२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

भारतका सैनिक अधिकारीहरुले नेपाल भ्रमण गर्ने



काठमाडौं । भारतको नेशनल डिफेन्स कलेजका सैनिक अधिकारीहरुले एक साता लामो नेपाल भ्रमण गर्ने भएका छन् । नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा अध्ययनरत विभिन्न पाँच देशका अफिसरसहित सम्लग्न सैनिक टोली भोलि नेपाल आइपुग्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । केही महिनाअगाडि यसैगरी नेपालमा तालिमरत विभिन्न देशका सैनिकहरु यतैबाट साताब्यापी अध्ययनभ्रमणका निम्ति पाकिस्तान र बाङ्लादेश गएका थिए ।

रियर एडमिरल धीरेन भीआइजी नेतृत्वको ३९ सदस्यीय टोली कार्तिक ६ गतेसम्म नेपालमा रहने छ । भ्रमणका दौरान टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा,रक्षामन्त्री डा। मीनेन्द्र रिजाल,अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

टोलीले नेपाली सेनाको मुख्यालय रहेको जंगीअड्‍डा,मध्य कमाण्ड हेडक्वार्टर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । साथै पशुपतिनाथ,मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरीको भ्रमणलगायत नारायणहिटी संग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।

भारतीय सेनाको नेपाल आगमनलाई नेपाली सेनाले नियमित भ्रमण भनेको छ । विगतमा पनि मित्रराष्ट्रमा उच्चस्तरका तालिममा सहभागी शिक्षार्थीहरुले नेपालको भ्रमण गर्ने तथा नेपाली सेनामा सन्चालित कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थीहरुले पनि मित्रराष्ट्रहरुको भ्रमण गर्ने परम्परा रहि आएको र सोहीअन्तर्गत भारतीय सेनाले नेपालको भ्रमण गर्न लागेको बताइएको छ । भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप सुमधुर पार्न मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्धसमेत प्रगाढ हुने नेपाली सेनाको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: