१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

मदिरामा अन्तःशुल्क वृद्धि नगर्न व्यवसायीको माग



बुटवल, ४ मंसिर

मदिरामा सरकारले अन्तःशुल्क वृद्धि गर्दा विदेशबाट मदिरा आयात बढेको व्यवसायीले गुनासो गरेका छन् ।

अन्तःशुल्कमा हुने वृद्धिले नेपालमा महँगो भई विदेशी मदिराको आयात बढेको व्यवसायीले बताएका छन् । मदिरा व्यवसायी संघ रुपन्देहीको सातौं अधिवेशन तथा १३औं साधारणसभामा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले मदिरा व्यवसायीलाई सरकारले पक्षपातपूर्ण व्यवहार गरेको गुनासो गरे ।

राज्यलाई कूल राजस्वको २५ प्रतिशत हाराहारी कर तिर्ने मदिरा व्यवसायलाई सरकारले कुनै सुविधा नदिएको उनले बताए । ‘विदेशी मदिरा आयात बढ्नुमा नेपाली मदिरा महँगो हुनु हो । सरकारले अन्तःशुल्क बढाउँदा विदेशी मदिरासँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको छ’, उनले भने ।

व्यवसायीहरूले अवैध घरेलु मदिराको कारोबारले मानव स्वास्थ्यमाथि खेलबाड र राज्यको कर गुमेको बताउँदै नियन्त्रण गर्न माग गरे । यस्तै कर प्रशासनले पनि व्यवसायीलाई दुःख दिने गरेको व्यवसायीको गुनासो छ ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत उद्धव अधिकारी, महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु श्रेष्ठ, महासचिव तारा ढुंगाना, महासंघका सल्लाहकार खिमबहादुर खत्री, दिनेश प्रसाद श्रेष्ठ, नेपाल व्यापार कर्मचारी संघका अध्यक्ष प्रितम गिरी, संघका जिल्ला अध्यक्ष शम्भु भट्टराई, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष ठाकुर श्रेष्ठलगायतले व्यवसायीका समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका थिए ।

कार्यक्रममा उत्कृष्ट कार्यसमिति सदस्य, नगर संयोजकहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष कृष्ण गौतम, महासचिव हिमालय भुसाल लगायतले बोलेका थिए । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !


एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने



चितवन, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । 

कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ । 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताए । 

मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !

एमालेको प्रथम विधान र १०औँ महाधिवेशनमा १३ करोड ७१ लाख खर्च, कुनमा कति ?



चितवन, १४ मंसिर 

चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्चको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लिम्बँदा नौ करोड खर्च हुन पुगेको उनले बताए । 

‘दुई दिन महाधिवेशन लम्बिनी अप्रत्यासित नै भयो । यसले अलि बढी खर्च भयो । महाधिवेशन लम्बिँदा खान बस्ने एक करोड ५० लाख खर्च भयो’, महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै तामाङले भने, ‘जम्मा सात करोड ५० लाखको बजेट बनाएका थियौँ । तर, दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना छ । सबै बिलहरू आइसकेपछि थाहा हुन्छ ।’ 

उनका अनुसार ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस !

६७६ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, ९६ प्रतिशत जडान सम्पन्न



मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्‍याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले ६७६ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरेको छ ।

प्राधिकरणका अनुसार गत कात्तिक मसान्तसम्म ६७६ स्थानीय निकायको कार्यालयमा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार ५ हजार ६५३ वडा कार्यालय, ५ हजार ३ माध्यामिक विद्यालय र ४ हजार १७ स्वास्थ्य संस्थामा इन्टनरेट जडान भएको छ ।

प्राधिकरणले देशका ७०२ स्थानिय तहमा इन्टरनेट सेवा पुर्‍याउन १८ प्याकेजमा विभिन्न इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेको थियो । जस अनुसार अब २६ वटा स्थानीय तहमा मात्रै इन्टरनेट पुर्‍याउन बाँकी रहेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ‌ओटा प्याकेजमध्ये १६ ओटा प्याकेजहरु मार्फत् ६५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सकिएको छ ।

यस्तै १ ओटा प्याकेज मार्फत् ५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा ५० प्रतिशतभन्दा बढी काम सकिएर सेवा सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

साथै ४ प्याकेज मार्फत् ४ जिल्लामा तोकिए बमोजिमका स्थानहरुमा ३० प्रतिशतभन्दा बढी काम सकिएर सेवा सञ्चालनमा आएको छ । ब्रोडब्याण्ड इन्टरनेट जडानको काम ९६.०४ प्रतिशत सकिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: