१९ मंसिर २०७८, आईतवार
 |   Sun Dec 5 2021
Logo

निर्माण सुरु भएको पाँच वर्ष बित्दासमेत गोदावरी सडकमा खाल्डैखाल्डा



ललितपुरको गोदावरीबाट बिहान निस्कनुभएका रमेश सिलवाल दिउँसोसम्म कार्यालय पुग्दा धुलाम्मे हुनुहुन्छ । निर्माणाधीन सो सडक हुँदै पाटन पुग्दासम्म वर्षामा हिलो र हिउँदमा धुलाम्मे हुने उहाँले बताउनुभयो ।

अचेल उहाँ सडकमा हिँड्दा बाहिरबाट बर्षादी लगाएर निस्कनुहुन्छ । उहाँले भन्नुभयो, “त्यसरी बाहिरको लुगा नफेरे त अफिस पुग्दासम्म मान्छे र लुगा दुबै धुलाम्मे हुन्छ ।” निर्माण सुरु भएको वषौँ बित्दासमेत हात्तीबन–गोदावरी सडक सम्पन्न भएको छैन । सो सडक सधैँ निर्माणाधीन हुँदा स्थानीयवासीले कष्टकरयात्रा गर्न परिरहेको छ । सडक खाल्डाका कारण हिँडडुल गर्न गाहे भएको स्थानीयवासी बताउछन् । गोदावरी सडकमा भएको खाल्डाखुल्डीका कारण आधा घण्टामा पार गरिने सडकमा हाल एकदेखि डेढघण्टा लाग्ने भएको चालक राम विष्टले बताउनुभयो ।

झण्डै एक दशकदेखि यही सडकमा बस चलाउँदै आउनुभएका उहाँ सडकको खराब अवस्थाकै कारण जामको समस्याले हैरान हुनुहुन्छ । उहाँले भन्नुभयो, “बाटो धुलो र हिलोले भरिएर हप्तैपिच्छे नधोइ नहुने भएको छ ।” सो सडकमा भएको धुलोका कारण आफ्ना घरदेखि भान्छा कोठासम्म दैनिक धुलाम्मे हुने गरेको स्थानीयवासी सरिता महर्जनले बताउनुभयो ।

सडकसँगै भएको उहाँको घर दिनहुँ धुलोले गर्दा फोहर हुने गर्छ । आफूलाई दिनभर घरमा बसेर सरसफाइ गर्न हैरान हुने र साँझ श्रीमान् र छोराछोरी फर्कदा धुलैधुलो लुगा लिएर फर्कने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खै हामीले यो धुलोबाट मुक्ति पनि कहिले पाउने होला ?”

निर्माण सुरु भएको पाँच वर्ष बित्दासमेत सो सडक अलपत्र छ । निर्माण व्यवसायीले कहिलेकाहीँ उपकरण र जनशक्ति थपेर काम गर्न चाहेको जस्तो देखाए पनि नियमित नहुँदा सम्पन्न नभएको स्थानीयवासीको गुनासो छ ।

स्थानीयवासीले पटक–पटक कहिले सडक विभाग, कहिले गोदावरी नगरपालिका, कहिले आयोजना कार्यालय र कहिले सडक विभागलाई सडक चाँडो सम्पन्न गर्न दबाब दिँदै आएका छन् । सडक निर्माणमा ढिलाइ भएको भन्दै पटक–पटक सडक नै अवरुद्ध गरिए पनि सम्पन्न हुन सकेको छैन । बाँडेगाउँमा सोमबार बिहानैबाट स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए भने दिउँसोबाट हरिसिद्धि सडक पनि अवरुद्ध भएको थियो ।

सडक विभागका प्रतिनिधि र स्थानीयवासीबीच मङ्सिर महिनाभित्र सडक सम्पन्न गर्ने सहमति भएपछि अहिले सडक चालू छ । निर्माण सुरु भएको लामो समयसम्म पनि कालोपत्र नभएर स्थानीयवासीले धुलो र हिलो खप्नुपरेको भन्दै निर्माण व्यवसायी विरुद्ध सडक अवरुद्ध गरेका हुन । निर्माण व्यवसायीले सो खण्ड यही महिनाभित्रमा कालोपत्र सम्पन्न गर्ने भन्दै आएको थियो ।

कामले गति नलिएपछि जनता आक्रोशित भएको गोदावरी नगरपालिका– १४ का वडाध्यक्ष जगनाथ महर्जनले बताउनुभयो । उहाँका अनुसार योबीचमा सडक सुधार पनि नहुँदा अवस्था झनझनै खराब भइरहेको छ । गतवर्ष सडकमा माटो र ग्राभेल विच्छाउदा आवागमनमा झन गाहे भएको थियो । उहाँले भन्नुभयो, “अब कति दिन धुलो, धुवा र हिलोको सामना गर्नुपर्ने हो भन्ने भएरै विरोधमा कार्यक्रम भइरहेको छ ।”

ललितपुर महानरपालिका र गोदावरी नगरपालिकामा पर्ने सो सडक सङ्घीय सडकका रुपमा रहेको छ । सो सडकमा लामो समयसम्म निर्माणले गति नलिएको भए पनि पछिल्लो दिनमा केही गतिलिन थालेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दीपेन्द्र पाण्डेले बताउनुभयो । उहाँका अनुसार आयोजनाले स्थानीयवासीले लामो समयदेखि दुःख पाइरहेकाले जनशक्ति र उपकरण दुबै थप्न कम्पनीलाई भनेको छ ।

पाँचवर्ष पहिले विस्तार सुरु भएको सो सडकमा सुरुका वर्षमा चौडाइ विवादका कारण निर्माणअघि बढ्न सकेको थिएन । स्थानीयवासीले घर भत्काउन नदिने भन्दै विरोध गरेपछि निर्माण ठप्प थियो । सुरुका दिनमा निर्माण व्यवसायीले काम गर्न चाहे पनि आयोजनाले नै निर्माणस्थल खाली गर्न सकेको थिएन । तीन वर्ष पहिले नै सर्वाेच्च अदालतले उपलब्ध चौडाइमा नै निर्माण गर्न फैसला गरेको थियो । सोही आधारमा पहिले २० मिटर चौडाइमा कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भए पनि विभागले उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकजस्तै यो सडकमा उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो ।

सो सडक २० मिटर चौडा गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो । त्यसपछि पनि १६ मिटरभित्रै घर भएका स्थानीयवासीसमेत सडकका लागि जग्गा दिन नमानेपछि सडक अलपत्र बनेको थियो ।

सो सडकमा गोदावरीको साँढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम गर्न सकिने अवस्था छ । बाँकी सडकमा अहिले १६ मिटरभन्दा कम चौडाइ रहेको आयोजनाले जनाएको छ । सडकमा कतैकतै पाँच÷साढे पाँच मिटरको चौडाइ छ । चौडाइ कम भएका स्थानमा पैदलयात्रुमार्ग, ह्युमपाइपलगायतका संरचना बनाउन नसकिने विभागले बताउँदै आएको छ । टौखेलदेखि गोदावरी सडक भने गतवर्ष नै निर्माण सम्पन्न भइसकेको छ ।

विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिक पर्छ भने साविक ठैब र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । ७ दशमलव ६ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आयोजनाले आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको छ ।

ठेक्का अवधि सकिए पनि कोभिडका कारण अवरुद्ध अरु आयोजना जस्तै छ महिना थपिएको छ । आयोजनाले भने अवधि बाँकी भए पनि सो सडक त्यस पहिले नै कालोपत्र गर्न निर्माण कम्पनीलाई भनेको छ । प्रमुख पाण्डेले भन्नुभयो, “पहिलो एक तहको कालोपत्र अहिले नै गरेमा स्थानीयवासीलाई हिँड्न सजिलो हुन्छ र त्यसपछि अर्काे तहको कालोपत्र गर्न सकिन्छ ।”


प्रतिक्रिया दिनुहोस !


माओवादी केन्द्रको राष्ट्रिय भेलाः गुरुङको भागमा विधान, हितमानलाई व्यवस्थापनको जिम्मा



काठमाडौं, १९ मंसिर

नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । 

स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार माओवादीको विधान परिमार्जन गर्ने जिम्मा स्थायी कमिटी सदस्य देव गुरुङले पाएका छन् । उनको संयोजकत्वमा गठन भएको विधान परिमार्जन समितिले पार्टीको आगामी विधानको परिमार्जित मस्यौदा राष्ट्रिय सम्मेलनमा पेस गर्नेछ । 

त्यसैगरी काठमाडौंमा हुने सम्मेलनको मूल व्यवस्थापनको जिम्मा हितमान शाक्य नेतृत्वको सात सदस्यीय कमिटीले पाएको छ । 

सम्मेलनको प्रचारको काम भने प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वमा गठित उपसमितिले गर्नेछ । 

सर्कुलरअनुसार सम्मेलनमा सहभागी हुने प्रतिनिधकिो छनोट मंसिर मसान्तसम्ममा सक्नुपर्नेछ । सम्मेलनमा सहभागी कुल सदस्यको ५ प्रतिशत प्रतिनिधि केन्द्रले मनोनयन गर्ने परिपत्रमा उल्लेख छ । हरेक प्रदेशवाट ३० जनाका दरले र एक हजार पाँच सय संगठित सदस्य बराबर एकजनाले सम्मेलनमा भाग लिन पाउनेछन् । 

प्रदेशबाट प्रतिनिधित्व गर्ने ३० मध्ये एकजना अपांगता भएका र सशस्त्र विद्रोहमा घाइते भएकाहरू अनिवार्य समेटिनुपर्ने परिपत्रमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस !

पराजित कमल थापाले भने- ‘पुरस्कार पाएँ, राजाको भलो होस्



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएको कमल थापाले विजयी राजेन्द्र लिङ्देनलाई बधाइ दिनु भएको छ । थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनुभएको छ । यद्यपि, उहाँले पराजयलाई सहर्ष स्वीकार गर्ने बताउनुभएको छ ।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना’, उहाँले भन्नुभएको छ, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’

थापाले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गनुभएको छ । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि उहाँको आरोप छ ।

उहाँले लेख्नुभएको छ– ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’

प्रतिक्रिया दिनुहोस !

नेपाली काँग्रेस प्रदेश- २ को अधिवेशन स्थगित, नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने



काठमाडौ । नेपाली कांग्रेसको प्रदेश- २ को अधिवेशन उद्घाटनपछि स्थगित भएको छ । प्रदेश २ का धनुषाबाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको निर्वाचन समितिले बताए ।अब प्रदेश- २ को नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने बताइएको छ। प्रदेश अधिवेशनको उद्घाटन भएको तीन दिन बितिसक्दा पनि मनोनय दर्तालगायत चुनावी प्रक्रिया अगाडि बढेको छैन।

यता प्रदेश सभापतिलगायत पदहरूमा आकांक्षीहरूले औपचारिक रुपमा उम्मेदवारीसमेत घोषणा गरिसकेका छन्।प्रदेशका ८ जिल्लाका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अविधेशन स्थगित भएको निर्वाचन समितिले बताए।सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ ९ख०, सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन सकेका छैनन्।

सर्लाहीमा त अहिलेसम्म वडा अधिवेशनसमेत हुन सकेको छैन। निर्वाचन समितिकाअनुसार सर्लाही जिल्लामा अधिवेशनको प्रक्रियामा झमेला देखिएको छ।जिल्लाका निर्वाचन समितिहरूबाट प्राप्त हुनुपर्ने मतदाता नामावली साँझसम्म उपलब्ध नभएकाले पूर्वघोषित निर्वाचन तालिकाअनुसार शनिबार पनि मतदाता नामावली प्रकाशन हुन सकेन।

मतदाता नामावली नै प्रकाशन हुन नसकेको कारण आइतबार हुने भनिएको मनोनयन पत्र दाखिला पनि स्थगित भएको छ। रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनोटको काम सम्पन्न भइसकेको बताइए पनि निर्वाचन समितिमा नामावली प्राप्त हुन सकेन।” श्रोतका अनुसार प्रदेशको नेतृत्व चयनको प्रक्रिया अब महाधिवेशनपछि मात्र हुनेछ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: