धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते



धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । मंगलबार बिहान सवा ७ बजेतिर धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगपालिका–११ स्थित राइमा दुर्घटना भएको हो ।

जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए । घाइतेहरूको अवस्था सामन्य नै रहेको चन्दले बताए । बस सडक छेउमै पल्टिएको छ ।


प्रतिक्रिया दिनुहोस !


कांग्रेसद्वारा कुशवाहामाथि दुव्र्यवहार गर्नेउपर कारवाहीको स्वागत



नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुव्र्यवहार गर्ने दोषीलाई कानुनी कारवाही गर्न सरकारले अघि बढाएको प्रक्रियाको स्वागत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत राजनीति, प्रशासन तथा समग्र समाजमा रहेका बेथितिविरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै कानुन हातमा लिने, बलजफती र हुल हुज्जत गर्ने कार्य भने सभ्य समाजको परिचायक हुन नसक्ने बताउनुभएको छ ।

यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कारवाहीको विषय बन्ने जनाउँदै उहाँले जनकपुरको घटनाले नेपाली इञ्जिनीयर, कर्मचारी र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।

कांग्रेसले सहकर्मीउपर गम्भीर दुव्र्यवहार हुँदा इञ्जिनीयर आक्रोशित र आन्दोलित हुनु स्वभाविक भएको जनाउँदै सुरु कानुनी कारवाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास लिएको छ । शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक तथा सदस्यलाई तदनुकूलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने कांग्रेसले स्मरण गराएको छ ।

हुलहुज्जतको बाटोबाट समुन्नत समाजमा पुग्न नसकिने उल्लेख गर्दै कांग्रेसले हरेक दल, नेतृत्व, सदस्य, समर्थक र नागरिकले यसलाई गहिरो आत्मसात् गर्नुपर्ने आवश्यकताका साथ थप सजगता तथा कडाइका लागि सरकारसँग अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

एकीकृत समाजवादीले तीन महिने संगठन विस्तार अभियान चलाउने



सीपी लोहिया,/न्युज कारखाना

बैतडी, ६ कात्तिक

नेकपा (एकीकृत समाजवादी) बैतडीको पहिलो विस्तारित बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले तीन महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । संगठन विस्तार अन्तर्गत पालिकाका कमिटीहरु गठन गर्ने, अहिले गठन प्रक्रियामा रहेका वडा कमिटी गठनलाई निरन्तरता दिने, जनवर्गीय संगठनहरु विस्तार गर्ने, नयाँ सदस्यता थप गर्ने र पुरानालाई नवीकरण गर्ने बताइएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका पोलिटब्यूरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्टले अबको तीन महिना संगठन विस्तार र सुदृढीकरणमा लाग्ने बताए । विस्तारित बैठकले जिल्ला सचिवालय गठन गर्ने तथा जिल्ला कमिटी सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।

सचिवायल सदस्यको टुंगो लगाउने जिम्मेवारी जिल्ला कमिटीका पदाधिकारीलाई दिएको छ । जिल्ला पदाधिकारीले नै स्थानीय तहका इन्चार्जहरु तोक्नुका साथै जनवर्गीय संगठनका इन्चार्जसमेत तोक्ने निर्णय गरेको छ । सचिवालय सदस्यमा यसअघि नेकपा एमालेमा छँदा सचिवालय सदस्य र जिल्ला कमिटी सदस्य रहेका ब्यक्तिलाई स्वतः समावेश गर्ने र जिल्ला कमिटी सदस्यको टुंगो पदाधिकारी बैठकले लगाउने बताइएको छ ।

पार्टीले केही दिनअघिको अविरल वर्षाका कारण विपदमा परेका बैतडीवासीका पीडाहरु सरकार समक्ष पुर्‍याउने जनाएको छ । बाढी पहिरो पीडितका लागि तत्काल राहत तथा पुनर्स्थापनाका काम अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

यसैगरी स्थानीय तहमा भइरहेको भ्रष्टाचार न्यूनीकरणका लागि पहल गर्ने, सार्वजनिक मुद्दामा बहस गर्ने, विकास निर्माणका काममा हुने ढिलाईको कारण खोजी र कार्यान्वयन पक्षलाई बलियो बनाउने निर्णयसमेत भएको पोलिटब्यूरो सदस्य भट्टले बताए । उनले भने, ‘हामी अब पार्टी संगठन विस्तारको कामलाई तीब्रता दिनुका साथै आम जनताका सानादेखि ठूला मुद्दामा केन्द्रीत हुन्छौं ।’

उनले अहिले सरकारमा रहेका दलहरुको गठबन्धन आगामी चुनावसम्म रहने र चुनाव जितेरै छाड्ने दावी गरे ।

पत्रकार सम्मेलनमा नेकपा (एस) का प्रदेश सहसचिव एवं सुदूरपश्चिम प्रदेशका पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले आफ्नो पार्टी अहिले पनि सरकारमा भएकाले जनजिविकाका सवालहरुमा केन्द्रीत रहेको बताइन् ।

उनले भनिन्,‘सुदूरपश्चिम प्रदेश सरकारमा हाम्रो पार्टीको बाहुल्यता छ । केन्द्र सरकारमा हाम्रो पार्टीको गठबन्धन छ । त्यसैले दुबै सरकारसँग हामी जनजीविकाका सवालमा कुरा उठाउछौं । अहिले बर्षाका कारण विपदमा परेका बैतडीबासीका समस्यालाई हल गर्न, उनीहरुको पुनर्स्थापना गर्न हामी पहल गर्छौ ।’

पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी भट्टले केन्द्रीय नेताका कारण पार्टी विभाजन भएकाले यसमा आफूहरुको कुनै गल्ती नरहेको बताइन् । उनले आफ्नो पार्टी अहिले सानो भए पनि जिल्लाका पुराना नेताको खोजी गरी उनीहरुसँगको सहकार्यमा अगाडि बढ्ने बताइन् ।

पत्रकार सम्मेलनमा नेकपा (एस) का जिल्ला अध्यक्ष महादेव भट्टले विगतमा भएका गल्ती कमजोरीलाई सुधार्दै नेकपा (एस) बलियो पार्टीको रुपमा स्थापित हुने बताए । उनले आगामी निर्वाचनमा बैतडीका ५० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले चुनाव जित्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस !

जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु जरुरी छ : कानुनमन्त्री बडू



कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण मुलुकले ठूलो क्षति बेहोर्नु परेकाले जलवायु परिवर्तनसम्बन्धी विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो । सरकारले अहिले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम ल्याउन नसके भविष्यमा मुलुकले ठूलो क्षति बेहोर्नसक्ने भएकाले यसलाई सरकारले महत्वका साथ लिनुपर्नेमा उहाँको जोड थियो ।

उहाँले सरकारले बाढी, पहिरो र डुबानका कारण मारमा परेका किसानलाई लक्षित गरेर तत्काल राहतसहितका प्याकेज अघि बढाइने बताउनुभयो । मन्त्री बडुले बाढी, पहिरो र डुबानका कारण सबैभन्दा मारमा किसान वर्ग परेकाले सरकारले तत्काल राहतको व्यवस्था गर्ने जानकारी दिनुभयो ।

उहाँले सरकारको आफ्नो स्रोतले नभ्याएमा वैदेशिक सहयोग जुटाएर भए पनि मारमा परेका किसानलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकार लागिपर्ने बताउनुभयो । उहाँले आफू बाढी, पहिरो र डुबानका बेला सुदूरपश्चिम भ्रमणमा रहेको जनाउँदै आफ्नै आँखाले यहाँ भएको क्षति देखेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: