८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

लाइसेन्स आवेदन खुलेको १० दिनमै साढे चार लाखले दिए आवेदन, विभागको साइटमा अझै समस्या



यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र ( लाइसेन्स) आवेदन खुलाएको १० दिनमै साढे चार लाख बढी सेवाग्राहीको आवेदन परेको छ ।

विभागले गत कार्तिक ९ गतेदेखि देशैभर अनलाइन आवेदन खुलाएको थियो । सोही दिनदेखि २२ गते बिहानसम्म चार लाख ४४ हजार जनाले अनलाइन आवेदन दिएका हुन ।

लाइसेन्स आवेदन खुलेपनि विभागको साइटमा पटक पटक समस्या आइरहेको छ । कम क्षमताको सर्भरका कारण एकैपटक लाखौंले आनलाइन आवेदन साइटमा छिर्न खोजेपनि अझैपनि विभागले साइटको सर्भरलाई अपग्रेड गर्न सकेको छैन ।

यातायात विभागका कम्प्युटर ईन्जिनियर सन्तोष पोखरेलले आवेदन खुलेको दिनदेखि झन्डै साढे चारलाख अनलाइन मार्फत नयाँ लाइसेन्सका लागि आवेदन परेको जानकारी दिए । ‘आवेदन खुलेको दुई दिनदेखि पुनः साइटमा समस्या आयो जसले गर्दा तीन दिन आवेदन लिन पाएनौं’ पोखरेलले मेरो लगानीसँग भने ‘अहिले धमाधम आवेदन लिइरहेका छौं ।’ 

उनका अनुसार अझैपनि एकैपटक धेरै सेवाग्राही पस्न खोज्दा स्लो हुने समस्या रहँदै आएको छ । पोखरेलले थपे ‘अनलाइन आवेदन सफ्टवयेर भारतीय कम्पनीको एक्सेसमा हुँदा चाहेर पनि समस्या आएको समयमै मर्मत तथा अपग्रेड गर्न नसक्ने अवस्था छ।’ 

अनलाइन प्रणाली सुरु गरेदेखि नै पूर्णरुपमा सेवा दिन नसकिरहेको विभागका कर्मचारी नै बताउदै आएका छन । आनलाइनसँगै यातायात कार्यालयमै गएर पनि लाइसेन्स आवेदन भर्नेको चाप उत्तिकै छ ।

हालसम्म विभागको अनलाइन आवेदन साइटमा १५ लाख जना सेवाग्राही एकैचोटी छिर्ने प्रयास गरेका थिए । सेवाग्राहीको चाप थेग्न नसकेपछि अनलाइन मात्रै नभई विभागका सबै साइट डाउन भएका थिए ।

साइटमा समस्याका बावजुतपनि नयाँ लाइसेन्सका लागी फारम भरेका सेवाग्राहीको प्रयोगात्मक परिक्षा ६ देखि १० महिनाको बीचमा आउने गरेको छ । त्यस्तै पुराना लिखित दिएर बसेका तथा प्रयोगात्मक परिक्षा दिनमात्रै बाँकी रहेका सेवाग्राहीको चाप पनि आधा मात्रै घटेको विभागको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !