१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सभापतिले महाधवेशन गर्न छाडेर जथाभावी बोल्दै हिँडे : वरिष्ठ नेता पौडेल



काठमाडौँ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन गर्ने जिम्मेवारी निर्वाचन समितिको मात्रै नभएर केन्द्रीय समिति र केन्द्रीय नेतृत्वले लिनुपर्ने बताएका छन् । सुदूरपश्चिम भ्रमणमा रहँदा शुक्रबार धनगढीमा भएको पत्रकार सम्मेलनमा सभापति शेरबहादुर देउवाले पार्टी महाधिवेशन कहिले हुन्छ ? भन्ने प्रश्नको जवाफमा ‘त्यसबारे निर्वाचन समितिले निर्णय गर्ने’ बताएका थिए । पौडेलले शनिबार कञ्चनपुर पुगेर महाधिवेशन गर्ने जिम्मा निर्वाचन समितिको मात्रै नभएको बताएका हुन् ।

उनले नेतृत्वले महाधिवेशन गर्ने जिम्मेवारी पूरा नगरेर जथाभावी बोल्दै हिँडेको भन्दै आलोचना गरे । ‘पार्टीको महाधिवेशन गर्ने काम निर्वाचन समितिलाई मात्रै जिम्मा दिएर हुँदैन । केन्द्रीय नेतृत्वले जिम्मा लिनुपर्छ । महाधिवेशन गर्ने जिम्मा केन्द्रीय समिति र केन्द्रीय नेतृत्वको हो । आमनिर्वाचन भन्दा पहिल्यै हाम्रो पार्टीको अधिवेशन हुन्छ,’ पौडेलले भनेका छन् ।

उनले आमनिर्वाचन भन्दा पहिल्यै पार्टीको महाधिवेशन हुने भएकाले अहिलेदेखि नै टिकट बाँड्दै नहिँड्न आग्रह गरेका छन् । ‘पार्टीको महाधिवेशन हुन्छ, निर्वाचन हुन्छ, नयाँ पदाधिकारी आउँछन् । यहाँ को-को हो ? अहिल्यै टिकट बाँड्दै हिँडिरहेका छन् अरे,’ पौडेलले अघि भने, ‘टिकट बाँड्न अरु नै आउँछन् । जुनियरहरु आउँछन् ।’

उनले संविधानमाथि आक्रमण गर्दा केपी ओलीलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइएको तर्फ ध्यानाकर्षण गराए । ‘संविधानमाथि आक्रमण गर्दा केपी ओलीलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइसकिएको छ । अनि हामीले त्यही संविधान नमान्दा हाम्रो के हालत हुन्छ ? कि हामीलाई कानुन नलाग्ने हो ? संविधानको व्यवस्थाबमोजिम पार्टीको महाधिवेशन यथाशीघ्र गर्नुपर्नेतर्फ संकेत गर्दै पौडेलले प्रश्न गरे ।उनले कांग्रेसलाई संकटबाट मुक्त गराउन र लोकतन्त्रलाई संकटबाट पार लगाउन सबै नेता कार्यकर्तालाई एकताबद्ध भएर, उच्च मनोवलका साथ अघि बढ्न आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !