१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

पाइलटको ‘ड्युटी आवर’ सकिँदा चौरजहारी जानुपर्ने विमान नेपालगञ्जमा अवतरण, यात्रु मारमा



काठमाडौबाट रुकुमको चौरजहारी विमानस्थलमा उडेको नेपाल एयरलाइन्सको टि्वनअर्टर जहाज सोमबार साँझ नेपालगन्जमा ‘नाइट स्टप’ गरेको छ । पाइलटको तोकिएको ‘ड्यूटी आवर’ सकिएपछि विमान नेपालगञ्जमै रोकिएको थियो । यसप्रति यात्रुहरूले असन्तुष्टि पोखेका छन् ।

किन यसो भयो त ? नेवानिका एक अधिकारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने भनि निश्चित समयावधि तोकेको छ । त्यो समयावधि भन्दा बढी समय पाइलटले जहाज उडाएमा एयरलाइन्स र पाइलट दुबैलाई नियामक निकायले कारवाही गर्छन् ।

यसै बाध्यताका कारण सोमबार नेपालगन्जबाट चौरजहारी उडेको जहाजले नेपालगन्जमा नाइटस्टप गरेको ती अधिकारीले जानकारी दिए । ‘ड्यूटी आवरको सीमा मिच्न पाइन्न, त्यसैले जहाज नेपालगन्जमा अवतरण गरिएको हो,’ उनले भने ।

उनका अनुसार चौरजहारीको मौसम खराब भएको रिर्पोट आएपछि जहाजलाई नेपालगञ्जमै अवतरण गरिएको हो । चौरजहारी पुगेर अवतरण गर्न नसकेको भए पाइलटको ड्यूटी आवर क्रस हुने अवस्था थियो ।

त्रिभुवन विमानस्थलबाट सोमबार साँझ उडेको जहाजले मंगलबार बिहानैबाट नेपालगन्जलाई आधार बनाएर उडान गर्दा यस्तो अवस्था आएको ती अधिकारीले बताए । आन्तरिक उडानमा नेवानिसँग दुई वटा मात्र ट्वीनअटर जहाज छन् ।


प्रतिक्रिया दिनुहोस !


राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ



काठमाडौं, १४ मंसिर 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

घिसिङलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गरेको थियो । शपथ ग्रहणपछि सदस्य सचिव घिसिङले संविधान र खेलकुद विकास ऐन २०७८ अनुरुप काम गर्ने बताए ।

आज नै उनले पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस !

बालिका मृत्युकाे विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप, नाै जना सुरक्षाकर्मी घाइते



कपिलवस्तु, १४ मंसिर

सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नाै जना सुरक्षाकर्मी घाइते भएका छन् । यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवकाे मृत्यु भएकाे थियो ।

मृत्युको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हाे ।  स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेका थिए ।  झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलासकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बाल गोविन्द कुर्मी, अनिल थारु, राज कुमार तेली, विवेक खत्री र कमल थापा घाइते भएका छन् ।  

अश्रु ग्यास प्रहारपछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो । अहिले अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने



चितवन, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । 

कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ । 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताए । 

मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: