१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

दसैं बिदामा घर गएका शिक्षक नफर्किएपछि वडा अध्यक्षले लगाइदिए विद्यालयमा ताला



उदयपुर, ४ मंसिर

कटारी नगरपालिका–१२ बसेरीस्थित जनमुखी माध्यामिक विद्यालयमा वडा अध्यक्षसहित अभिभावकहरूले गत आइतवार तालाबन्दी गरेका छन् । दसैं, तिहार बिदामा घर गएका शिक्षकहरू नफर्किएपछि उनीहरूले विद्यालयमा ताला लगाइदिएका हुन् ।

कोरोना महामारीका कारण लामो समय बन्द रहेको विद्यालय दसैंअघि एक साता खुलेको थियो । चाडबाड सकिएर विद्यालय खुलिसक्दा पनि शिक्षक कर्मचारी नआएपछि बाध्य भएर ताला लगाएको अभिभावकहरूले बताएका छन् । चालु शैक्षिकसत्र असारबाट सुरू भए पनि विद्यार्थीहरूले वैशाखयता पढ्न पाएका छैनन् । लामो बिदापछि बिद्यालय खुले पनि शिक्षक नआएपछि बाध्य भएर बिद्यालयमा ताला लगाएको कटारी नगरपालिका–१२ का वडाध्यक्ष चन्द्रदीप पौडेलले जानकारी दिए । २०१७ सालमा बसेरीमा स्थापना भएको जनमुखी माध्यामिक विद्यालयमा १२ कक्षासम्म पठनपाठन हुन्छ ।

दसैं तिहारको बिदापछि बिद्यालयका प्रधानअध्यापक तारणीप्रसाद चौधरीसहित नौ जना शिक्षक कर्मचारी आएका छैनन् । विद्यालयमा १६ जना शिक्षक कर्मचारी कार्यरत छन् । आधा भन्दा बढी शिक्षक नआएपछि बाध्य भएर तालाबन्दी गरेको वडाध्यक्ष पौडेलले बताए । विद्यालयमा अध्यायनरत विद्यार्थीको भविष्य बिग्रेएको भन्दै तालाबन्दी गरेको हो । विद्यालय सुधारका लागि बारम्बार छलफल गर्ने गरिएको र शैक्षिक गतिविधिलाई सुधार्न नगरपालिकासहित बसेर विभिन्न निर्णय गरे पनि प्रधानाध्यापक चौधरीले कार्यान्वयन नगरेको अभिभावकहरूको गुनासो छ । तालाबन्दीपछि विद्यालयमा अध्यायनरत करिब पाँच सय विद्यार्थी अन्योलमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस !


बालिका मृत्युकाे विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप, नाै जना सुरक्षाकर्मी घाइते



कपिलवस्तु, १४ मंसिर

सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नाै जना सुरक्षाकर्मी घाइते भएका छन् । यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवकाे मृत्यु भएकाे थियो ।

मृत्युको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हाे ।  स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेका थिए ।  झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलासकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बाल गोविन्द कुर्मी, अनिल थारु, राज कुमार तेली, विवेक खत्री र कमल थापा घाइते भएका छन् ।  

अश्रु ग्यास प्रहारपछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो । अहिले अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने



चितवन, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । 

कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ । 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताए । 

मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !

विद्यार्थीहरुलाई प्राथमिक उपचार तालिम सम्पन्न



रोट्रयाक्ट क्लब अफ धरान घोपाले कार्मेल स्कूल, बुद्ध चौक र दिल्ली पब्लिक स्कुल, घोपामा प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ ।

आफ्नो दीर्घकालीन परियोजना “पुनर्जीवन – जीवनको आशा” अन्तगर्त विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्राथमिक उपचार र यसको तरिकाहरु बारे सचेत गरिएको थियो ।

यसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई रक्तश्राव, इपिस्टासिस(नाकबाट रगत बग्ने), फ्र्याक्चर, स्प्लिन्ट, कुकुरको टोकाइ र सर्पको टोकाइ जस्ता विपत्तिको बेला चाल्नु पर्ने कदम र लिनु पर्ने सावधानी बारे सचेत बनाउनु रहेको थियो ।

यस कार्यक्रम विद्यालय क्षेत्रमा करिब बिहान ११ बजेबाट विद्यार्थी, शिक्षक र क्लबका केही सदस्यहरू सहित १५० सहभागीहरूको उपस्थिति सहित सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: