१९ मंसिर २०७८, आईतवार
 |   Sun Dec 5 2021
Logo

महानगरको विकासका लागि मन्त्रालयको ध्यानाकर्षण गराउँदै प्रचण्ड



चितवन, ६ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रममा उहाँले यहाँका महत्वपूर्ण विकासका आयोजनालाई सम्पन्न गर्न सहभागी मन्त्री, सचिव र विभागका महानिर्देशकको ध्यानाकर्षण गराउनुभएको हो ।

महानगरको आधाभन्दा बढी भूभाग अध्यक्ष दाहालको निर्वाचन क्षेत्रमा पर्दछ । कार्यक्रममा उहाँले ८÷१० वर्षभित्र विकासमा भरतपुर महानगर र चितवनले क्रान्ती ल्याउने बताउनुभयो । यसलाई देशव्यापीरुपमा बिस्तार गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । नारायणी नदी तटबन्धन गरेर हजारौँ बिघा जमिन संरक्षण गर्न सकिने भन्दै उहाँले यसबाट सुन्दर नगर बनाउन सहयोग पुग्ने बताउनुभयो ।

भरतपुर महानगरमा भएको विमानस्थल बिस्तारको काम अघि बढेको, नारायणी नदीमा सिग्नेचर पुलको काम अघि बढाइएको, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा, निस्सा र स्थानान्तरणको प्रक्रिया अघि बढेको, रिङरोड र लिङ्क रोडको काम अघि वढेको भन्दै देशकै नमूनाका रुपमा भरतपुरमा विकास गति लिएको उहाँको भनाइ थियो ।

आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन र सहयोगका लागि उहाँले उपस्थित मन्त्री, सचिव र महानिर्देशकसँग अनुरोध गर्नुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई किसानसँग जोडेर काम गर्न उहाँले सुझाव दिनुभयो ।

देशभरिका जनताको ध्यान चितवनतर्फ आकर्षण भएको भन्दै उहाँले यसका पछि धेरै कारण रहेका छन् भन्नुभयो । उहाँले भन्नुभयो, “यसभित्र केही लुकेको छ । मलाई थप जिम्मेवारी बढाएको छ ।” फरक प्रसङ्गमा उहाँले वामपन्थी एकताका लागि ठूलो सपना देखेको भए पनि त्यो पूरा गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो देखेको सपना विल्कुल गलत होइन । तोड्नका लागि भित्र र बाहिरी जुनजुन शक्ति लागे बुझ्न जरुरी छ ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भरतपुर महानगरको विकास नमूना योग्य रहेको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । उहाँले नारायणी नदी तटबन्धनका लागि तीन वर्षमा रु पाँच अर्ब बराबरको काम गर्ने गरी प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो ।

यसबाट चितवनतर्फ १७ किलोमिटर र नवलपरासीतर्फ १८ किलोमिटर तटबन्धन हुने बताउनुभयो । यसै वर्षबाट काम थाल्ने भन्दै उहाँले सुस्ता र गण्डकसम्म नारायणी नदी तटबन्धन गर्न रु २३ अर्ब खर्च लाग्ने र यसलाई बहुवर्षीय आयोजनाका रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नारायणी नदी तटबन्ध गरेर सयौँ बिघा जमिन व्यवस्थापन गर्न सकिन्छ ।” उहाँले संरक्षण गरिएको जमिन उपयोग गरेर गरिबीका रेखामुनि रहेकालाई उपयोग गर्न दिन सकिने बताउनुभयो । उहाँले थप्नुभयो, “यसरी गरिबमुक्त महानगर घोषणा गर्न अपिल गर्छु ।”

माडी क्षेत्रका नदी तटबन्धका लागि रु २० करोड स्वीकृत भई कार्यान्वयनको चरणमा अघि बढेको उहाँको भनाइ थियो । जहाँ खेतीयोग्य जमिन त्यहाँ सिँचाइ अभियानका साथ काम अघि बढेको मन्त्री भुसालले बताउनुभयो । माडीमा विद्युत नपुगेका ठाउँमा विद्युतीकरण र भरतपुर महानगरमा भूमिगत तार बिछ्याउनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।

अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरका महत्वपूर्ण आयोजना सम्पन्न गर्न आवश्यक बजेटका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । क्रिकेट रङ्गशाला सम्पन्न गर्न आबश्यक सहयोगका लागि आफू तयार रहेको उहाँको भनाइ थियो । जग्गा खोजी गरेमा भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि आवश्यक सहयोग मन्त्रालयबाट हुने उहाँले बताउनुभयो । आफू गठबन्धनको सरकारको मन्त्री रहेकाले गठबन्धन पार्टी र जनताको हितविपरीत काम नगर्ने उहाँले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रको विकासका लागि कर्मचारीलाई खर्चसहितको बिदा दिने कार्यक्रमलाई कार्यान्वयनमा ल्याइने बताउनुभयो । भरतपुर विमानस्थल बिस्तारका लागि मन्त्रालय सकारात्मक रहेकाले काम हुने भन्दै सहयोगका लागि अर्थ मन्त्रालयसँग अनुरोध गर्नुभयो । अबका दिनमा धेरै गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “गठबन्धनको नेतृत्व गरेकाले शिर कत्ति ननिहुरने गरी काम गर्छु ।”

राज्यमन्त्री उमेश श्रेष्ठले समृद्धिका लागि धेरै सम्भावना रहेको बताउँदै सोच, नीति र ऐन समयअनुसार परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । उहाँले भरतपुरको विकासका लागि आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतले बोल्नुभएको थियो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरको विकास, अवस्था र अपेक्षा प्रस्तुत गर्दै आफू आएपछि महानगरमा भएका विकासका कामको जानकारी दिनुभएको थियो । कार्यक्रममा सम्बद्ध महानगरका लागि विज्ञसँग सुझाव लिइएको थियो ।


प्रतिक्रिया दिनुहोस !


माओवादी केन्द्रको राष्ट्रिय भेलाः गुरुङको भागमा विधान, हितमानलाई व्यवस्थापनको जिम्मा



काठमाडौं, १९ मंसिर

नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । 

स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार माओवादीको विधान परिमार्जन गर्ने जिम्मा स्थायी कमिटी सदस्य देव गुरुङले पाएका छन् । उनको संयोजकत्वमा गठन भएको विधान परिमार्जन समितिले पार्टीको आगामी विधानको परिमार्जित मस्यौदा राष्ट्रिय सम्मेलनमा पेस गर्नेछ । 

त्यसैगरी काठमाडौंमा हुने सम्मेलनको मूल व्यवस्थापनको जिम्मा हितमान शाक्य नेतृत्वको सात सदस्यीय कमिटीले पाएको छ । 

सम्मेलनको प्रचारको काम भने प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वमा गठित उपसमितिले गर्नेछ । 

सर्कुलरअनुसार सम्मेलनमा सहभागी हुने प्रतिनिधकिो छनोट मंसिर मसान्तसम्ममा सक्नुपर्नेछ । सम्मेलनमा सहभागी कुल सदस्यको ५ प्रतिशत प्रतिनिधि केन्द्रले मनोनयन गर्ने परिपत्रमा उल्लेख छ । हरेक प्रदेशवाट ३० जनाका दरले र एक हजार पाँच सय संगठित सदस्य बराबर एकजनाले सम्मेलनमा भाग लिन पाउनेछन् । 

प्रदेशबाट प्रतिनिधित्व गर्ने ३० मध्ये एकजना अपांगता भएका र सशस्त्र विद्रोहमा घाइते भएकाहरू अनिवार्य समेटिनुपर्ने परिपत्रमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस !

पराजित कमल थापाले भने- ‘पुरस्कार पाएँ, राजाको भलो होस्



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएको कमल थापाले विजयी राजेन्द्र लिङ्देनलाई बधाइ दिनु भएको छ । थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनुभएको छ । यद्यपि, उहाँले पराजयलाई सहर्ष स्वीकार गर्ने बताउनुभएको छ ।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना’, उहाँले भन्नुभएको छ, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’

थापाले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गनुभएको छ । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि उहाँको आरोप छ ।

उहाँले लेख्नुभएको छ– ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’

प्रतिक्रिया दिनुहोस !

नेपाली काँग्रेस प्रदेश- २ को अधिवेशन स्थगित, नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने



काठमाडौ । नेपाली कांग्रेसको प्रदेश- २ को अधिवेशन उद्घाटनपछि स्थगित भएको छ । प्रदेश २ का धनुषाबाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको निर्वाचन समितिले बताए ।अब प्रदेश- २ को नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने बताइएको छ। प्रदेश अधिवेशनको उद्घाटन भएको तीन दिन बितिसक्दा पनि मनोनय दर्तालगायत चुनावी प्रक्रिया अगाडि बढेको छैन।

यता प्रदेश सभापतिलगायत पदहरूमा आकांक्षीहरूले औपचारिक रुपमा उम्मेदवारीसमेत घोषणा गरिसकेका छन्।प्रदेशका ८ जिल्लाका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अविधेशन स्थगित भएको निर्वाचन समितिले बताए।सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ ९ख०, सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन सकेका छैनन्।

सर्लाहीमा त अहिलेसम्म वडा अधिवेशनसमेत हुन सकेको छैन। निर्वाचन समितिकाअनुसार सर्लाही जिल्लामा अधिवेशनको प्रक्रियामा झमेला देखिएको छ।जिल्लाका निर्वाचन समितिहरूबाट प्राप्त हुनुपर्ने मतदाता नामावली साँझसम्म उपलब्ध नभएकाले पूर्वघोषित निर्वाचन तालिकाअनुसार शनिबार पनि मतदाता नामावली प्रकाशन हुन सकेन।

मतदाता नामावली नै प्रकाशन हुन नसकेको कारण आइतबार हुने भनिएको मनोनयन पत्र दाखिला पनि स्थगित भएको छ। रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनोटको काम सम्पन्न भइसकेको बताइए पनि निर्वाचन समितिमा नामावली प्राप्त हुन सकेन।” श्रोतका अनुसार प्रदेशको नेतृत्व चयनको प्रक्रिया अब महाधिवेशनपछि मात्र हुनेछ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: