४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

पहिरोले एक दर्जनभन्दा बढी घर भत्किए



बैतडी वर्षाका कारण बैतडीका विभिन्न ठाउँमा स्थानीयका घर भत्किएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका-४ स्थित राजेन्द्र खत्रीको दुई तले घर र वडा-६ स्थित हरिसिंह धनाडीको दुई तले निर्माणाधीन पक्की घर भत्किएका छन् । घर भत्किएपछि अहिले उनीहरूका परिवारका सदस्यहरूलाई आवासका लागि समस्या भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए ।यसैगरी जिल्लाको पुर्चौडी नगरपालिका-६ त्रिकालीमा एउटा घर पहिरोमा पुरिएको छ । पहिरोमा परी स्थानीय वसन्ती साँउदको घर पुरिएको नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर-१ समन्वय समितिका संयोजक कर्णबहादुर कुँवरले बताए ।

पहिरोमा घर पुरिँदा खाद्यान्न, लत्ताकपडा र सरसमानसहित पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ । यसैगरी दशरथचन्द नगरपालिका-४ जर्गमा रहेको तारादत्त पाण्डेयको घर आंशिक पुरिएको छ भने सोही गाउँका अकबर मालको गोठ पहिरोमा पुरिएको छ ।

जिल्लाको मेलौली नगरपालिका-३ को पुजारा गाउँका गौरसिंह भाटको पसलमाथिबाट आएको पहिरोले पसल पुरिँदा २० हजार रुपैयाँ बराबरका मालसामान नष्ट भएको स्थानीय नरीराम पार्कीले बताए । सोही ठाउँका दानीराम पार्कीको घरमाथिबाट पहिरो खस्दा दानीरामकी श्रीमती मानमती घाइते भएकी छन् । यसअघि शिवनाथ-६ मा मंगलबार एउटा घर भत्किँदा तीन जनाको ज्यान गएको छ भने सुर्नया-५ मा घर भत्किँदा एक जनाको ज्यान गएको छ । जिल्लाको सिगास-५ ढुंगाडमा पहिरोले स्थानीयका पाँचवटा घर पुरिएका छन् ।


प्रतिक्रिया दिनुहोस !