दसैँको नवौं दिन आज महानवमी पर्व, सिद्धिदात्री देवीको पूजा गरिदै « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

दसैँको नवौं दिन आज महानवमी पर्व, सिद्धिदात्री देवीको पूजा गरिदै



काठमाडौं । बडादशैंको नवौं दिन आज महानवमी पर्व । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज दुर्गाभवानीको पूजा–आराधना गरी मनाइँदै छ ।यस दिन नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्रीको आह्वान गरिन्छ । यो दिन मातालाई चना, हलुवा, पूरीको भोग लगाउनाले असीम कृपा प्राप्त हुने जनविश्वाश छ । यो दिन घरमा कन्या पूजा गर्नुको पन ठूलो महत्व रहेको छ । यसले घरमा सुख समृद्धि र खुशीको वास हुन्छ ।

महानवमीमा गरिने दुर्गापूजालगायत कार्य गरी घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निसानपूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निसाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

यसैबिच, हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुलेको छ । तुलजा भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा गरिनेछ । तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ ।वर्षमा एक दिन मात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको ठूलो भीड लागेको छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने परम्परा छ ।


प्रतिक्रिया दिनुहोस !


विपद्मा परेकालाई सरकारले राहत दिनुपर्छ : वरिष्ठ नेता पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढी, पहिरो प्रभावित जनतालाई सरकारले राहत दिनुपर्ने बताउनुभएको छ । उहाँले विपद्मा परेकाका लागि प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले किसानलाई बीउविजन, मल, ऋण, क्षतिपूर्ति, भत्केका संरचना निर्माणलगायत सबै किसिमको प्रबन्ध मिलाउन सरकारले दीर्घकालीन र तत्कालीन कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

सरकारलाई अझ तदारुकताका साथ राहत कार्यक्रममा जुटन आग्रह गर्ने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा नेता पौडेलले अझै पनि लोकतन्त्रमाथि सङ्कट नटरेकाले त्यसको रक्षाका लागि कांग्रेसले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कांग्रेस बलियो भयो भने मात्रै नेपालमा लोकतन्त्रको रक्षा हुन्छ र लोकतन्त्रको रक्षा भए मात्रै नेपाल राष्ट्रको स्वाधिनताको रक्षा हुन्छ ।” वरिष्ठ नेता पौडेलले कांग्रेसको सबलता र सक्षमता नेपालको लोकतन्त्रसँग गाँसिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

अध्यात्मिक शिक्षाले मानव कल्याण र विश्व शान्तिको मार्ग देखाउँछः मुख्यमन्त्री राउत



जनकपुरधाम, ६ कात्तिक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भौतिकवादी युगमा मानिसलाई अहिंसाको बाटोमा डोर्‍याउन अध्यात्मिक शिक्षाको महत्व रहेको बताएका छन् ।

जनकपुरधाम उपमहनगरापालिका–१४ मुजेलियास्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको शनिबार उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले भने, ‘कुनै पनि धर्मका धार्मिक शिक्षाले मानिसलाई अहिंसाको मागमा चल्न सिकाउछन् । धार्मिक शिक्षाले पनि समाजलाई जोड्छ,धार्मिक सदभाव बढाउछन, भाइचारा, मानव कल्याण र विश्व शान्तिको वकालत गर्छन् ।’

पाँच कठ्ठा क्षेत्रफलमा चार करोड पचास लाखको लागतमा निर्माण भएको उक्त भवनमा राजयोग सेवा केन्द्रसँग सम्बन्धित प्रशिक्षणहरु सञ्चालन हुने जनाइएको छ । सेवा केन्द्रको नेपाल निर्देशक राज दादी मा को अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य सत्रुधन महतो, राम अशिष यादव , परमेश्वर साह, शारदा थापासहित समाजसेवीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस !

धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत



धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ ।

जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिवार अधिवेशन सम्पन्न हुन सकेको एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । ११७ वटै वडामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको उनले बताए । ‘१७० वटै वडामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ,’ उनले भने, ‘बाँकी रहेका वडाहरुमा सहमतिले नै नेतृत्व चयन गरिने विषयमा छलफल पनि भइरहेकोले भोलिसम्म सबै वडाको अधिवेशन सम्पन्न हुनेछ ।’

९ कात्तिकमा पालिकाको अधिवेशन रहेकोले त्यसअघि नै वडा अधिवेशन गर्नुपर्ने बाध्यता रहेकोले आफूहरु त्यसमै सक्रियतापूर्वक लागेको उनले बताए । नेकपा एमालेको अगामी १० मंसिरमा राष्ट्रिय महाधिवेशनको समय तोकिएको छ । पार्टीको महाधिवेशनपश्चात मात्रै जिल्ला अधिवेशन हुने उनले बताए । पार्टीको वडा अधिवेशन गराउन यतिबेला एमालेका जिल्ला नेताहरु आ-आफ्ना क्षेत्रमा सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: