१६ मंसिर २०७८, बिहीबार
 |   Thu Dec 2 2021
Logo

एमाले महाधिवेशन : यसरी गरिने छ सुरक्षा व्यवस्थापन



नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रवन्धलाई चुस्त पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ ।

नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनको सुरक्षा व्यवस्था कडा पारिएको हो । जिल्लामा विद्यमान जनशक्ति अपर्याप्त हुने जनाउँदै थप सुरक्षाकर्मी माग गरिएको दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख बताउँछन् । ती दुई जिल्लाको सुरक्षाकर्मीबीच समन्वय भएर सुरक्षा तयारीको काम भइरहेको छ ।

महाधिवेशनका लागि नवलपुरको गैँडाकोटमा मात्रै नेपाल प्रहरीको १०० , चितवनतर्फ ८०० सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ४५० र राष्ट्रिय अनुसन्धानका ९० सुरक्षाकर्मी परिचालन हुँदैछन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले महाधिवेशनलाई लक्षित गर्दै थप जनशक्ति प्रदेश प्रहरी कार्यालय पोखरासँग माग गरिएको जानकारी दिनुभयो । “हामीले थप सुरक्षाकर्मी प्रदेशसँग माग गरिसकेका छौँ” उहाँले भन्नुभयो, “बुधबार बिहानसम्म थप सुरक्षाकर्मी जिल्लामा आइपुग्छन् ।”

नवलपुरभन्दा पश्चिमबाट महाविधेशनमा सहभागी हुन आउने सवारी साधनलाई गैँडाकोटमा रोकिने जनाउँदै उहाँले नदी किनारसहितका स्थानलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने बताउनुभयो । नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेकाले बाटोमा जाम हुनसक्ने जनाउँदै यसका लागि समेत ट्राफिक प्रहरी परिचालन गरिने उहाँले बताउनुभयो । “हामीले नवलपरासी पश्चिम र रुपन्देहीको प्रहरीसँग समन्वय गरेर काम गरिरहेका छौँ” प्रउमल्लले भन्नुभयो, “मङ्सिर ९ गते रातिबाट नै हामीले पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डमा मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने गरी काम गरिरहेका छौँ ।”

महाधिवेशन उद्घाटन र बन्दसत्र स्थानमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिनुभयो । एमालेका पदाधिकारीसँग बसेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनबारे छलफल भएको जनाउँदै उहाँले जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट विशेष योजना बनाएर काम भइरहेको बताउनुभयो । जिल्लाका विभिन्न १३ स्थानमा सवारीसाधन पार्किङस्थल निर्माण गरिएको जनाउँदै प्रजिअतामाङले महाधिवेशन उद्घाटनका दिन मङ्सिर १० गते बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट पश्चिमतर्फ महाधिवेशन उद्घाटनस्थल नारायणगढसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने बताउनुभयो ।

“ महाधिवेशनका लागि प्रहरी नायब महानिरीक्षक (डिआईजी)को नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालन हुँदैछ” प्रजिअतामाङले भन्नुभयो, “महाधिवेशनस्थलसहित जिल्लामा आउने भिआईपी, भिभिआईपी र विदेशी डेलिगेट्सको सुरक्षामा केन्द्रित हुनेगरी सुरक्षा योजना बनेको छ ।” मङ्सिर १० गते नारायणी नदी किनारमा महाविधेशन उद्घाटन पश्चात् सोही दिन रातिदेखि नै सुरक्षा व्यवस्थालाई सौराहा केन्द्रित पारिने उहाँले बताउनुभयो ।

“महाधिवेशनमा आउने प्रतिनिधिसहित भिआईपी, प्रतिनिधि र विदेशी डेलिगेट्स बन्दसत्र हुने होटलमा बस्ने भएकाले सोहीअनुसार सुरक्षा योजना बनाएका छौँ” उहाँले भन्नुभयो, “सुरक्षा घेरा साँघुरो हुने भएकाले हामीलाई व्यवस्थापन गर्न सहज हुनेछ ।”

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको महाधिवेशन केन्द्रीत एकीकृत सुरक्षा योजना तयार भएको जानकारी दिनुभयो । जिल्लामा भएका भन्दा थप ६५० प्रहरी चितवनमा परिचालन गर्नेगरी प्रदेशसँग माग गरिएको उहाँले बताउनुभयो । “महाधिवेशन केन्द्रित गरी नेपाल प्रहरीको आठ सय भन्दा बढी जनशक्ति परिचालन गर्दैछौँ” प्रमुख अधिकारीले भन्नुभयो, “थप जनशक्ति नेपाल प्रहरी शिक्षालय भरतपुर, दङ्गा नियन्त्रण गण हेटौँडा र प्रदेश प्रहरी कार्यालयबाट आउनेछ ।”
त्यस्तै सशस्त्र प्रहरीको ४५० भन्दा बढी जनशक्ति परिचालन हुने १७ नम्बर गण आँपटारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापाले जानकारी दिनुभयो । १७ नम्बर गण र मातहतमा रहेका जनशक्तिको अवला बाहिनीमार्फत थप २५० सुरक्षाकर्मी महाधिवेशनका लागि परिचालन गर्ने तयारी भइरहेको थापाले बताउनुभयो । सशस्त्र प्रहरीले उद्घाटन सत्र र बन्दसत्र हुनेस्थलको बाहिरी सुरक्षा हेर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी जिल्लाको सुरक्षाअवस्थाबारे जानकारी लिनका लागि राष्ट्रिय अनुसन्धान विभाग चितवनले ९० जनशक्ति परिचालन गरेको विभागका उपअनुसन्धान निर्देशक शेरजङ्ग चन्दले बताउनुभयो । जिल्लामा रहेका ५० राष्ट्रिय अनुसन्धानका कर्मचारीसहित थप ४० कर्मचारी परिचालन गरेर जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिने काम भइरेको उहाँको भनाइ छ ।

“महाधिवेशनमा पाँच लाख जनसहभागिता हुने भनिरहँदा सुरक्षा संवेदनशीलता पक्कै रहन्छ” उपअनुसन्धान निर्देशक चन्दले भन्नुभयो, “केही स्थानको सेक्यु्रिटी थ्रेटबारे हामीले सुरक्षा समितिमा जानकारी गराएका छौँ ।” विभागले समग्र सुरक्षा व्यवस्थाबारे जानकारी लिने र सुरक्षा समितिमा जानकारी गराउने उहाँको भनाइ छ । विभागले महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनार र बन्दसत्र स्थल सौराहा केन्द्रित गरेर जनशक्ति परिचालन गरेको छ ।

आसन्न महाविधेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुनेछ भने ११ र १२ गते सौराहाको सेभेन स्टारमा बन्दसत्र हुनेछ ।


प्रतिक्रिया दिनुहोस !


शशांकले भने- कांग्रेस कसैसँग गठबन्धन गर्दैन, पौडेल भन्छन- एकलकाटे हुनुहुँदैन



पोखरा, १६ मंसिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धनको संकेत गरेका छन् । पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उनले नयाँ संविधानपछि कसैले पनि बहुमत ल्याउने अवस्था नभएकोले मन मिल्नेहरूसँग गठबन्धन आवश्यक रहेको बताए ।

‘कम्युनिष्ट पार्टीमा एकथरी पृथक अस्थित्व बनाएर बसेका छन् । केपी ओलीहरू एकातिर छन् । परिस्थितिले उनीहरू फेरि एकैतिर खनिने अवस्था भए कस्तो होला ? अहिले मैले सम्झाउन जरुरी छ । हामी एकोरिँदै गयौं भने गएकै चुनावको ठाउँमा पुगौंला,’ उनले भने, ‘गएको चुनावमा के भयो ? सबै एकातिर हामी अर्काेतिर । परिणाम के भयो ? अहिलेको अहिले नै बिर्सने ?’

उनले कसैले एकल बहुमत ल्याउन नसक्ने बताए । ‘अहिले जे संविधान बनाएका छौं, यो संविधानले समावेशी व्यवस्था ल्याएका छौं । सितिमिती कुनै पार्टीको एब्सुलुट मेजोरिटी आउँदैन । पूरा बहुमत ल्याएर कसैले सरकार चलाउन धेरै कठिन छ । अरूसँग नमिलिकन सम्भव छैन,’ उनी अघि भन्छन्, ‘जसरी शेरबहादुरजी अहिले प्रधानमन्त्री बन्नुभएको छ, उहाँ एक्लै कांग्रेसको मात्र हो र ? यो कुरालाई ध्यान दिनुहोस् । भोलिको चुनावमा पनि कांग्रेसलाई एक्ल्याउने कुरा नगरम । कांग्रेसलाई आईसोलेसनमा पुर्‍याउने कुरा नगरौं ।’

यसअघि बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस आगामी चुनावमा कसैसँग नमिल्ने बताएका थिए । ‘आउँदो निर्वाचनमा तिक्तता नहोस् । कांग्रेसले कसैसँग मिल्नु हुँदैन । कसैसँग नमिलेर हामी एक्लै हिड्नुपर्छ । र हामी विजय हासिल गर्छौं । त्यो अठोट हामीसँग हुनुपर्छ,’ उनले भने ।

कोइरालाले पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तासँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

गण्डकी कांग्रेसमा विवाद : बोल्न नपाएको निहुँमा नाराबाजी, मनोनयन शुल्क घटाउन माग



पोखरा, १६ मंसिर

गण्डकी प्रदेशको जारी अधिवेशनअन्तर्गत बिहीबार उद्घाटन सभामै नाराबाजी भएको छ । आफ्नो पक्षका उम्मेद्वार आकांक्षीलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सभापति पदका उम्मेद्वार अर्जुन जोशी बोलेपछि संस्थापनइतरका आकांक्षीले आफुहरू पनि बोल्न पाउनुपर्ने माग राखे ।

यहाँ संस्थापनबाट जोशी निर्विकल्प उम्मेद्वार बनेका छन् भने इतर पक्षले उम्मेद्वार टुंग्याउन सकेको छैन । कास्कीबाट शुक्रराज शर्मा, देवराज चालिसे र यज्ञबहादुर थापा आकांक्षी छन् । विवादपछि तीनै जनालाई बोल्न दिइएको छ । कांग्रेस कास्कीका सचिव भानु ढकालको नेतृत्वमा असन्तुष्टहरूले नाराबाजी गरेका हुन् ।

यसैबीच, संस्थापनइतरका नेताहरूले उम्मेद्वारी शुल्क अत्यधिक चर्को भएको भन्दै घटाउन माग गरे । नेता महादेव गुरुङले यो शुल्क तिरेर कोही पनि उम्मेद्वार बन्न नसक्ने बताए । गण्डकी कांग्रेसको सभापति उम्मेद्वार बन्न ९१ हजार शुल्क छ । उपसभापतिमा ६१, महामन्त्रीमा ५१, सहमहामन्त्रीमा ४१ र सदस्यको नाम दर्ता गराउन ३१ हजार तोकिएको छ । यस्तै, प्रवेश शुल्कका लागि २ हजार ५ सय छ ।

कार्यक्रम स्थलमै विरोध भएपछि केन्द्रीय निर्वाचन कमिटीले तोकेकै मूल्य कायम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

कांग्रेस महाधिवेशन : नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन नेता सिंहको आग्रह



हेटौँडा, १६ मंसिर

नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पार्टीको नेतृत्व चयन गर्दा ध्यान पु¥याउन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

हेटौडामा भएको कांग्रेस बाग्मती प्रदेश अधिवेशनको उद्घाटन गर्दै बिहीबार नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पु¥याउन आग्रह गरे ।

‘नेतृत्व चयन गर्दा ध्यान नदिने अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ उनले भने, ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ । नेतृत्व चयन गर्दा तपाईंहरूले ध्यान दिनु पर्दछ ।’

कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताएउँदै उनले भने, ‘संविधान जारी गरी जनतामा जाँदा दुई तिहाइ त कांग्रेसले पाउनुपर्ने हो । तर, कम्युनिष्टहरूले प्राप्त गरे।’

संविधान जारी गरेको कांग्रेसले यसको संस्थागत तथा लागू गर्ने जिम्मेवारी पनि कांग्रेसमा नै रहेको नेता सिंहको भनाइ छ ।

समयमा नै ख्याल नगरे लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको बताउँदै उनले कम्युनिटहरूले प्राप्त उपलब्धीहरू नष्ट गर्न लागि परेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: