१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

१८० अर्ब भारु मूल्यमा टाटाले एयर इन्डिया किन्ने निश्चित, शतप्रतिशत सेयर स्वामित्व रहने




भारतीय सरकारी वायुसेवा कम्पनी एयर इन्डिया चर्चित कम्पनी टाटाको स्वामित्वमा जाने भएको छ। 

द हिन्दूका अनुसार टाटा सन्सले खरिद बोलपत्रमा स्पाइस जेटलाई पछि पारेको हो। ऋणमा डुबेको एयर इन्डिया टाटाले १ खर्ब ८० अर्ब भारुमा खरिद गर्नलागेको हो। 

वरिष्ठ सरकारी अधिकारीलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार शतप्रतिशत सेयर स्वामित्व रहने गरी टाटाले वायुसेवा प्रदायक खरिद गर्न लागेको छ। 

‘साल्ट टु सफ्टवेयर’ समूह टाटाले बोलपत्रमा सफल भएको बताइएको छ। स्पाइस जेटले १ खर्ब ५३ अर्बको बोलपत्र हालेको थियो। तर टाटाको उसको भन्दा धेरै भएपछि टाटा सन्स नै खरिदको हकदार भएको भारतीय मिडियाको भनाइ छ। 

यो खरिद प्रक्रिया डिसेम्बरसम्म पूरा हुने बताइएको छ। योसँगै एयर इन्डिया फेरि टाटाकै स्वामित्वमा फर्किएको छ। 

सन् १९३२ मा एयर इन्डियालाई जेहनगिर रतनजी दादाभोय टाटाले स्थापना गरेका थिए। त्यसयता यसलाई टाटा एयरलाइन्स भनिन्थ्यो। 

सन् १९४६ मा एयर डिभिजन टाटा सन्सलाई एयर इन्डिया भन्न थालियो। सन् १९४८ मा एयर इन्डिया इन्टरनेशनल भएसँगै यसले युरोप उडान सुरु भएको थियो। 

यसको अन्तर्राष्ट्रिय सेवा पहिलो सार्वजनिक निजी साझेदारीको सेवा थियो। यसमा सरकारको ४९ प्रतिशत सेयर थियो भने टाटाले २५ प्रतिशत र बाँकी सार्वजनिक सेयर थियो। 

त्यसपति सन् १९५३ मा एयर इन्डियालाई राष्ट्रियकरण गरिएको थियो। 

अहिले सरकारले कम्पनीको शतप्रतिशत सेयर बिक्री गर्नलागेको हो। यसमा एयर इन्डियाको शतप्रतिशत सेयर रहेको एआई एक्सप्रेस र एयर इन्डिया साट्स एयरपोर्ट सर्भिस प्रालिको ५० प्रतिशत सेयर पनि समावेश छ। 


प्रतिक्रिया दिनुहोस !