१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

ओटीटी प्लेटफर्ममा अब सेन्सरविना फिल्म प्रसारण गर्न नपाइने



कोरोना भाइरसका ओटीटीमा दर्शक बढेका छन् । सामाजिक तथा भौतिक दूरी कायम गर्नुपर्ने भएकाले पनि अधिकांश मानिस घरमै थिए । यसले गर्दा पनि डिजिटल प्लेटफर्ममा दर्शक मात्र बढेनन्, त्यहाँ रहेका कन्टेन्टको लोकप्रियता पनि बढ्यो ।

स्याक्रेड गेम्स, मिर्जापुर, असुर, अभय, स्पेसल ओप्स, द फ्यामिली म्यान, समान्तरलगायतका सिरिजले दर्शकको राम्रो माया पाए । यति मात्र होइन ओटीटीमै फिल्म रिलिज गर्ने वा यसकै लागि निर्माण गर्ने पनि बढे ।

सलमान खानले राधे, हलिउड फिल्म मुलान र वन्डर वुमन ओटीटीमा आएपछि यसको आकर्षण बढ्दो छ । मार्भल स्टुडियोले पछिल्लो समय हलसँगै ओटीटी डिज्ने प्लस हटस्टारमा फिल्म रिलिज गर्ने गरेको छ ।

विस्तारै लोकप्रिय भइरहेको ओटीटी प्लेटफर्ममा अब सरकारको कडाइ भने बढ्दो छ । अब ओटीटी प्लेटफर्ममा प्रसारण हुने फिल्मले जाँचपास (सेन्सर) गर्नुपर्ने भएको छ । सरकारले कुनै पनि फिल्म तथा विज्ञापन चलचित्र जाँचपास समितिबाट जाँचपास (सेन्सर) गराएर मात्र प्रसारण गर्न निर्देशन दिएको हाे । शुक्रबार एक सूचना जारी गर्दै सञ्‍चार तथा सूचनाप्रविधि मन्त्रालयले कुनै पनि फिल्म तथा विज्ञापन जाँचपासविना प्रसारण नगर्न निर्देशन दिएको हो ।

‘यस ऐनअन्तर्गतको नियम उल्लघंन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच हजार रुपैयाँसम्म जरिवाना गरी इजाजतपत्र खारेज गर्न सक्ने र निर्माण, प्रदर्शन तथा वितरण गर्दा प्रयोग गरिएका उपकरणहरू जफत गर्न सक्नेसमेत व्यवस्था रहेको छ,’ सूचनामा भनिएको छ ।

विभिन्‍न प्रसारण संस्था वा विद्युतीय सञ्‍चारमाध्यम वा अन्य माध्यमबाट कतिपय चलचित्र तथा विज्ञापन जाँचपास नगराई प्रदर्शन गर्ने गरेको गुनासो आएको मन्त्रालयले जनाएकाे छ ।

चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ मा कुनै पनि फिल्मको प्रदर्शन गर्नुपूर्व चलचित्र जाँच समितिबाट अनुमति लिनुपर्ने व्यवस्था छ । नियमावलीमा प्रदर्शकले चलचित्र जाँच समितिबाट अनुमति पाएका फिल्म मात्र प्रदर्शन गर्नु पर्ने व्यवस्था छ । विज्ञापन तथा फिल्म जाँच गराउनुपर्ने स्पष्ट कानुनी व्यवस्था भएकाले जाँचपासविना कुनै पनि फिल्म तथा विज्ञापन प्रसारण नगर्न मन्त्रालयले सूचना जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय