१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

परराष्ट्रमा दुई दर्जन बढी अधिकृतको जिम्मेवारी हेरफेर



काठमाडौं । परराष्ट्र मन्त्रालय अन्र्तगतका दुई दर्जन बढी कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । मन्त्री नारायण खड्काले सो मन्त्रालयका अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेका हुन । जसअनुसार परराष्ट्र सचिव भरत पौड्यालकी निजी सहायक (पीए) शाखा अधिकृत आस्था सुब्बालाई युएन शाखामा पुर्याइएको छ । यस्तै यस अघि ओली सरकारका परराष्ट्र मन्त्री रघुवीर महासेठका पिए महेशमणि त्रिपाठीलाई भने सचिवको सचिवालयमा खटाइएको छ । कृष्णकुमार सुवेदी क्षेत्रीलाई मन्त्रीको सचिवालयमा लगिएको छ । उनलाई न्युयोर्कबाट फर्केपछि केही समय पासपोर्ट सेक्सनमा राखिएको थियो । क्षेत्री चिफ अफ प्रोटोकल तथा यसअघि बेलायतका लागि राजदूत दुर्गाबहादुर सुवेदी क्षेत्रीका सहोदर भाइ हुन् ।

अर्का अधिकृत मनहरि दंगाललाई युरोप–अमेरिका शाखाबाट चिफ अफ प्रोटोकल शाखामा लगिएको छ । सोही शाखाका अनिल लम्साललाई भने युरोप–अमेरिका शाखामा लगेर साटफेर गरिएको छ । आन्तरिक प्रशासनका विनोद मुखियालाई पनि सरुवा गरिएको बताइएको छ । तर उनलाई कहाँ लगियो केही खुलाइएको छैन । अस्ट्रेलियास्थित दूतावास चलाइसकेका पासपोर्ट शाखाका उपसचिव राजेन्द्र पाण्डेलाई नीति तथा योजनामा लगिएको छ । उनको सेवा अवधि आगामी पुस २८ गते सकिँदैछ । रास्ट्रपति कार्यालयमा कार्यरत उपसचिव विशाल भट्टराईको ठाउँमा उपसचिव मुदिता बज्राचार्यलाई लगिएको छ । भट्टराई आबुधाबी पोष्टिङको लागि त्यता जाँदैछन् । अहिले तत्कालको लागि भट्टराईलाई कहिँ कतै एड्जस्ट मात्रै गरिएको स्रोतको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !