गोरखाबाट बसन्तपुर दरबारमा फुलपाती भित्र्याइदैँ « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

गोरखाबाट बसन्तपुर दरबारमा फुलपाती भित्र्याइदैँ



काठमाडौं । आज दशैं अर्थात् नवरात्रको सातौँ दिन फूलपाती भित्र्याइन्छ । सातौँ दिनलाई कालरात्रि पनि भनिन्छ । यसै दिन गोरखा दरबारको ‘दशैंघर’बाट फूलपातीसहितको डोली बोकेर ल्याई काठमाडौँको बसन्तपुरस्थित दशैँघरमा भित्र्याइन्छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

फूलपाती बसन्तपुरस्थित हनुमानढोकाको दशैँघरमा भित्र्याउने चलन पृथ्वीनारायण शाहको पालादेखि चलिआएको हो । यसरी गोरखा दरबारदेखि बोकेर ल्याइएको फूलपाती पञ्चाङ्ग निर्णायक समितिले निकालिदिएको साइतमा भित्र्याउने परम्परा रहिआएको छ । सो क्रममा सेनाले विशेष सलामी दिने चलन पनि छ । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेको थियो । तर गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

इतिहासविद् तथा संस्कृतिविद्हरूका अनुसार तत्कालीन गोरखाली राजा पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तारका क्रममा काठमाडौंमाथि विजय प्राप्त गरेको प्रसंगसँग गोरखाको फूलपाती काठमाडौँ पठाउने चलन जोडिएको छ । पृथ्वीनारायणले काठमाडौँ उपत्यकामाथि विजय हासिल गरी एकीकृत राज्यको राजधानी बसन्तपुर क्षेत्रमा बनाएसँगै गोरखाको फूलपाती वसन्तपुरस्थित हनुमानढोकामा भित्र्याउने चलन चलेको बताइन्छ ।

दशैं अर्थात् नवरात्रको पहिलो दिनजस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्रीस्वरूप दशैँघर तथा मन्दिर र घरघरमा समेत फूलपाती भित्र्याउने गरिन्छ कार्य हुन्छ । फूलपातीलाई नवदुर्गाको प्रतीकका रूपमा लिइन्छ । केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका वनस्पतीका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा फूलपाती भित्र्याइन्छ । यिनै नौ प्रकारका वनस्पतिका पातसहित फूलको डोलालाई नै फूलपाती भन्ने गरिन्छ । यसलाई नवपत्रिका पनि भन्ने गरिन्छ । दशैँघरमा यी नौवटा वनस्पतिलाई नवरात्रको सप्तमीका दिन भित्र्याई नवदुर्गालाई क्रमशः स्नान गराई प्रत्येक पत्रहरूमा विभिन्न देवीहरूको पूजा गरिन्छ । ती नौ प्रकारका वनस्पतिका पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी गरी नवदुर्गा देवीलाई एकएक गरी आह्वान गरेर सोह्र सामग्रीले पुजिन्छ । यस तथ्यलाई इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेको रूपमा समेत सम्झने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !


कांग्रेसद्वारा कुशवाहामाथि दुव्र्यवहार गर्नेउपर कारवाहीको स्वागत



नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुव्र्यवहार गर्ने दोषीलाई कानुनी कारवाही गर्न सरकारले अघि बढाएको प्रक्रियाको स्वागत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत राजनीति, प्रशासन तथा समग्र समाजमा रहेका बेथितिविरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै कानुन हातमा लिने, बलजफती र हुल हुज्जत गर्ने कार्य भने सभ्य समाजको परिचायक हुन नसक्ने बताउनुभएको छ ।

यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कारवाहीको विषय बन्ने जनाउँदै उहाँले जनकपुरको घटनाले नेपाली इञ्जिनीयर, कर्मचारी र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।

कांग्रेसले सहकर्मीउपर गम्भीर दुव्र्यवहार हुँदा इञ्जिनीयर आक्रोशित र आन्दोलित हुनु स्वभाविक भएको जनाउँदै सुरु कानुनी कारवाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास लिएको छ । शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक तथा सदस्यलाई तदनुकूलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने कांग्रेसले स्मरण गराएको छ ।

हुलहुज्जतको बाटोबाट समुन्नत समाजमा पुग्न नसकिने उल्लेख गर्दै कांग्रेसले हरेक दल, नेतृत्व, सदस्य, समर्थक र नागरिकले यसलाई गहिरो आत्मसात् गर्नुपर्ने आवश्यकताका साथ थप सजगता तथा कडाइका लागि सरकारसँग अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सहकारीका माध्यमबाट जनताको जीवनस्तर उठाउनुपर्छ : ऊर्जामन्त्री भुसाल



ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारीका माध्यमबाट गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन सहिने बताउनुभएको छ ।

सरकारले आर्थिक, सामाजिक न्याय तथा गरिबी न्यूनीकरणका लागि सार्वजनिक, निजी र सहकारीसहित तीन खम्बे अर्थनीति अवलम्बन गरेको उल्लेख गर्दै मन्त्री भुसालले सहकारी क्षेत्रले आर्थिकरूपमा बिपन्न परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारसभाको उद्घाटन गर्दै मन्त्री भुसालले भन्नुभयो, “सहकारीका माध्यमबाट आर्थिक सशक्तीकरण गर्नुपर्छ, सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणमा यस क्षेत्रले भूमिका खेल्नुपर्छ ।” सहकारीले गरिब परिवारलाई सीप र रोजगारी उपलब्ध गराएर जीवनस्तर माथि उठाउनुपर्नेमा उहाँको जोड थियो ।

आर्थिक अधिकारमा महिलाको समान पहुँच नभएको भन्दै उहाँले विगतमा अधिकारका लागि सङ्घर्ष गरेको र अब अधिकार कार्यान्वयनका लागि सङ्घर्ष गर्नुपर्ने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्राप्त गरेका राजनीतिक, आर्थिक र सामाजिक अधिकार घरपरिवारबाटै कार्यान्वयन गर्नुपर्छ, अधिकार कार्यान्वयनको जागरुकता राख्नुपर्छ ।”

सो अवसरमा संस्थाका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले आर्थिक वर्ष २०७६/७७ मा महिला सदस्य आठ हजार २५ र पुरुष सदस्य एक हजार ६२४ रहेकामा आव २०७७/७८ मा सदस्यता वृद्धि भई महिला सदस्य आठ हजार १७९ र पुरुष सदस्य तीन हजार ४२३ गरी जम्मा ११ हजार ६०२ सदस्य संस्थामा आबद्ध भएको जानकारी दिनुभयो ।

आव २०७६/७७ मा रु पाँच करोड ५५ लाख ८८ हजार १०० शेयर पुँजी सङ्कलन भएकामा आव २०७७/७८ असार मसान्तसम्ममा रु एक करोड ४१ लाख २९ हजार ७०० सेयर पुँजी वृद्धि भइ हाल संस्थाको शेयर पुँजी रु छ करोड ९७ लाख १७ हजार ८०० पुगेको छ ।

संस्थाले २०७६/७७ मा रु ५४ करोड १८ लाख ४४ हजार ९२४ बचत सङ्कलन गरेकामा आव २०७७/७८ असार मसान्तसम्ममा रु आठ करोड ७५ लाख ६६ हजार ९१० वृद्धि भई हाल संस्थाको बचत निक्षेप रु ६२ करोड ९४ लाख ११ हजार ८३५ पुगेको छ ।

आव २०७६/७७ मा रु ४० करोड तीन लाख ६३ हजार ६१७ कर्जा लगानी गरिएकामा आव २०७७/७८ सम्ममा संस्थाको लगानीमा रहेको कर्जा रु ६९ करोड २४ लाख ३५ हजार ४६१ पुगेको उल्लेख गरिएको छ । सो अवसरमासरोकारवालाले सहकारीका माध्यमबाट गरिबी न्यूनीकरण तथा समृद्धिमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो, स्वास्थ्यकर्मीसहित चार जना अझै वेपत्ता



पाँचथर- यहाँ बाढी र पहिराका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो ।

यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो सङ्ख्यामा स्थानीयवासीको ज्यान गएको हो । बाढीले बगाएर बेपत्ता फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगर र पहिराले पुरिएर बेपत्ता फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढी र पहिरामा परी मृत्यु भएका २८ जनाको यसअघि नै पहिचान भइसकेको छ । त्यसमध्ये २१ जना मिक्लाजुङ गाउँपालिकाका छन् । जिल्लामा अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी तथा पहिरामा परी बेपत्ता छन् । बेपत्ता हुनेमा दुई स्वास्थ्यकर्मीसमेत छन् । इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत उनीहरु पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरामा परी घाइते भएका स्थानीयवासीको उपचारमा आएका थिए । पहिरो झरेपछि भाग्ने क्रममा पहिराले पुर्दा बेपत्ता भएका उनीहरु अझैसम्म फेला पर्न नसकेको मिक्लाजुङका अध्यक्ष अमरराज माखिमले जानकारी दिनुभयो ।

बाढी र पहिरामा परी बेपत्ताको खोजी तीव्र पार्न तथा क्षतिको विवरण सङ्कलन गर्न जिल्ला विपत् व्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ । सुरक्षा निकायले स्थानीयवासीसमेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय तहबाट क्षतिको विवरण सङ्कलन थालिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: