१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

दसैंलाई सात वेब सिरिज



सन् २०१९ डिसेम्बरको अन्तिममा चीनको वुहानमा पहिलो पटक भेटिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वका अधिकांस देशमा लकडाउन भयो । एक मानिसबाट अर्को मानिसमा भाइरस सर्ने भएकाले पनि विश्व स्वास्थ्य संगठनको सल्लाहअनुसार सामाजिक तथा भौतिक दुरी कायम गर्न लकडाउन अनिवार्य भनियो । अधिकाँस मानिसहरू घरमै रहेकाले उक्त समयमा ओटीटी लोकप्रिय भयो । डिजिटल कन्टेनले राम्रो दर्शक पाएपछि त्यसमा लगानीकर्ता पनि बढिरहेका छन् । फिल्मको तुलनामा वेब सिरिजमा स्वतन्त्र तरिकाले कथा देखाउन पाउने भएकाले निर्देशकहरू समेत विभिन्न कन्टेन लिएर दर्शक समक्ष पुगिरहेका छन् । जसमध्ये केहीवेब सिरिजलाई दर्शकले रुचाएका छन् । आज हामी पनि यस्तै केही भारतीय वेब सिरिजको चर्चा गर्दैछौँ, जसलाई हेरेर तपाइले दसैंको फुर्सदलाई सदुपयोग पनि गर्न सक्नुहुनेछ ।

स्क्याम १९९२ : हर्षद मेहता स्टोरी

सोनी लिभमा रिलिज भएको सिरिज मध्येको सर्वाधिक चर्चित सिरिज हो ‘स्क्याम : १९९२ : हर्षद मेहता स्टोरी’ । यसले निकै राम्रो लोकप्रियता पायो । सेयर मार्केटमा छिर्ने उदेश्यमा रहेका प्रायलाई यसले बजारको बास्तविकता देखायो । सिरिज आफैमा राम्रो थियो नै लकडाउनमा घर रहेर सेयर कारोबार गर्न चाहनेको लागि यो महत्वपूर्ण बन्यो । फलत: यसले राम्रो सफलता पायो । पहिलो सिजन पश्चात यतिबेला यसको दोस्रो सिजनको पर्खाइमा दर्शकहरू छन् ।

यस सिरिजले आइएमडीबीमा सबैभन्दा धेरै रेटिङ पाउने वेब सिरिजमा आफूलाई अगाडि राखेको छ । यसले ९.५ रेटिङ पाएको छ । जुन अत्यधिक हो । हंसल मेहताले निर्देशन गरेको सिरिजले उक्त समयका प्रधानमन्त्री पीभी नरसिंह रावसमेत संलग्न भएको सेयर बजार घोटालाको कथा प्रस्तुत गर्छ । सत्यकथामा आधारित वेबसिरिज सुचेता दलालको पुस्तकमा आधारित छ । सिरिजमा प्रतिक गान्धीले मेहताको भूमिका निर्वाह गरेका छन् । उनले यस सिरिज मार्फत आफूलाई स्थापित गरेका छन् । यसमा श्रेया धन्वन्तरी, हेमन्त खेर, अन्जली बारोत, चिराग बोहरालगायतको अभिनय छ ।

हर्षद शान्तीलाल मेहता, भारतीय धितोपत्र बजारमा सायदै यस्ता लगानीकर्ता होलान् जसले उसको नाम नसुनेको होस् । भारतीय सेयरबजारका मात्र होइन, विश्व सेयरबजारका लगानीकर्ताहरूमाझ मेहता प्रख्यात छन्। सेक्यूरिटिज स्क्याम १९९२ मा मुछिनुभन्दा अघि हर्षद मेहता दलाल स्ट्रीटका एक प्रख्यात नाम थियो । उनलाई अक्सर दलाल स्ट्रीटका ‘बिग बुल’ मानिन्थे । चर्चित भएका कारण उनले भारतीय सेयर बजारका ‘अमिताभ बच्चन’ को उपनाम पनि पाएका थिए। सेक्यूरिटिज स्क्याम अफ १९९२ करिब चार हजार करोडको मानिन्छ, जुन आजको समयमा हिसाब गर्ने हो भने २० हजार करोड हुन आउँछ।

असुर

पछिल्लो समय चर्चामा सिरिज मध्य अग्रपंक्तिमामा छ, असुर । क्राइम, मिष्ट्री र थ्रिलर श्रेणीमा राखिएको यो सिरिजले धेरै दर्शकको मन जिति छ । सिरिजमा देखाइएको कथा नयाँ त छैन तर यसको प्रस्तुतीकरण भने अन्यभन्दा भिन्न छ । क्राइम गर्नुको कारण र क्राइम गर्ने शैली भने अन्य सिरिजको तुलनामा केहीफरक छ । यसलाई ओनी सेनले निर्देशन गरेका हुन् । अरसद वारसी, बरुण सोवित, अनुप्रिया गोइंका, रिधी डोग्रालगायतको अभिनय सिरिज हेरिसकेपछि यसको दोस्रो सिजन नकुर्ने कमै हुन्छन् । यसले भारतमा भएको विभिन्न स्थानको हत्या सुल्झाउन लागिरहेका एफबिआइको कथा भन्छ । सिरिजले दर्शकलाई उत्साहित मात्र बनाएण, दोस्रो भागको प्रतिक्षामा समेत राख्यो । तर, दोस्रो भागको बारेमा केहीजानकारी आएको थिएन । यद्दपी पछिल्लो समय यो सिरिज दोस्रो भागको लागि फ्लोरमा गएको छ । यसको पहिलो सिजनलाई भुट नामक एप्समा हेर्न सकिनेछ ।

द फ्यामिली म्यान

मनोज बाजपायी अभिनित सिरिज ‘द फ्यामिली म्यान’ रुचाइएको सिरिज मध्येको एक हो । एक व्यक्ति कसरि पारिवारिक दायित्वसँगै आफ्नो कर्म पुरा गर्छ भन्ने विषयमा सिरिज केन्द्रीत छ । मनोज टास्कका सिनियर अफिसर हुन्छन् । उनले आफ्नो देशलाई बचाउन गर्ने संघर्ष र परिवार प्रति निर्वाह गर्ने दायित्वलाई सिरिजमा देखाइएको छ । यसलाई राज निदिमोरु र कृष्णा डीकेले निर्देशन गरेका छन् । यसमा मनोजसँगै प्रियामानी, शारिब हास्मी, निरज माधव, किशोर कुमार, पवन चोपडा, सुदीप किसनलगायतको अभिनय छ । इन्डियामा आतंकवादीले गर्न खोजेको एक ग्यास अट्याकको बिषयमा सिरिज केन्द्रित छ ।

पहिलो सिजन झैँ यसको दोस्रो सिजनलाई पनि दर्शकले रुचाएका छन् । प्राइम भिडियोमा यसको दुई सिजन राखिएका छन् । दोस्रो सिजनमा मनोज बाजपेयी, समान्था अक्किनेनी, प्रियमणि, शरिब हश्मीलगायतका कलाकारको अभिनय छ । साउथ फिल्मनगरीकी हिरोइनको आगमनले सिरिजलाई चर्चित बनायो । फिल्ममा मनोज अघिल्लो सिजन झैँ स्पाइ एजेन्ट हुन्छन् । यसपटक उनले आफ्नो टास्कको काम छाडेर नयाँ काम सुरु गरेका छन् ।

समान्तर

एमएक्स प्लेयरमा रिलिज भएको सिरिजमा समान्तर पनि चर्चामा छ । मराठी सिरिज ‘समान्तर’ ले राम्रो चर्चा पायो । एक व्यक्तिले सफलता पाउन नसकेपछि भविष्य जान्न चाहन्छ । तर, उसको भविष्य एक व्यक्तिसँग मिल्छ । त्यसपछि उसले त्यहि खोज्न थाल्छ । कथा यसमै केन्द्रित छ । सानो बजेटमा निर्माण गरिएको सिरिजले समान्तर रुपमा जीवन चल्ने दुई व्यक्तिको कथालाई देखाएको थियो । यस कन्सेप्टलाई दर्शकले रुचाए । एउटा व्यक्ति जो जीवनबाट निराश छ, उसले आफ्नो भविष्यलाई अरुले भुतकालमा विताईसकेको थाहा पाएपछि आउने रोचक कथालाई यसको पहिलो सिजनमा देखाइएको छ । आफ्नो भविष्यलाई एक दिन अगावै देख्ने अवसर पाएको कुमार महाजनको जीवनमा सिरिज घुमेको छ । उनको जीवनलाई सुदर्शन चक्रपाणी चालिसे भन्ने क्यारेक्टरले विताई सकेका हुन्छन् ।

यसमा स्वप्निल जोशीको कामको तारिफ पनि गरिएको छ । यसमा स्वप्निलसँगै नितिश भारद्वाज, कृष्णा भारद्वाज, तेजस्विनी पण्डित, गणेश रेवडेकर, जयन्त स्वारकरलगायतको अभिनय छ । यसलाई सतिश राज्वाड़ेले निर्देशन गरेका हुन् । चक्रपाणीसंग उनको भोगाईको डायरी लिएर जीवनलाई सुन्दर बनाउने तयारी गरिरहेका कुमारले भविष्य देख्दा देख्दै भोग्ने पिडालाई दोस्रो भागमा देखाइएको छ । उनलाई भोलि हुने घटना थाहा छ । अब उनले भविष्यलाई चक्रपाणीकोभन्दा फरक बनाउन सक्छन त ? भन्ने नै सिरिजको आकर्षण हो ।

अम्बर हडापको लेखन तथा स्क्रीनप्ले सिरिजलाई समीर विडवाले निर्देशन गरेका छन् । यसमा कुमार महाजनको भूमिकामा स्वप्निल जोशी रहेका छन् भने चक्रपाणीको भूमिका नितिश भारद्वाजले गरेका छन् । यसमा स्वप्निल र नितिशसंगै तेजस्विनी पण्डित, साइ तम्हानकरको मुख्य भूमिका छ । यसको दुई सिजनलाई एमएक्स प्लेयरमा हेर्न सकिनेछ ।

स्पेसल ओपिएस

नीरज पाण्डेको विशेषता नै इण्डो-पाक स्टोरी हो । स्पेसल ओप्स यस्तै छ । भारतमा पार्लामेन्टमा भएको अट्याकमा यो केन्द्रित छ । नीरज पाण्डे र शिवम नैरले मिलेर यो सिरिजको निर्देशन गरेका छन् । सन् २००१ मा भएको अट्याकमा आधारित सिरिजले फिल्मकै झल्को दिन्छ । अट्याकमा आएका सबै आतंकवादी पक्राउ पर्छन् तर योजनाकार भने फरार हुन्छन् । उक्त योजनाकारलाई नै पक्राउ गर्ने मिसनमा सिरिज केन्द्रित छ । असमा केके मेनन, मुज्जमिल इब्राहिम, करण टेकर, सना खान, विपुल गुप्ता, सैयामी खेर, मेहर बिज, दिव्या दत्त, विनायक पाठकलगायतको अभिनय छ । यसलाई डिज्ने प्लस हटस्टारमा रखिएको छ । निर्देशक पाण्डे यसको सफलता पश्चात यसको एक क्यारेक्टर केके मेननको भूमिकालाई लिएर ‘स्पिन अफ’ स्पेसल ओप्स १.५ तयार गरिरहेका छन् ।

मिर्जापुर

वेब सिरिज मिर्जापुर दुई सिजनलाई दर्शकले उत्तिकै रुचाएका छन् । प्राइम भिडियोमा उपलब्ध दुई सिजननै दर्शक माँझ लोकप्रिय छन् । पहिलो सिजनको सफलतापछी निर्माण कम्पनिले यसको दोस्रो समेत दर्शक माँझ ल्याईसकेको छ । भारतको उत्तर क्षेत्रमा हुने गरेको अराजकता, हतियार र ड्रग्सका विषयलाई समेटेर तयार पारिएको सिरिजमा बदलाको भाव देखाइएको छ । रिभेन्ज स्टोरी सिरिजमा पंकज त्रिपाठी, अली फजल, दिव्येन्दु शर्मा, श्वेता त्रिपाठी शर्मा, रसिका दुगल, हर्षिता शेखर गौड, अमित सियाल, अञ्जुम शर्मा, शीबा चड्ढा, मनु ऋषि चड्ढा र राजेश तैलंगलगायतका कलाकारको अभिनय छ । यसको तेस्रो सिजनको प्रतीक्षा दर्शक छन् ।
आश्रम

निर्देशक प्रकाश झा निर्देशित सिरिज ‘आश्रम’को दुई सिजन एमएक्स प्लेयरमा उपलब्ध छन् उनले बोबी देओललाई लिएर ओटीटीमा डेब्यु गरेका थिए । डेब्यु सिरिजमै उनले सफलता हात पारेका छन् । दर्शक माँझ यसको उपलब्ध दुई सिजननै लोकप्रिय छ । धार्मिक गतिविधि मार्फत राजनीति र देशमा भइ अंधकार भित्र खेलमा देखाइएको सिरिजमा बबी देओलले बाबाको भूमिका निर्वाह गरेका छन् । उनी यस किसिमको भूमिकामा पहिलोपटक देखिएका हुन् ।

केही अगाडिसम्म अभिनयबाट टाढिएका बबीले कमब्याक गरेसँगै फिल्म र सिरिजमा काम गरिरहेका छन् । निर्देशक झाले पनि बबीले भूमिकालाई न्याय गरेको बताएका छन् । उनले सिरिजलाई पनि फिल्मकै शैलीमा निर्माण गरेका छन् । धर्मको आडमा चलि अपराधिक क्रियाकलाप देखाउने प्रयास उनले गरेको देखिन्छ। निर्देशक झा यतिबेला आश्रमको तेस्रो सिजनको छायांकनमा व्यस्त छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय