१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

दसैंमा सेयर लगानीकर्तालाई बजारले बनायो निराश



दसैंका लागि बजार बन्द हुनु दुई दिनअघि सेयर बजारले लगानीकर्तालाई निराश बनाएको छ । गत बिहीबार बढेको बजार दसैं अघिसम्म बजार बढ्छ भन्ने लगानीकर्ताको अनुमान थियो । तर, आइतबार सेयर घटेको छ । दसैं अघि आइतबार र सोमबार मात्रै बजार खुल्छ । पहिलो दिन बजार घटेको छ । 

सूचीकृत कम्पनीहरुले धमाधम आकर्षक लाभांश घोषाण गरिरहँदा पनि बजार घटेको हो । शुक्रबार मात्रै शिवम् सिमेन्टले २९ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । त्यसैगरी मेगा बैंकले पनि लाभांश घोषणा गरिसकेको छ । तैपनि बजार आइतबार १८.५३ अंकले घटेको छ । यसदिन ४ अर्ब ४९ करोड रुपैयाँ कारोबार भएको छ । बजार निरन्तर घट्दा पनि सरकार र सरोकारवाला नियामक निकाय मुकदर्शक बन्दा बजारले एकपछि अर्को समस्या व्यहोर्नुपरेको हो । छोटो अवधिमै करिब ८ खर्ब रुपैयाँ बजार पुँजीकरण घटिसकेको छ ।

तर, नियामक निकायले भने यस विषयलाई कत्ति पनि गम्भीर रुपमा लिएको पाइएको छैन । विशेषगरी पछिल्लो समय केन्द्रीय बैंकले लिएको नीतिका कारण बजार बेस्सरी पेनिक हुने अवस्थामा आएको हो । सीसीडी रेसियो हटाएर सीडी रेसियो कायम गरिँदा बैंकिङ प्रणालीमा चरम रुपमा तरलता अभाव भएको छ । 
 
तरलता अभाव भएपछि ब्याजदर बढेको छ । यसको असर सेयर बजारमा परेको छ ।  बजार अझै घट्छ भन्ने त्रासका कारण नयाँ तथा साना लगानीकर्ताले आत्तिएर सेयर बिक्री गरे । जसका कारण बजारले थप क्षति व्यहोर्नुपरेको हो । बजारलाई अझै बिग्रिन नदिन र लगानीकर्ताको मनोविज्ञान सुधार्न तत्काल सुधारका काम अघि बढाउनुपर्ने देखिन्छ । विगतमा लिइएको गलत नीतिलाई तत्काल परिवर्तन गर्नुपर्ने देखिएको छ ।

यसमा अर्थमन्त्री र प्रधानमन्त्रीले समेत हस्तक्षेप गर्नुपर्ने अवस्था आइसकेको छ । पुँजी बजारलाई थप क्षति हुन नदिन लगानीकर्ताका संगठनहरु पनि ऐक्यबद्ध हुन आवश्यक छ । सशक्त हिसाबले बजारका मुद्दा अघि सारेर सोहीअनुसार अघि बढ्न आवश्यक देखिएको छ । लगानीकर्ताहरु पनि बजारप्रति सकारात्मक हुन जरुरी छ । घटेको बजार बढ्छ भन्ने आत्मविश्वास जागृत गराउनुपर्ने हुन्छ ।
 
लाभांशको समय चलिरहेको छ । अब सूचीकृत कम्पनीहरुले धमाधम साधारणसभा बोलाउन थाल्नेछन् । त्यसपछि लगानीकर्ताको खातामा लाभांश पठाउनेक्रम सुरु हुनेछ । यसआधारमा अहिले सेयर होल्ड गर्न सके अब केही समयभित्रै लाभांश हात पार्न सकिनेछ । यसर्थ, आम लगानीकर्ता यस्तो बेलामा पेनिक हुनु हुँदैन । आफ्नो होल्ड गर्न सक्ने क्षमता समेत अध्ययन गरेर विवेकपूर्ण निर्णय लिन जरुरी हुन्छ ।

 लगानी गर्दा कम्पनी छनोटमा भने विशेष ध्यान दिन आवश्यक हुन्छ । कम्पनीको नाफा, रिजर्भ, लाभांश क्षमता, इपीएस, पीइ रेसियोका साथमा व्यवसाय विस्तारको सम्भावनातर्फ पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस !