छन् ।’

पाँच कठ्ठा क्षेत्रफलमा चार करोड पचास लाखको लागतमा निर्माण भएको उक्त भवनमा राजयोग सेवा केन्द्रसँग सम्बन्धित प्रशिक्षणहरु सञ्चालन हुने जनाइएको छ । सेवा केन्द्रको नेपाल निर्देशक राज दादी मा को अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य सत्रुधन महतो, राम अशिष यादव , परमेश्वर साह, शारदा थापासहित समाजसेवीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस !

धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत



धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ ।

जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिवार अधिवेशन सम्पन्न हुन सकेको एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । ११७ वटै वडामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको उनले बताए । ‘१७० वटै वडामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ,’ उनले भने, ‘बाँकी रहेका वडाहरुमा सहमतिले नै नेतृत्व चयन गरिने विषयमा छलफल पनि भइरहेकोले भोलिसम्म सबै वडाको अधिवेशन सम्पन्न हुनेछ ।’

९ कात्तिकमा पालिकाको अधिवेशन रहेकोले त्यसअघि नै वडा अधिवेशन गर्नुपर्ने बाध्यता रहेकोले आफूहरु त्यसमै सक्रियतापूर्वक लागेको उनले बताए । नेकपा एमालेको अगामी १० मंसिरमा राष्ट्रिय महाधिवेशनको समय तोकिएको छ । पार्टीको महाधिवेशनपश्चात मात्रै जिल्ला अधिवेशन हुने उनले बताए । पार्टीको वडा अधिवेशन गराउन यतिबेला एमालेका जिल्ला नेताहरु आ-आफ्ना क्षेत्रमा सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: