१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

रक्सोल–काठमाडौं रेलवे निर्माणका लागि नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर



रक्सोल–काठमाडौं रेलवे परियोजनाको ‘फाइनाल लोकेसन सर्भे’सम्बन्धी द्विपक्षीय समझदारीपत्रमा नेपाल र भारतबीच बिहीबार सम्झौता भएको छ । 

बिहीबार यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको नेपालस्थित भारतीय दूतावासले ट्विटरमार्फत जानकारी दिएको हो । दुई देशबीच क्रसबोर्डर (अन्तर्देशीय) ब्रोडगेज रेलवे लाइन निर्माणको लागि यो सम्झौता भएको हो । 

यो संयुक्त कार्यदलको पाँचौँ र पीएससीको सातौँ बैठक हो। रेल क्षेत्रमा दुई देशबीच रेल सञ्जाल विस्तारबारे भइरहेको परियोजना कार्यान्वयनबारे अध्ययन गर्न बैठकको आयोजना भएको हो। 

संयुक्त कार्यदल र पीएससी बैठकमा नेपालको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माले प्रतिनिधित्व गरेका थिए। त्यसैगरी भारतको तर्फबाट रेलवे मन्त्रालयका कार्यकारी निर्देशक (ट्राफिक ट्रान्सपोर्टेसन फ्रेट) डा. मनोज सिंह र पीएससी बैठकमा विदेश मन्त्रालयका सहसचिव अनुराग भूषणले प्रतिनिधित्व गरेका थिए। 

दुवै पक्षले जयनगर–कुर्था क्षेत्रमा यात्रुवाहक रेल सञ्चालन प्रक्रियाको मापदण्डमा पनि हस्ताक्षर भएको नेपाली पक्षले जनाएको छ। 

बैठकमा अहिले भइरहेको जयनगर–बिजलपुरा–बर्दिबास र जोगबनी–विराटनगर ब्रोडगेज रेलवे निर्माणबारे पनि गहन छलफल भएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ। 

बैठकमा रक्सोल–काठमाडौं ब्रोडगेज रेलवे र फेज २ रेलवे लिंक परियोजनाबारे पनि छलफल भएको थियो। साथै दुवै पक्षले रेलवे क्षेत्रमा प्राविधिक सहकार्य गर्न सहमति जनाएका छन्। यसमा क्षमता वृद्धि, लजिस्टिक सपोर्ट र नेपाली रेलवे कर्मचारीलाई तालिम दिने लगायतबारे पनि सहमति भएको छ।

योसँगै अब भारतीय पक्षले प्रस्तावित रक्सोल–काठमाडौं रेलवेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को थालनी गर्नेछ । हालसम्म यसको वातावरण तयार गर्न भारतीय पक्षले ताकेता गरिरहेको थियो । गत फागुन २५ मा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको रेल विभागका निर्देशकलाई समझदारी पत्र स्वीकृत गरी हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेको थियो । 

यसले बिहीबारको समझदारी पत्रमा हस्ताक्षर गर्ने बाटो खुल्ला भएको थियो । भारतले काठमाडौंसम्म ब्रोडगेज रेलवे सम्भव भएकोले यसैलाई जोड दिँदै आएको थियो । सोहीअनुसार नेपाल सहमत भएपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाली पक्षले भने स्ट्यान्डर्ड गेजमा जोड दिए पनि भारतको विज्ञता ब्रोडगेजमा भएकोले यहीअनुसार सहमति भएको हो । 

यता चीनले पनि काठमाडौंसम्म रेलवे निर्माणमा सहयोग गर्ने बताउँदै आएको छ । चीनले भने स्ट्यान्डर्ड गेजको रेलमार्ग निर्माणमा जोड दिएको छ । तर भारतसँग भने ब्रोडगेज रेलवे निर्माण हुने देखिएको छ । पछिल्लो समय नेपालमा रेलवे निर्माणलाई जोड दिइँदै आएको छ । अहिले धमाधम पूर्व–पश्चिम रेलमार्ग निर्माणलाई सरकारले जोड दिएको छ । यी सबैका बीच नेपालले आफैँ किनेको रेल भने एक वर्षयता यतिकै थन्किएर बसेको छ ।  

२०७७ असोजमा भारतबाट दुईवटा रेल ल्याए पनि अझै कानुनी अभावमा सञ्चालन हुन सकेको छैन । ती दुवै रेल त्रिपालले छोपेर राखिएको छ । रेलवे विभागमा सत्ता परिवर्तन भएपिच्छे नेतृत्व परिवर्तन हुँदा आएका रेल पनि सञ्चालन हुन नसकेका हुन् । नेपालले भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा ती दुई रेल किनेको थियो ।


प्रतिक्रिया दिनुहोस !