आज महाअष्टमी पर्व : पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिँदै « Name of Truth News : News Portal in Nepal
   ३० आश्विन २०७८, शनिबार
 |   Sat Oct 16 2021
Logo

आज महाअष्टमी पर्व : पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिँदै



काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् ।बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन, र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशु बलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”, उहाँले भन्नुभयो ।

ब्राह्मणका लागि भने पशु बलि बर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलिको महत्व रहेको धर्मशास्त्रविद्को भनाइ छ । दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशु बलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउनुहुन्छ ।

“राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”, उहाँले भन्नुभयो । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसै कारण आजको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो । आजैका दिन राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजा आरधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लाग्ने गर्छ ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको घुँइचो लाग्दछ ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।

देवीका शस्त्रअस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशु बलि नचढाउनेले भने आज पूजा कोठामा आआफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।महाअष्टमीका दिन राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !


एकीकृत समाजवादी बैतडीको इन्चार्जमा भट्ट, दार्चुला इन्चार्जमा बैतडीकै बिष्ट



बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बैतडी जिल्ला इन्चार्जमा प्रमानन्द भट्ट चयन भएका छन् । भट्ट केन्द्रीय पोलिटब्यूरो सदस्यसहित जिल्ला इन्चार्ज चयन भएका हुन् । नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एस) मा गएका भट्टलाई पार्टी स्थायी कमिटीको बैठकले जिल्ला इन्चार्जमा चयन गरेको हो । भट्ट बैतडीमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् । यसैगरी, पूर्व प्रदेश मन्त्री तथा नेकपा (एस) का केन्द्रीय सदस्य माया भट्ट प्रदेश सहसचिवमा चयन भएकी छन् । यसअघि एमाले हुँदा र माओवादीसँगको एकतापछि बनेको नेकपा हुँदाका बेला प्रदेश कमिटी सदस्य रहेकी भट्ट अहिले नेकपा (एस) को प्रदेश सहसचिव पदमा चयन भएकी हुन् ।

यसैगरी, नेकपा एमाले बैतडीका पूर्व अध्यक्ष तथा प्रदेश कमिटी सदस्य रहेका नरेन्द्र बिष्ट नेकपा (एस) को केन्द्रीय सदस्यसहित दार्चुलाको जिल्ला इन्चार्जमा चयन भएकाछन् । गत बिहीबारदेखि जारी स्थायी कमिटीको बैठकले नेताहरुको जिम्मेवारी बाडँफाड गरेको प्रदेश कमिटी सदस्य नरेन्द्र बिष्टले बताए । पार्टीका नियमित कामकाजहरु अब अगाडि बढाउने नेता बिष्टले बताए । आउँदो ३ कात्तिकमा बैतडी जिल्ला कमिटीको बैठक बसेर आगामी कार्यक्रमहरू तय गरिने उनले बताए । आगामी दिनमा पार्टीको पालिका तथा वडास्तरका कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए । पालिका र वार्डस्तरमा संगठन विस्तार तथा सुदृढीकरणका कार्यक्रम आयोजना गरिने नेकपा (एस) बैतडीले जनाएको छ । न्युजकारखाना ।

प्रतिक्रिया दिनुहोस !

ट्याङकरले कारलाई ठक्कर दिँदा वीरगन्जमा ३ भारतीय नागरिकको मृत्यु



वीरगन्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका– २३, भोलहीमा पर्ने वीरगन्ज–पथलैया सडकखण्डमा एक ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार राति करिब ११ बजे उक्त दुर्घटना भएको हो । पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आइरहेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा परी कारका चालक भारतको बिहार मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालकको उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो भने अन्य दुईजनाको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याङकरका चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

भारतलाई जिताउन नेपाली फुटबल टोलीका कोच अलमुताइरीलाई कारबाही !



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) प्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले आफूलाई प्रतिबन्ध गर्दै अन्याय गरेको बताए । उनले साफले आफ्नो नियमावलीविपरित फाइनल खेलका प्रतिबन्ध लगाएको बताए ।

उनले भने, ‘साफले अन्याय गरेको छ । यो मलाई व्यक्तिगत रिसइवी साँध्न साफले कारवाही गरेको भन्ने लाग्छ । तर यो कारवाही म व्यक्तिलाई नभएर राष्ट्रिय टोलीको प्रशिक्षकलाई हो, नेपाली फुटबलमाथि कारवाही भएको हो । उनले नियमावलीमै नभएको कारण देखाउँदै आफूलाई कारबाही गरेकोमा उनले दुःख पनि ब्यक्त गरे। ‘मलाई निकै दुख लागेको छ । साफले मलाई किन निशानामा राखेको छ । मलाई त रंगशालामा नै प्रवेश गर्न पनि नदिने भनिएको थियो, तर मैले आफ्नो अधिकारको लागि आवाज उठाएँ । मलाई किन यस्तो व्यवहार गरिएको छ बुझ्न सकेको छैन,’ उनले थपे ।

साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास) मा समेत जाने उनले बताए। ‘यो निर्णय सही भएन। मुख्य खेल खेलाउने एउटा प्रशिक्षकको सपना चकनाचुर भयो’, उनले भने, ‘भारतका प्रशिक्षक प्रतिबन्धमा परेपछि मलाई पनि कारबाही गरिएको हो। यो सरासर अन्यायपूर्ण निर्णय हो। अलमुताइरीले नियम विपरित कारवाही गरे साफले फुटबल विकासबारे गर्ने कुरा बेकार हुने बताए । उनले आफ्नै नियम नमान्ने साफबाट केहि अपेक्षा गर्ने भन्ने प्रश्न गरे । ‘साफले नियम मान्नुपर्छ । मलाई लाग्छ साफले एकपक्षीय निर्णय गरेको छ । किन मेरो लागि आफ्नै नियमको सम्मान हुँदैन । खेल मैदानभित्र खेल्ने हो, मैदानबाहिर होइन । यदि साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो । भारतका प्रशिक्षक रातो कार्ड पाएर रिसाए भनेर हामीलाई कारवाही गर्नु ठिक भएन,’ उनले भने ।

अलमुताइरीले आफू मैदानभित्र नभएपनि टोलीले उपाधिका लागि खेल्ने बताए । उनले भने, ‘म त्यहाँ भएपनि नभएपनि टोलीले उपाधिका लागि खेल्नेछ । तर यो न्याय भएन । हामीलाई अन्याय गरेर साफले राम्रो गरेन ।’ अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे साफको निर्णयका विषयमा पत्राचार पनि गरिसकेको जनाइएको छ । एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउनु उचित नभएको भन्दै साफलाई पत्राचार गरेको छ। तर, यस बारे साफले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: