नेपाली निर्देशक भट्टले गरे सुनिल शेट्टीलाई फिल्म अफर « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

नेपाली निर्देशक भट्टले गरे सुनिल शेट्टीलाई फिल्म अफर



एक्सन र थ्रिलर जनरमा फिल्म निर्देशन गर्दै आइरहेका मुकुन्द भट्टले आफ्नो नयाँ फिल्म ‘एक्स ९’ लाई बृहत् बनाउने तयारी थालेका छन् ।

नेपाली फिल्मनगरीका मह‌गा अभिनेता अनमोल केसीलाई लिड रोलमा अनुबन्ध गरेका मुकुन्दले बलिउड अभिनेता सुनिल शेट्टीलाई फिल्म अफर गरेका छन् । फिल्मको कुराकानी विभिन्न माध्यमबाट गरे पनि हालै उनले मुम्बईमा भेटेर अफर गरेका हुन् । पछिल्लो समय बलिउड तथा दक्षिण भारतीय फिल्ममा भिलेनको भूमिकामा देखिने गरेका सुनिललाई एन्टागोनिस्टकै भूमिका अफर गरिएको छ ।

मुकुन्दले सुनिलसँगको मौखिक कुराकानी सकारात्मक रहेको जनाउँदै सामाजिक सञ्जालमार्फत केही दिनमा यसबारे बताउने उल्लेख गरेका छन् ।

‘उहाँले मेरो पछिल्लो निर्देशित फिल्म हेर्नु भयो र मैले अपनाएको शैलीको तारिफ गर्नु भयो,’ निर्देशक भट्टले लेखेका छन्, ‘उहाँ आफ्नो भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ ।’ यद्यपि फिल्ममा उनी अनुबन्धित भने भइसकेका छैनन् । फिल्मको छायांकन नेपाल, भारत र युरोपमा गर्ने तयारी भइरहेको जनाउँदै निर्देशक भट्टले सुनिलले दैनिक पारिश्रमिकमा काम गर्ने जनाए । उनले एक सातामै उनको काम सक्ने तयारीसमेत थालेका छन् ।

नेपाली फिल्मलाई नयाँ लेभलको बनाउने सोचअनुसार यसपटक कथा पनि सोहीअनुसार तयार पारेको मुकुन्द बताउँछन् । तिहारपछि यसको छायांकन सुरु गर्ने योजना निर्माण पक्षको छ ।


प्रतिक्रिया दिनुहोस !


बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो, स्वास्थ्यकर्मीसहित चार जना अझै वेपत्ता



पाँचथर- यहाँ बाढी र पहिराका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो ।

यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो सङ्ख्यामा स्थानीयवासीको ज्यान गएको हो । बाढीले बगाएर बेपत्ता फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगर र पहिराले पुरिएर बेपत्ता फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढी र पहिरामा परी मृत्यु भएका २८ जनाको यसअघि नै पहिचान भइसकेको छ । त्यसमध्ये २१ जना मिक्लाजुङ गाउँपालिकाका छन् । जिल्लामा अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी तथा पहिरामा परी बेपत्ता छन् । बेपत्ता हुनेमा दुई स्वास्थ्यकर्मीसमेत छन् । इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत उनीहरु पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरामा परी घाइते भएका स्थानीयवासीको उपचारमा आएका थिए । पहिरो झरेपछि भाग्ने क्रममा पहिराले पुर्दा बेपत्ता भएका उनीहरु अझैसम्म फेला पर्न नसकेको मिक्लाजुङका अध्यक्ष अमरराज माखिमले जानकारी दिनुभयो ।

बाढी र पहिरामा परी बेपत्ताको खोजी तीव्र पार्न तथा क्षतिको विवरण सङ्कलन गर्न जिल्ला विपत् व्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ । सुरक्षा निकायले स्थानीयवासीसमेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय तहबाट क्षतिको विवरण सङ्कलन थालिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सभापतिले महाधवेशन गर्न छाडेर जथाभावी बोल्दै हिँडे : वरिष्ठ नेता पौडेल



काठमाडौँ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन गर्ने जिम्मेवारी निर्वाचन समितिको मात्रै नभएर केन्द्रीय समिति र केन्द्रीय नेतृत्वले लिनुपर्ने बताएका छन् । सुदूरपश्चिम भ्रमणमा रहँदा शुक्रबार धनगढीमा भएको पत्रकार सम्मेलनमा सभापति शेरबहादुर देउवाले पार्टी महाधिवेशन कहिले हुन्छ ? भन्ने प्रश्नको जवाफमा ‘त्यसबारे निर्वाचन समितिले निर्णय गर्ने’ बताएका थिए । पौडेलले शनिबार कञ्चनपुर पुगेर महाधिवेशन गर्ने जिम्मा निर्वाचन समितिको मात्रै नभएको बताएका हुन् ।

उनले नेतृत्वले महाधिवेशन गर्ने जिम्मेवारी पूरा नगरेर जथाभावी बोल्दै हिँडेको भन्दै आलोचना गरे । ‘पार्टीको महाधिवेशन गर्ने काम निर्वाचन समितिलाई मात्रै जिम्मा दिएर हुँदैन । केन्द्रीय नेतृत्वले जिम्मा लिनुपर्छ । महाधिवेशन गर्ने जिम्मा केन्द्रीय समिति र केन्द्रीय नेतृत्वको हो । आमनिर्वाचन भन्दा पहिल्यै हाम्रो पार्टीको अधिवेशन हुन्छ,’ पौडेलले भनेका छन् ।

उनले आमनिर्वाचन भन्दा पहिल्यै पार्टीको महाधिवेशन हुने भएकाले अहिलेदेखि नै टिकट बाँड्दै नहिँड्न आग्रह गरेका छन् । ‘पार्टीको महाधिवेशन हुन्छ, निर्वाचन हुन्छ, नयाँ पदाधिकारी आउँछन् । यहाँ को-को हो ? अहिल्यै टिकट बाँड्दै हिँडिरहेका छन् अरे,’ पौडेलले अघि भने, ‘टिकट बाँड्न अरु नै आउँछन् । जुनियरहरु आउँछन् ।’

उनले संविधानमाथि आक्रमण गर्दा केपी ओलीलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइएको तर्फ ध्यानाकर्षण गराए । ‘संविधानमाथि आक्रमण गर्दा केपी ओलीलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइसकिएको छ । अनि हामीले त्यही संविधान नमान्दा हाम्रो के हालत हुन्छ ? कि हामीलाई कानुन नलाग्ने हो ? संविधानको व्यवस्थाबमोजिम पार्टीको महाधिवेशन यथाशीघ्र गर्नुपर्नेतर्फ संकेत गर्दै पौडेलले प्रश्न गरे ।उनले कांग्रेसलाई संकटबाट मुक्त गराउन र लोकतन्त्रलाई संकटबाट पार लगाउन सबै नेता कार्यकर्तालाई एकताबद्ध भएर, उच्च मनोवलका साथ अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस !

थप ५ सय १३ जनामा कोभिड संक्रमण, ८ जनाको मृत्यु



काठमाडौं । नेपालमा थप ५ सय १३ जनामा कोभिड–१९ संक्रमण भएको छ । ६ हजार ९ सय ३१ जनामा गरिएको परीक्षणमा ५ सय १३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोभिड संक्रमितको संख्या ८ लाख ८ हजार ५ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय १७ जनालाई निको हुँदा ७ लाख ८६ हजार ६ सय ३० जना कोभिडबाट संक्रमणमुक्त भएका छन् । कोभिडबाट शनिबार ८ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४५ पुगेको छ ।

देशभर कोभिडका १० हजार ५ सय ५९ सक्रिय संक्रमित छन् । जसमध्ये होम आइसोलेसनमा ९ हजार ७ सय ५७, संस्थागत आइसोलेसनमा ८ सय २, आईसीयूमा २ सय ६८ र भेन्टिलेटरमा ८० जना रहेका छन् ।त्यसैगरी देशभर पछिल्लो २४ घण्टामा ६३ हजार ७४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । देशभर अहिलेसम्म ८६ लाख ५ हजारले पहिलो मात्र खोप लगाउँदा ६५ लाख ९८ हजारले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: