१९ मंसिर २०७८, आईतवार
 |   Sun Dec 5 2021
Logo

श्रीमानको वार्षिक पुण्यतिथिकै दिन रुवी साफी झुन्डिएको अवस्थामा फेला परिन्, प्रहरीले थाल्यो अनुसन्धान



सुधा देव/न्युज कारखाना
सप्तरी, १८ असोज
राजविराज नगरपालिका–२ की २५ वर्षीया रूवीकुमारी साफी सोमबार बिहान आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएकी छन्। उनी गजेन्द्रनारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन्।

एक वर्षअघि रुवीका श्रीमान् राजन साफीको मृत्यु भएको थियो । उनी अस्पतालको फार्मेसीमा कार्यरत थिए । श्रीमान्को मृत्यु भएपछि रुवी घरेलु हिंसाको सिकार बनेको अस्पतालमा कार्यरत कर्मचारी बताउँछन् ।

रूवी र राजन दुई छोराछोरीसहित डेरा गरी बस्दै आएका थिए। राजनको मृत्यु भएलगत्तै रुवी र नातिनातिनालाई सासूससुराले घर ल्याएका थिए। त्यसपछि उनी घरेलु हिंसामा परेकी थिइन् । फार्मेसीमा कार्यरत राजन कोरोनाबाट मृत्यु भएपछि नेपाल सरकारले क्षतिपूर्तिबापत दिएको २५ लाख रुपैयाँ रुवीका सासू र देवरले हात पार्न निकै प्रयास गरेका थिए । त्यही विषयमा घरमा विवाद सुरु भएको थियो । श्रीमानको मृत्यु भएपछि अस्पतालले रुवीलाई कम्प्युटर अपरेटर पदमा जागिरसमेत दिएको थियोे ।

घरझगडा सहन नसकेपछि रुवी केही दिनअघि मामाघर गएकी थिइन् । मामाघर जाँदासमेत उनीसँगै छोराछोरी लैजान दिइएन । रुवी आइतबार पनि अस्पतालमा आएर काम गरेको उनका सहकर्मीहरू बताउँछन् । ‘भोलि (सोमबार) श्रीमानको वार्षिक तिथि छ। तीन दिनपछि मात्र अस्पताल आउँछु भनेको मान्छे आज यस्तो भएको सुन्दा म स्तब्ध भएँ,’ रुवीका एक सहकर्मीले न्युज कारखानासँग भने ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले भने, ‘शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ। अनुसन्धान भइरहेको छ। हत्या हो कि आत्महत्या भन्न सकिने अवस्था छैन ।


प्रतिक्रिया दिनुहोस !


पराजित कमल थापाले भने- ‘पुरस्कार पाएँ, राजाको भलो होस्



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएको कमल थापाले विजयी राजेन्द्र लिङ्देनलाई बधाइ दिनु भएको छ । थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनुभएको छ । यद्यपि, उहाँले पराजयलाई सहर्ष स्वीकार गर्ने बताउनुभएको छ ।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना’, उहाँले भन्नुभएको छ, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’

थापाले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गनुभएको छ । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि उहाँको आरोप छ ।

उहाँले लेख्नुभएको छ– ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’

प्रतिक्रिया दिनुहोस !

नेपाली काँग्रेस प्रदेश- २ को अधिवेशन स्थगित, नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने



काठमाडौ । नेपाली कांग्रेसको प्रदेश- २ को अधिवेशन उद्घाटनपछि स्थगित भएको छ । प्रदेश २ का धनुषाबाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको निर्वाचन समितिले बताए ।अब प्रदेश- २ को नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने बताइएको छ। प्रदेश अधिवेशनको उद्घाटन भएको तीन दिन बितिसक्दा पनि मनोनय दर्तालगायत चुनावी प्रक्रिया अगाडि बढेको छैन।

यता प्रदेश सभापतिलगायत पदहरूमा आकांक्षीहरूले औपचारिक रुपमा उम्मेदवारीसमेत घोषणा गरिसकेका छन्।प्रदेशका ८ जिल्लाका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अविधेशन स्थगित भएको निर्वाचन समितिले बताए।सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ ९ख०, सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन सकेका छैनन्।

सर्लाहीमा त अहिलेसम्म वडा अधिवेशनसमेत हुन सकेको छैन। निर्वाचन समितिकाअनुसार सर्लाही जिल्लामा अधिवेशनको प्रक्रियामा झमेला देखिएको छ।जिल्लाका निर्वाचन समितिहरूबाट प्राप्त हुनुपर्ने मतदाता नामावली साँझसम्म उपलब्ध नभएकाले पूर्वघोषित निर्वाचन तालिकाअनुसार शनिबार पनि मतदाता नामावली प्रकाशन हुन सकेन।

मतदाता नामावली नै प्रकाशन हुन नसकेको कारण आइतबार हुने भनिएको मनोनयन पत्र दाखिला पनि स्थगित भएको छ। रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनोटको काम सम्पन्न भइसकेको बताइए पनि निर्वाचन समितिमा नामावली प्राप्त हुन सकेन।” श्रोतका अनुसार प्रदेशको नेतृत्व चयनको प्रक्रिया अब महाधिवेशनपछि मात्र हुनेछ।

प्रतिक्रिया दिनुहोस !

विद्युत खपत बढाउने अभियान लिएर कुलमान घिसिङ बारा-पर्सा औद्योगिक करिडोरमा



काठमाडाैं, १९ मंसिर

विद्युत खपत बढाउने अभियानमा लागेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगी व्यवसायीसँग छलफल गरेका छन् । उनले करिडोरमा सञ्चालित उद्योगहरूको अनुगमन भ्रमण र उद्योगी व्यवसायीहरूसँग अन्तरक्रिया गरी विद्युत मागको हालको अवस्था र भविश्यको आवश्यकताका विषयमा जानकारी लिनुका साथै  वीरगञ्ज उद्योग वाणिज्य संघ र जीतपुर नगर उद्योग वाणिज्य संघका पदाधिकारीसँग छुट्टाछुट्टै अन्तरक्रियासमेत गरेका छन् । 

प्राधिकरणले प्रदेश नं २ मा पर्ने बारा-पर्सा औद्योगिक करिडोर क्षेत्रमा पाँच वर्षभित्र दुई हजार मेगावाट विद्युत खपत हुने गरी पूर्वाधार बनाउँदैछ । बारा-पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी प्राधिकरणले व्यापक रूपमा विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो । 

प्राधिकरणले तराई क्षेत्रमा विद्युत लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै चार सय केभी प्रसारण लाइन निर्माणको अवधारणा अगाडि बढाएको छ । यस्तै हेटौंडा-परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको र काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झन्डै दोब्बर हुने भएकोले उद्योगहरूलाई थप विद्युत आपूर्ति दिन सकिने प्राधिकरणले जनाएका छ । यस्तै निर्माणाधीन हेटौडा-ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने योजना छ । पर्साको पोखरियामा सबस्टेसन बनाउन लागिएको छ । 

प्राधिकरणले सिमरा, परवानीपुर क्षेत्रमा सञ्चालित उद्योगहरूलाई तत्काल दुई सय मेगावाट विद्युत उपलब्ध गराउने भएको छ । त्यस क्षेत्रमा सञ्चालित स्टील उद्योगहरुले क्षमता विस्तारका लागि थप विद्युतको माग गर्दै आएका छन् ।

सबस्टेसन र उद्योगहरूको भ्रमण गरेपछि कार्यकारी निर्देशक घिसिङले उद्योगहरूलाई अहिलेकै पूर्वाधारबाट दुई सय मेगावाटसम्म थप विद्युत दिन सकिने देखिएको जानकारी दिए । 

बारा-पर्सा औद्योगिक करिडोरलाई लक्षित गरी पाँच वर्षमा दुई हजार मेगावाटसम्म विद्युत खपत हुने गरी पूर्वाधार संरचनाको विस्तार गर्न लागिएको जानकारी दिंदै निर्देशक घिसिङले विद्युतको माग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । ‘यस वर्षको वर्खामा मुलुकभित्र उत्पादित विद्युत खपत गर्न नसकी झन्डै आठ सय मेगावाट खेर गयो, यसको मूल्य करिब पाँच अर्ब रुपैयाँ हो, यस्तो अवस्था आउनु नेपालसँग विद्युत छ भन्ने अवसर पनि हो, अब वार्षिक रूपमा करिब एक हजार मेगावाट प्रणालीमा थपिंदै छ’, उनले भने, ‘विद्युत खपत बढाउन तत्काल गर्न सकिने काम, त्यसपछि १ वर्ष, २ वर्ष, ५ वर्ष र १० वर्षभित्रमा आउने मागलाई पूरा गर्ने गरी पूर्वाधार संरचना बनाउन लागेका छौं ।’

कार्यक्रममा उद्योगी व्यवसायीहरूले विद्युत महसुलम महँगो भएकाले सस्तो बनाउन, कम भोल्टेज तथा ट्रिपिङलगायतको समस्या समाधान गरी विद्युत आपूर्ति सुधार गर्न, प्रसारण तथा वितरण प्रणालीको विस्तारमा लगानी बढाउन माग गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: