१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

पृथ्वीनारायण शाहले २५३ वर्षअघि दिएको खड्ग जाजरकोट दरबारमा भित्र्याइयो



हेमन्त केसी

जाजरकोट, २६ असोज

तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका सिलसिलामा २५३ वर्षअघि जाजरकोट राज्यलाई उपहार स्वरुप दिएको खड्ग अर्थात तरवार बडादसैँको फूलपातीको अवसर पारेर शक्तिको प्रतिकको रुपमा जाजरकोट दरबारमा भित्र्याइएको छ ।

वडादशैंका अवसरमा फूलपाती भित्र्याउने कार्यक्रमअनुसार जाजरकोट राज्यको शक्तिको प्रतीकको रुपमा रहेको उक्त खड्ग मंगलबार सदरमुकाम खलंगास्थित कालिका मन्दिरबाट जाजरकोट दरबारमा भित्र्याइएको हो । स्थानीय सर्वसाधारणहरु, सरकारी कर्मचारी र सुरक्षाकर्मीको व्यापक सहभागितामा शंख ध्वनीसहित भेरी नगरपालिका ४ गैरीखालीमा पूजाआजा र सलामी दिएर मंगलबार विहान उक्त खड्गलाई जाजरकोट दरबार लगिएको हो ।

५ माघ १८२५ विक्रम सम्वतमा काँशीको मणिकर्णिका घाटमा गोरखाका राजा पृथ्वीनारायण शाहले तत्कालीन जाजरकोटी राजा हरि शाहसँग नेपाल एकीकरण अभियान सफल पार्ने उद्देश्यले धर्मसन्धी गर्दै उक्त खड्ग (तरवार) जाजरकोट राज्यलाई उपहारस्वरुप दिएका थिए । दुई राज्यका बीचमा एक अर्कालाई सहयोग गर्ने सम्झौता गर्दै दुवै राजाले मितेरी साइनो गाँसेर उपहार साटासाट गर्ने क्रममा उक्त खड्ग जाजरकोटी राजालाई दिएको जाजरकोट राज्यको इतिहासबारे जानकार भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्बजंग शाहले बताए । उनले झन्डै ७ सय वर्षअघि स्थापना भएको जाजरकोट राज्यको सुरुको राजधानी जगतिपुरमा राखिएको उक्त खड्ग अर्थात तरवार १८५२ सालमा अहिलेको सदरमुकाम खलंगामा राजधानी सारिएपछि दशैंको फूलपातीका दिन विशेष पूजाआजासहित जगतिपुरबाट खलंगा दरबारमा ल्याउने परम्परा सुरु भएको बताए ।

फूलपातीका दिन विशेष पूजाआजासहित वली दिएर जाजरकोट दरबारमा रहेको जमरा घरमा उक्त खड्ग भित्र्याउने परम्परा रहेको छ । बली दिन र खड्ग भित्र्याउन लाग्ने रकम शुरुमा दरबारबाट र पछि गृह मन्त्रालयबाट आउने गरे पनि मुलुकमा गणतन्त्र आइसकेपछि रकम पठाउन छोडिएको छ । रकम अभावमा परम्परालाई निरन्तरता दिनै मुस्किल भएको स्थानीय प्रशासनले जनाएको छ । जाजरकोट दरबारमा हाल जिल्ला प्रशासन कार्यालय रहेको छ । पहिला राजाले गर्ने खड्ग पूजा २०१८ सालपछि प्रमुख जिल्ला अधिकारीले गर्दै आएका छन् ।

जगतिपुरमा रहेको राजा र देवताको शक्तिलाई विस्तारै खलंगास्थित दरबारमा सार्ने उद्देश्यले प्रत्यक वर्ष फूलपातीका दिन पूजाआजासहित उक्त खड्गलाई खर्के देउताको रुपमा पुज्दै ल्याउन थालिएको बडाध्यक्ष शाह बताउँछन् । फूलपातीका दिन जाजरकोट दरबारमा भित्र्याइएको उक्त खड्गलाई दसैँको फूलपाती अर्थात सप्तमी, महाअस्टमी, महानवमी र विजयादशमीको दिनसम्म पन्चे बाजाको ध्वनीका साथ बोका, रांगाको बलि दिएर भव्य रुपमा पूजाआजा गरि दशमीकै दिन टीका लगाई सकेपछि जगतिपुरमै फर्काउने परम्परा रहे पनि मुलुकको १० वर्षे द्धन्द्वका क्रममा असुरक्षाका कारण उक्त खड्ग २० वर्ष अघिदेखि जिल्ला प्रहरी कार्यालयको परिसरमै रहेको कालिका मन्दिरमै राख्ने गरिएको छ । अब शान्ति आइसकेकोले खड्गलाई जगतिपुरको मन्दिरमै राख्नुपर्ने ५२ वर्षदेखि खड्ग पूजा गर्दै आएका पुजारी सत्यप्रसाद शर्माले बताए । जाजरकोट राज्यको उत्पति र खड्ग सुरुमा राखिएको मन्दिरको गरिमा र महत्व जोगाउनका लागि उक्त खड्गलाई जगतिपुरमै राख्नुपर्ने पूजारी शर्माको भनाई छ । उनले तत्कालीन राजाका पुरोहित अर्थात खर्क देवताका पुजारी आफ्ना हजुरबुवाका बुवा रत्नदास शर्माले उक्त खड्ग जाजरकोट दरबारमा ल्याउन सुरु गरेको बताए ।

जाजरकोटी शाह ठकुरीहरुले मुख्य जिम्मा लिएर मनाइने खर्के देउता पूजा अहिले ओझेल पर्दै गएको छ । विगतमा खर्के देउताको पूजाका बेला स्थानीयहरुको जाजरकोट दरबारमा ठुलो मेला लाग्ने गरेको स्थानीय लक्ष्मणबहादुर शाहले बताए । जाजरकोटको इतिहास, सस्कृति र परम्पराको पहिचान झल्काउने खर्के देउता पूजा विगतमा स्थानीय जनता सरकारी कार्यालयको सक्रियतामा गर्ने गरिए पनि अहिले सबैले बिर्सदै गएको उनको भनाइ छ ।

जाजरकोटको इतिहास पनि धेरै महत्वपूर्ण रहे पनि खोज अनुसन्धानको अभावले जानकारीमा आउन नसकेको स्थानीय योगशम्शेर शाहले बताए । पछिल्लो पुस्ताले वेवास्ता गरेका कारण जाजरकोटलाई मुलुकमा चिनाउन गाह्रो भएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले खड्ग देवताको पूजा गर्ने र जाजरकोट दरबारमा खड्ग ल्याउने मौलिक परम्पराको जगेर्ना गर्न आफूले सक्दो पहल गर्ने बताए । विधि र परम्पराअनुसार जाजरकोट दरबारमा शक्तिको प्रतिक खड्ग भित्र्याइएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय