१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

‘ए’ डिभिजन लिग पहिलो चरणः आर्मीलाई धक्का, थ्रीस्टारको रवाफ



Photo : ANFA

काठमाडौं, ७ मंसिर

कोरोना महामारी र त्यसपछि उब्जिएका विभिन्न प्रश्नका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरणको खेल सकिएको छ ।

सोमबार साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीचको खेल सकिएसँगै पहिलो चरणको खेल समाप्त भएको हो । शुक्रबार (३ मंसिर) बाट सुरु भएको लिगको पहिलो चरणमा ७ खेल भए ।

पहिलो चरणको खेल सकिँदा साविक विजेता मछिन्द्र फुटबल क्लब, कीर्तिमानी आठौं पटकको लिग विजेता मनाङ मर्स्याङ्दी क्लब, तीन पटकको लिगविजेता थ्रीस्टार क्लब र ब्रिगेड ब्वाइज क्लबले शतप्रतिशत जित निकाल्दै महत्वपूर्ण ३ अंक जोडे ।

साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लबले बराबर खेल्दै हार टारे भने एक अंक हासिल गरे ।

विभागीय एपीएफ फुटबल क्लब, न्युरोड टिम एनआरटी, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब भने पराजित भए ।

लिगको उद्घाटन खेलमा फ्रेन्ड्स र सातदोबाटोले गोलरहित बराबरी खेले । दोस्रो खेलमा संकटा र हिमालयन शेर्पाले १-१ गोलको बराबरी खेल्दा तेस्रो खेलमा च्यासल युथ क्लबलाई थ्रीस्टार क्लबले ३-० ले पराजित गर्‍याे ।

लिगको तेस्रो दिन तथा चौथो खेल रोमाञ्चक बन्दा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्‍याे । पाँचौ खेलमा कीर्तिमानी आठौं पटकको विजेता मनाङले जावलाखेलसँग १-० कठिन जित पायो । पहिलो चरणको छैटौं तथा विभागीय डर्बीको खेलमा साविक विजेता आर्मी नेपाल पुलिससँग १–१ गोलको बराबरीमा रोकियो । यस्तै अन्तिम खेलमा साविक विजता मछिन्द्रले प्रतिस्पर्धात्मक खेलमा न्युरोड टिम एनआरटीविरुद्ध २–१ को कठिन जित पायो ।

अघिल्लो बर्ष (२०७६साल) मा अन्तिम खेलमा लिग जित्न एक अंक आवश्यक्ता रहेको समय मछिन्द्रलाई १–० ले नतिजा सुम्पिएको आर्मीले यस सिजन भने सुरुवाती खेलमै धक्का ब्यहोर्याे । लिग जित्ने दाबी सहित प्रतियोगितामा होमिएको आर्मी सुरुआती खेलमै विभागीय प्रतिद्वन्दी नेपाल पुलिससँग १–१ गोलको बराबरीमा रोकियो ।

सुरुवातबाट आक्रमक खेल खेलेको आर्मी नेपाल पुलिसको डिफेन्स लाईन भने चिर्न सकेन । पहिलो हाफमा पुलिसका खेलाडीले आर्मीको आक्रमणलाई रोक्न सफल भए । दोस्रो हाफमा दबाबकै बीच पुलिसले ‘सेट पिस’ मा गोल गर्याे । राष्ट्रिय टोलीका सदस्य तेज तामाङले प्रहार गरेको फ्रिकिकमा रक्षक सन्तोष हेमरुङले खेलको ५१ मिनेटमा हेडिङ गोल गरे । जससँगै दबाबकाबीच पुलिसले १–० को अग्रता बनायो ।

आर्मीले गोल खाएपछि दुई खेलाडी परिवर्तन गर्याे । बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका बिवेक बस्नेतले खेलको ६१ मिनेटमा डिफेन्समा पुलिसका खेलाडीले गरेको गल्तीको फाइदा उठाउँदै उत्कृष्ट गोल गरे । उनले मैदान प्रवेश गरेको तिन मिनेटमा गोल गरेका थिए ।

यस नतिजासँगै आर्मीलाई उपाधि यात्रामा केहि कठिनाई पक्कै हुनेछ । लिग जित्ने दाबी गरेको आर्मी पहिलो खेलमै रोकिन पुग्यो । आर्मीले यस बराबरीलाई लिएर नराम्रो भने पक्कै महशुस गरेको छैन । समग्रमा विभागीय प्रतिद्वन्दी बलियो भएकाले आर्मीले आगामी खेलमा आफ्नो अग्रपंक्तिमा सुधार गर्दै तिन अंकका लागि खेल्ने बताएको छ ।

यद्यपि लिग जित्न १३ मध्ये कम्तिमा ९ खेल जित्नुपर्ने हुँदा यस्ता बराबरीले भने टोलीको उपाधि यात्रामा निकै कठिनाइ पक्कै हुनेछ ।

यता, पहिलो चरणमा थ्रीस्टारले प्रभावशाली प्रदर्शन गर्याे । ललितपुर डर्बीमा थ्रीस्टारले बलियो च्यासलविरुद्ध ३–० को सहज जित निकाल्यो । च्यासलविरुद्ध थ्रीस्टारले तिनै गोल ‘सेट पिस’ मा गर्न सफल भएको थियो । जुन तिनै गोल डिफेण्डरबाट सम्भव भएको थियो ।

थ्रीस्टारले आफ्नो बक्स, डिफेन्स लाइन, मिड लाइन र आक्रमणमा मजबुद प्रदर्शन गर्दै रवाफिलो जित पायो । थ्रीस्टारको यस प्रदर्शनले लिगमा अन्य टोलीका लागि टाउको दुखाइको बिषय बन्ने निश्चित छ ।

अन्य खेलमा भने त्यस्ता कुनै पनि आश्चर्यजनक नतिजा भने आएन । लिगमा ठुला टोलीले साना देखिएका टोलीलाई पराजित गरेका छन् । यता, लिगमा बलियो देखिएका मछिन्द्र र मनाङले भने आफ्नो मजुबद आक्रमणबाट भने त्यति सन्तुष्टि पाउन सकेन ।

सिंगल राउण्ड रोबिनको आधारमा जारी लिगमा जम्मा ९१ खेल आयोजना हुनेछन् । प्रत्येक टोलीले १३ खेल खेल्दा एक टोली विजेता हुनेछ । प्रतियोगिताको विजेताले ७५ लाख, उपविजेताले ५० र तेस्रो हुने टोलीले २५ लाख पुरस्कार पाउँदा अन्य बरियताका क्लबले भने कुनै पुरस्कार पाउने छैनन् ।

लिगको प्रत्येक खेलको विजेताले ५० हजार पाउँदा अंक बाढ्ने टोलीले समान २५ हजार पाउनेछन् । खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछ ।

एन्फाले पहिलो पटक लिगलाई ‘फ्लड लाईट’ मा खेलाएको छ । एक खेल दिउसो हुँदा अर्काे खेल साझ हुँदै आएको छ ।

विगतका दिनमा लिगमा दर्शकको अनुपस्थित हुँदा यस पटक भने पहिलो चरणमै तुलानात्मक रुपमा दर्शकको बाक्लो उपस्थिती रहेको छ । साझका खेलमा झनै प्रतिस्पर्धा बढ्दा आगामी दिनमा झनै दर्शकको बाक्लो उपस्थिती हुने अनुमान गर्न सकिन्छ । यस पटक एन्फाले दर्शक तान्नकै लागि टिकट दर समेत सस्ताउँदै १ सय र ५ सय तोकेको छ ।

पहिलो चरणमा ७ खेल हुँदा १४ खेलाडीले १६ गोल गरेका छन् । १ खेलाडीले रातोकार्डको सामना गर्दा च्यासलका विदेशी खेलाडी विकास मेलाग्लियाले पेनाल्टी मिस गरे । लिगमा दुइ खेलाडीले दुई गोल गर्दा १२ खेलाडीले एक एक गोल गरेका छन् ।

पहिलो चरणमा भएका खेल र नजिता–
१, फ्रेण्ड्स क्लब ०–० सातदोबाटो युथ क्लब
२, हिमालयन शेर्पा क्लब १–१ संकटा क्लब
३, च्यासल युथ क्लब ०–३ थ्रीस्टार क्लब
४, ब्रिगेड ब्वाइज क्लब ३–२ एपीएफ फुटबल क्लब
५, जावलाखेल युथ क्लब ०–१ मनाङ मस्र्याङ्दी क्लब
६, त्रिभुवन आर्मी फुटबल क्लब १–१ नेपाल पुलिस क्लब
७, मछिन्द्र फुटबल क्लब २–१ न्युरोड टिम एनआरटी


प्रतिक्रिया दिनुहोस !


विद्यार्थीहरुलाई प्राथमिक उपचार तालिम सम्पन्न



रोट्रयाक्ट क्लब अफ धरान घोपाले कार्मेल स्कूल, बुद्ध चौक र दिल्ली पब्लिक स्कुल, घोपामा प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ ।

आफ्नो दीर्घकालीन परियोजना “पुनर्जीवन – जीवनको आशा” अन्तगर्त विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्राथमिक उपचार र यसको तरिकाहरु बारे सचेत गरिएको थियो ।

यसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई रक्तश्राव, इपिस्टासिस(नाकबाट रगत बग्ने), फ्र्याक्चर, स्प्लिन्ट, कुकुरको टोकाइ र सर्पको टोकाइ जस्ता विपत्तिको बेला चाल्नु पर्ने कदम र लिनु पर्ने सावधानी बारे सचेत बनाउनु रहेको थियो ।

यस कार्यक्रम विद्यालय क्षेत्रमा करिब बिहान ११ बजेबाट विद्यार्थी, शिक्षक र क्लबका केही सदस्यहरू सहित १५० सहभागीहरूको उपस्थिति सहित सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

६७६ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, ९६ प्रतिशत जडान सम्पन्न



मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्‍याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले ६७६ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरेको छ ।

प्राधिकरणका अनुसार गत कात्तिक मसान्तसम्म ६७६ स्थानीय निकायको कार्यालयमा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार ५ हजार ६५३ वडा कार्यालय, ५ हजार ३ माध्यामिक विद्यालय र ४ हजार १७ स्वास्थ्य संस्थामा इन्टनरेट जडान भएको छ ।

प्राधिकरणले देशका ७०२ स्थानिय तहमा इन्टरनेट सेवा पुर्‍याउन १८ प्याकेजमा विभिन्न इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेको थियो । जस अनुसार अब २६ वटा स्थानीय तहमा मात्रै इन्टरनेट पुर्‍याउन बाँकी रहेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ‌ओटा प्याकेजमध्ये १६ ओटा प्याकेजहरु मार्फत् ६५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सकिएको छ ।

यस्तै १ ओटा प्याकेज मार्फत् ५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा ५० प्रतिशतभन्दा बढी काम सकिएर सेवा सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

साथै ४ प्याकेज मार्फत् ४ जिल्लामा तोकिए बमोजिमका स्थानहरुमा ३० प्रतिशतभन्दा बढी काम सकिएर सेवा सञ्चालनमा आएको छ । ब्रोडब्याण्ड इन्टरनेट जडानको काम ९६.०४ प्रतिशत सकिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

कास्कीमा बस दुर्घटना हुँदा चालकको मृत्यु, आठ जना घाइते



१४ मंसिर,पोखराःकास्कीमा यात्रवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा भैरहवाबाट बागलुङका लागि छुटेको बस सडकबाट ३० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका बस चालक पाल्पाका भुपनाथ खनालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा बागलुङका  शिवराम शर्मा, कृष्ण खड्का, राजु श्रेष्ठ, उमलाल श्रेष्ठ, सुवर्ण सापकोटा,  पर्वत फलेवासका सूर्य तिवारी, चितवन भरतपुरका साधना उपाध्याय, दुर्घटनास्थल पाउदुरकी माया विक घाइते भएका कास्की प्रहरी प्रवक्ता सुन्दरमणी तिवारीले जानकारी दिए । 

उनीहरुको पोखरास्थित फिस्टेल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: