
काठमाडौं । मन्त्रिपरिषद्ले आज (शुक्रबार) पूर्णता पाउने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । गठबन्धनका शीर्ष नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई चार–चार मन्त्रालय लिने सहमति गरेका छन् ।
कांग्रेसले गृह कानुन, परराष्ट्र , न्याय तथा संसदीय मामिला मन्त्रालय, रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालय लिने भएको छ । उसले कानुन, गृह र परराष्ट्र मन्त्रालय लिइसकेको छ । गृहमा बालकृष्ण खाँण, परराष्ट्रमा डा. नारायण खड्का र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की मन्त्री हुनुहुन्छ । अरु मन्त्रीहरुको नाम आज टुंगो लगाउँदै छ ।
एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ । एकीकृत समाजवादीको नेतृत्व गरेर विरोध खतिवडा शहरी विकास मन्त्री बन्दै हुनुहुन्छ । त्यस्तै, पार्टी सचिव रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्री र प्रेम आले पर्यटन मन्त्री बन्दै । एकीकृत समाजवादीले किसान श्रेष्ठलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने भएको छ ।
माओवादी केन्द्रले अर्थ र उर्जा, जलस्रोत तथा सिँचाई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउनेछ । उसले अर्थ र उर्जा, जलस्रोत मन्त्रालय लिइसकेको छ । माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । अहिले जनार्दधन शर्मा आर्थ, पम्फा भुसार उर्जा मन्त्री हुनुहुन्छ ।
जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय लिने भएको छ । जसपाले मन्त्रीहरु छान्न सकेको छैन । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा रहेका छन् ।