सरकारको बेईमानी, स्वास्थ्यकर्मीले अझै पाएनन् तलब र जोखिम भत्ता « Name of Truth News : News Portal in Nepal
   ३० आश्विन २०७८, शनिबार
 |   Sat Oct 16 2021
Logo

सरकारको बेईमानी, स्वास्थ्यकर्मीले अझै पाएनन् तलब र जोखिम भत्ता



काठमाडौं । कोरोना संक्रमणको समयमा काम गरेका चिकित्सक र स्वास्थ्यकर्मीहरूले तलब र जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । संक्रमणको दोस्रो लहर सुरु भएयता करारमा राखिएका स्वास्थ्यकर्मीलाई सरकारले साउन महिनादेखिको सेवा सुविधाको भुक्तानी रोकेको छ । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण बाहिर पुगेपछि अस्पतालहरूले धमाधम करारमा चिकित्सक राखेका थिए । दरबन्दीका चिकित्सकले मात्र संक्रमण पार लगाउन नसक्ने भएपछि सबै प्रदेशले सयौंको संख्यामा चिकित्सक, नर्स, पारामेडिसिन थपेका थिए ।

करिव ६ महिनाको करार सम्झौतामा राखिएका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई सरकारले साउन महिनादेखि तलब र जोखिम भत्ता दिएको छैन । अर्थमन्त्री जर्नादन शर्माले मन्त्री भएकै दिन स्वास्थ्यकर्मीलाई समयमै जोखिम भत्ता र तलब दिने आश्वासन दिनुभएको थियो । तर, साउन महिनायता तलब र भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाइरहेका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले समेत महामारीका बेला खटिएका ५० जना करारका चिकित्सकलाई साउन महिनादेखिको पारिश्रमिक दिएको छैन ।

वीर अस्पताल र गण्डकी प्रदेशको सरुवारोग अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले पनि तलब पाएका छैनन् । गण्डकीमा वैशाख महिनायता सरकारले तोकेको ५० प्रतिशत जोखिम भत्ता, करारबाहेकका चिकित्सक र स्वास्थ्यकर्मीले पनि पाएका छैनन् । यस्तै, लुम्बिनी प्रदेशको भेरी अस्पतालमा समेत चिकित्सक र नर्स गरी १ सय कर्मचारीले साउनदेखि नै तलबभत्ता पाउन सकेका छैनन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था पनि उस्तै छ ।

काम गरेको पारिश्रमिक रोकेको विषयमा स्वास्थ्य मन्त्रालयका आर्थिक प्रशासन शाखा प्रमुख लक्ष्मीप्रसाद जोशी बजेट परिमार्जन भएकाले करारका रहेका कर्मचारीको तलब रोकिएको बताउनुभयो । करारमा रहेका कर्मचारीहरूको मात्र पारिश्रमिक रोकिएको भन्दै उहाँले अस्पतालहरूले संक्रमित बिरामीको नाम दर्ता गर्न ढिलाइ गर्दा रकम निकासा हुन नसकेको बताउनुभयो । प्रत्येक अस्पतालले कति संक्रमित बिरामीको उपचार गरेको हो भन्ने दर्ता हुनुपर्ने भन्दै उहाँले अब छिट्टै रकम निकासा हुने दाबी गर्नुभयो । हाल पारिश्रमिक र जोखिम भत्ताको लागि १९ करोड निकाशा हुन बाँकी छ । वीर अस्पताललाई १३ करोड र बाँकी ६ करोड अन्य अस्पतालमा पठाइने मन्त्रालयले जनाएको छ ।

तलब भत्ता दिन मन्त्रालयबाट स्वीकृत भएर अर्थ मन्त्रालयमा फाइल पुगेको भन्दै शाखा प्रमुख जोशीले अबको केही दिनभित्र दिने गरी तयारी भएको बताउनुभयो । कोरोना संक्रमण नियन्त्रणमा रातदिन खटेका चिकित्सक र स्वास्थ्यकर्मीको पारिश्रमिक र जोखिम भक्ता विभिन्न बहानामा रोकिनुलाई उचित मान्न सकिँदैन ।


प्रतिक्रिया दिनुहोस !


मलिका महत फिल्ममा फ्लप, म्युजिक भिडियोमा हिट



काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म यात्रा : म्युजिकल भ्ल्ग मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’मा समेत अभिनय गरिसकेकी छिन् । फिल्ममै आफूलाई स्थापित गर्ने तयारीमा रहेकी मलिका केही समययता भिडियोमा व्यस्त छिन् । फूलबुट्टे सारी’ मा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उनको लोकप्रियता बढ्दो छ । दर्शकले पल र मलिकालाई ’पिएम’ जोडीसमेत भन्न थालिसकेका छन् । भिडियोमा अभिनय गर्न थालेको केही समयमै उनको आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीत दर्शकले सर्वाधिक रुचाएका छन् ।

भिडियोमा पछिल्लो समय खोजिने मोडलको लिस्टमा मलिकाको नाम अगाडि आए पनि फिल्ममा भने उनले त्यो लोकप्रियता पाउन सकेकी छैनन् । उनले दुई फिल्ममा अभिनय गरे पनि ’पानीफोटो’ भने प्रदर्शन हुन बाँकी छ । तर, उनको भिडियोझैँ लोकप्रियता फिल्ममा भने कम छ । केही दिन अगाडि मात्र फिल्म ’सत्यम’मा अनुबन्धित् भएकी मलिका आफूलाई फिल्ममै सफल देख्न चाहन्छिन् । केहि समयअगाडि मात्र उनी एक प्रतिष्ठित ब्यानरको अडिसनमा रिजेक्ट भएकी थिइन् । उनले पाएको रोललाई अडिसनमा न्याय गर्न नसकेपछि उनलाई लिन नसकिएको उक्त फिल्मको टिमका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस !

विश्वभरी चर्चामा किमको नयाँ फेसन, माथि सुट पाइन्ट र तल चप्पल



एजेन्सी । अस्वभाविक अभिव्यक्तिका कारण बारम्बार चर्चामा आउने उत्तर कोरियाली नेता किम जोङ उन फेरि सञ्चार माध्यममा चर्चामा आएका छन् । यस पटक उनी अभिव्यक्तिभन्दा पनि आफूले लगाएको फेसनका कारण चर्चामा आएका हुन् । ३७ वर्षीय तानशाह किम आइतबार राजधानी प्योङयाङमा आयोजित एक कार्यक्रममा अस्वभाविक पहिरनमा देखिएका थिए । किमले चप्पल र मोजामाथि सुट लगाएका थिए । कालो सुट र टाइममा सजिएका किमले चप्पल लगाएपछि धेरैको ध्यान उनीप्रति तानिएको थियो ।

उनको पछिल्लो पहिरनले किमको स्वास्थ्यबारे फेरि अड्कलबाजी सुरू भएको छ । उनको खुट्टाको शल्यक्रिया वा गहिरो घाउका कारण जुत्ता लगाउन नमिलेर चप्पल लगाएको हुन सक्ने अनुमान गरिएको छ । अस्वभाविक रूपमा मोटा किम पछिल्लो समयमा केही छरितो देखिएका छन् । उनले १० केजी भन्दाबढी तौल घटाएको कोरियाली सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनको स्वास्थ्यबारे विज्ञहरूले बारम्बार चासो दिँदै आएका छन् । अत्यधिक धुमपान गर्ने किम मुटुसँग सम्बन्धित समस्याबाट पीडित छन् । उनका हजुरबुबा र बाबु दुबैको ह्यदघातका कारण मृत्यु भएको थियो । सत्तारुढ कोरियाली पार्टीको स्थापना दिवसको अवसरमा सहभागी भएका किमले आफ्नो पार्टी आर्थिक लक्ष्य प्राप्तीका लागि दृढ भएको बताएका थिए । कोरियाले सामान गरेको समस्यासँग जुध्न नेतृत्वपंक्ति अनुशासित हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !

एकीकृत समाजवादी बैतडीको इन्चार्जमा भट्ट, दार्चुला इन्चार्जमा बैतडीकै बिष्ट



बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बैतडी जिल्ला इन्चार्जमा प्रमानन्द भट्ट चयन भएका छन् । भट्ट केन्द्रीय पोलिटब्यूरो सदस्यसहित जिल्ला इन्चार्ज चयन भएका हुन् । नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एस) मा गएका भट्टलाई पार्टी स्थायी कमिटीको बैठकले जिल्ला इन्चार्जमा चयन गरेको हो । भट्ट बैतडीमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् । यसैगरी, पूर्व प्रदेश मन्त्री तथा नेकपा (एस) का केन्द्रीय सदस्य माया भट्ट प्रदेश सहसचिवमा चयन भएकी छन् । यसअघि एमाले हुँदा र माओवादीसँगको एकतापछि बनेको नेकपा हुँदाका बेला प्रदेश कमिटी सदस्य रहेकी भट्ट अहिले नेकपा (एस) को प्रदेश सहसचिव पदमा चयन भएकी हुन् ।

यसैगरी, नेकपा एमाले बैतडीका पूर्व अध्यक्ष तथा प्रदेश कमिटी सदस्य रहेका नरेन्द्र बिष्ट नेकपा (एस) को केन्द्रीय सदस्यसहित दार्चुलाको जिल्ला इन्चार्जमा चयन भएकाछन् । गत बिहीबारदेखि जारी स्थायी कमिटीको बैठकले नेताहरुको जिम्मेवारी बाडँफाड गरेको प्रदेश कमिटी सदस्य नरेन्द्र बिष्टले बताए । पार्टीका नियमित कामकाजहरु अब अगाडि बढाउने नेता बिष्टले बताए । आउँदो ३ कात्तिकमा बैतडी जिल्ला कमिटीको बैठक बसेर आगामी कार्यक्रमहरू तय गरिने उनले बताए । आगामी दिनमा पार्टीको पालिका तथा वडास्तरका कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए । पालिका र वार्डस्तरमा संगठन विस्तार तथा सुदृढीकरणका कार्यक्रम आयोजना गरिने नेकपा (एस) बैतडीले जनाएको छ । न्युजकारखाना ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: