विष्णु पौडेलका कारण मोतीपुरमा प्रहरीको गोलीबाट ४ जनाको मृत्यु भएको आरोप « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

विष्णु पौडेलका कारण मोतीपुरमा प्रहरीको गोलीबाट ४ जनाको मृत्यु भएको आरोप



काठमाडौं । सत्तारुढ तीन दलका विद्यार्थी संगठनहरुले रुपन्देहीको मोतीपुरमा प्रहरीको गोलीबाट चार जनाको मृत्यु भएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी निकटका विद्यार्थी संगठनहरुले आज संयुक्त विज्ञप्ति जारी गरेर घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गरेका हुन् । उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचार गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली र जसपा निकटको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा घटनाको मुख्य कारण भने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार भएको आरोप लगाइएको छ । ‘अनाहकमा जनताको ज्यान गएको यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निश्कर्ष छ,’ विज्ञप्तिमा लेखिएको छ ।

गत फागुन २१ गते तत्कालीन सरकारका अर्थमन्त्री एवम् एमाले उपमहासचिव विष्णु पौडेलले स्थानीयको विरोधका बाबजुद मोतीपुरमा औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १ सय ३३ विघा जग्गा अधिग्रहण नगर्दै राज्य शक्तिको दुरुपयोग गरी मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेटने दुस्साहसको परिणाम मोतिपुर क्षेत्र रणमैदान भएको विद्यार्थी संगठनहरुको आरोप छ । २४ असोजमा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !


विपद्मा परेकालाई सरकारले राहत दिनुपर्छ : वरिष्ठ नेता पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढी, पहिरो प्रभावित जनतालाई सरकारले राहत दिनुपर्ने बताउनुभएको छ । उहाँले विपद्मा परेकाका लागि प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले किसानलाई बीउविजन, मल, ऋण, क्षतिपूर्ति, भत्केका संरचना निर्माणलगायत सबै किसिमको प्रबन्ध मिलाउन सरकारले दीर्घकालीन र तत्कालीन कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

सरकारलाई अझ तदारुकताका साथ राहत कार्यक्रममा जुटन आग्रह गर्ने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा नेता पौडेलले अझै पनि लोकतन्त्रमाथि सङ्कट नटरेकाले त्यसको रक्षाका लागि कांग्रेसले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कांग्रेस बलियो भयो भने मात्रै नेपालमा लोकतन्त्रको रक्षा हुन्छ र लोकतन्त्रको रक्षा भए मात्रै नेपाल राष्ट्रको स्वाधिनताको रक्षा हुन्छ ।” वरिष्ठ नेता पौडेलले कांग्रेसको सबलता र सक्षमता नेपालको लोकतन्त्रसँग गाँसिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

अध्यात्मिक शिक्षाले मानव कल्याण र विश्व शान्तिको मार्ग देखाउँछः मुख्यमन्त्री राउत



जनकपुरधाम, ६ कात्तिक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भौतिकवादी युगमा मानिसलाई अहिंसाको बाटोमा डोर्‍याउन अध्यात्मिक शिक्षाको महत्व रहेको बताएका छन् ।

जनकपुरधाम उपमहनगरापालिका–१४ मुजेलियास्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको शनिबार उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले भने, ‘कुनै पनि धर्मका धार्मिक शिक्षाले मानिसलाई अहिंसाको मागमा चल्न सिकाउछन् । धार्मिक शिक्षाले पनि समाजलाई जोड्छ,धार्मिक सदभाव बढाउछन, भाइचारा, मानव कल्याण र विश्व शान्तिको वकालत गर्छन् ।’

पाँच कठ्ठा क्षेत्रफलमा चार करोड पचास लाखको लागतमा निर्माण भएको उक्त भवनमा राजयोग सेवा केन्द्रसँग सम्बन्धित प्रशिक्षणहरु सञ्चालन हुने जनाइएको छ । सेवा केन्द्रको नेपाल निर्देशक राज दादी मा को अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य सत्रुधन महतो, राम अशिष यादव , परमेश्वर साह, शारदा थापासहित समाजसेवीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस !

धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत



धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ ।

जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिवार अधिवेशन सम्पन्न हुन सकेको एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । ११७ वटै वडामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको उनले बताए । ‘१७० वटै वडामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ,’ उनले भने, ‘बाँकी रहेका वडाहरुमा सहमतिले नै नेतृत्व चयन गरिने विषयमा छलफल पनि भइरहेकोले भोलिसम्म सबै वडाको अधिवेशन सम्पन्न हुनेछ ।’

९ कात्तिकमा पालिकाको अधिवेशन रहेकोले त्यसअघि नै वडा अधिवेशन गर्नुपर्ने बाध्यता रहेकोले आफूहरु त्यसमै सक्रियतापूर्वक लागेको उनले बताए । नेकपा एमालेको अगामी १० मंसिरमा राष्ट्रिय महाधिवेशनको समय तोकिएको छ । पार्टीको महाधिवेशनपश्चात मात्रै जिल्ला अधिवेशन हुने उनले बताए । पार्टीको वडा अधिवेशन गराउन यतिबेला एमालेका जिल्ला नेताहरु आ-आफ्ना क्षेत्रमा सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: