१६ मंसिर २०७८, बिहीबार
 |   Thu Dec 2 2021
Logo

रासस आलेख : मानवसेवामा रमाउँदै ‘बेसहाराकी आमा’



बाइस वर्षको उमेरसम्म हेटौँडाकी सुमिरा लामालाई मानवसेवाबारे त्यति चासो थिएन । उमेरका कारण हुने चञ्चल स्वभाव, अध्ययनका लागि क्यापस आउजाउ र रमाइलोमै उहाँको दिनचर्या चलिरहेको थियो ।

उहाँ कहिले कलेज पढ्न छाडेर घुमघाम त कहिले आमाबासँग पैसा मागेर चलचित्रघरमा रमाउनुहुन्थ्यो । केही वर्ष यस्ता नियमितताबाट लामाको स्वभाव र दैनन्दिनमा परिवर्तन हुन समय नै लागेन । उनन्तीस वर्षीया लामा अहिले मानवसेवामा समर्पित भएको सात वर्ष पुग्यो । यस क्षेत्रमा एकछिनको रमाइलो र कसैलाई देखाउनका लागि मात्रै लागेको भए उहाँ अहिले यस क्षेत्रबाट अलग भइसक्नु हुन्थ्यो । उहाँमा जागेको मानवसेवा भाव झन्झन् बढ्दै गइरहेको छ । लाग्छ, लामाको बाँकी जीवन सेवामै समर्पित हुनेछ ।

एक सामान्य परिवारमा जन्मनुभएका लामाका आमाबाबुले उहाँका साथीहरूले जस्तै उहाँलाई जागिर खाएको देख्ने इच्छा थियो । तथापि उहाँ जागिरे साथीहरूभन्दा मानव सेवाको काम, त्याग र समर्पणका कारण अब्बल सावित हुन पुग्नुभयो । लामा चार वर्षदेखि मानव सेवा आश्रममा बागलुङ शाखाका संयोजकका रूपमा सडक मानवको उद्धार, अभिभावकविहीनका अभिभावक र बेसहाराको सहारा बनेर सेवामा समर्पित हुनुहुन्छ । मानव सेवाका दौरानमा थुप्रै कठिनाइ र समस्या झेल्दै आउनुभएका लामा अहिले आश्रममा स्वतःस्फुर्त रुपमा खटिरहनुभएको छ । “म आफैँ आश्चर्यमा छु, त्यो क्याम्पस पढ्दाको लक्ष्य, जीवन र क्षण अनि अहिलेको भोगाइ, मानव सेवाप्रतिको समर्पण, सोच र बेसहाराको सहारामा इँटा थप्दै हिँड्न पाएकामा भिन्नै अनुभव हुन्छ”, लामाले भन्नुभयो “मानिस जुन क्षेत्रमा लाग्छ, त्यही क्षेत्रमा आफ्नो सन्तुष्टि खोज्नुपर्छ, म मानव सेवामा सन्तुष्ट भएँ, अभिभावकविहीनहरूको अभिभावक बन्ने प्रयत्न गरेको छु, सकेजति मानव सेवामै समय खर्चनेछु ।” उहाँ अहिले साना बेसहारा बालबालिकाका आमा र हेरचाहका अभावमा बरालिएका मानिसहरूको अभिभावक बनिरहनुभएको छ । उहाँ अहिले अभिभावकविहीनहरूको जिम्मेवार र परिपक्व अभिभावक बन्न सफल हुनुभएको छ ।

लामालाई क्याम्पस छेउमै मानव सेवा आश्रम खुलेको तीन वर्ष भएको पत्तो नै थिएन । स्नातक अध्ययनरत लामाका साथीहरूले एउटा तालिम सञ्चालन हुँदैछ भन्ने खबर पु¥याए । नौदिने तालिम आश्रममै थियो । त्यसबेला अचानक लामामा तालिम लिने इच्छा पलायो तर मानव सेवा होइन, जागिरका लागि थप अनुभव आर्जन गर्न भनेर मात्रै । बाबाआमाको सोचसमेत छोरीलाई जागिरे बनाउने नै थियो । ज्ञान हस्तान्तरण तालिममा सहभागी भएको पहिलो दिनबाटै उहाँको मन बदलिन थाल्यो । उहाँमा मानवसेवाको भाव झल्कँदै गयो । उहाँले आश्रममा रहेका बालबालिका र आमाबुबाको अनुहारमा आफूलाई देख्न थाल्नुभयो । तालिमभरका अवधिमा उहाँका मनमा मानवसेवाको भाव भरिसकेको थियो । “तालिमका क्रममा आश्रमको काम, सेवा तथा उद्धार र उपचारका विषयमा ज्ञान लिएँ”, लामाले भावुक हुँदै भन्नुभयो “मलाई कुन बेला आश्रमले तान्यो पत्तै भएन, नौ दिनको दिनदेखि आश्रम छाड्नै मन लागेन ।”

एउटा प्रमाणपत्रका लोभमा सहभागी भएको तालिमले लामाको जीवन, सपना र योजना नै बदलिएको छ, अहिले मनबाट ‘जागिर’ हटिसकेको छ । उहाँ अहिले अनाथ, असहाय तथा सडक मानवका सेवामा अन्तर्मनले समर्पित हुनुहुन्छ । उहाँले आफ्नो व्यक्तिगत जीवनका बारेमा सोच्ने फुर्सदै पाउनुभएको छैन । अहिले तालिममा सहभागी लामा र आदर्श ढकाल मानव सेवामै हुनुहुन्छ । लामाले आश्रममा समय दिँदै स्नातक अध्ययन भने सकाउनुभयो । उहाँ घर छाडेर आश्रममा दिनरात व्यतीत गर्नुहुन्छ । उहाँले सेवा गरिरहेको आश्रम नै पहिलो आश्रम थियो । उहाँलाई मानव सेवा आश्रम यति छोटो समयमै राष्ट्रव्यापी हुनेछ भन्ने लागेको थिएन न यसलाई सबैले रुचाउने र सहयोग गर्नेछन् भन्ने थियो । एउटा जागिर खाएको भए लामाले परिवारलाई दुईचार पैसा दिन सक्नुहुन्थ्यो होला, सीमित साथीभाइले चिन्थे होला, आफ्ना आमाबुबाको लक्ष्य पूरा हुन्थ्यो होला तर मानव सेवामा लागेपछि उहाँको पृथक् परिचय बनिसकेको छ ।

लामाले आश्रममा सेवा गर्दै गर्दा हेटौँडा शाखा राम्रो हुँदै गयो । केन्द्रीय अध्यक्ष रामजी अधिकारीका सल्लाहमा उहाँलाई चितवन पठाइयो । त्यहाँ शुरुआती अवस्थामा उहाँलाई निकै सकस भयो । हेटौँडामा घर नजिकै थियो तर चितवन आएपछि उहाँलाई केही न्यास्रोसमेत लाग्यो । चितवनमा आश्रम व्यवस्थापन गर्न निकै कठिनाइसमेत भएको उहाँको अनुभव छ । “शुरुआती अवस्था थियो, आश्रमको दोस्रो शाखा थियो, व्यवस्थापन गर्न निकै चुनौती थियो, शुरुमा कसैको सहयोग थिएन”, लामाले भन्नुभयो “आश्रमबाटै भागेर जाऊँ जस्तै भयो तर ती अबोध बालबालिका र सहाराविहीन मानिसहरूको अवस्था देख्दा मन सम्हालेर सेवामा लागेँ ।”

उहाँ केही समयपछि काठमाडौँ शाखामा जानुभयो । त्यहाँ पुगिसक्दा आश्रमका विषयमा केही सकारात्मक समाचार बाहिर आउन थाल्यो, सबैले चिन्न थाले आश्रमलाई सहयोग आउन थाल्यो । पछि २०७४ सालमा बागलुङ शाखाका लागि अध्यक्ष अधिकारीले तीन महिनाका लागि उहाँलाई बागलुङ पठाउनुभयो । तर, त्यस यता लामा बागलुङमै हुनुहुन्छ ।

जीवनकै लक्ष्य मानवसेवा

लामा आफ्नो जीवनको लक्ष्य नै मानवसेवा रहेको बताउनुहुन्छ । उहाँ आफू अब मानवसेवामै समर्पित भएर लाग्ने सुरमा हुनुहुन्छ । बागलुङ शाखालाई आफ्नै भवनबाट सेवा दिने बनाउने र अन्य शाखा विस्तारमा समेत भूमिका खेल्ने उहाँले बताउनुभयो । “जीवनको लक्ष्य नै मानवसेवा हो, भविष्यको कुरा त कसले देखेको छ र ? म सात वर्षदेखि यसै क्षेत्रमा छु, बागलुङ शाखाको भवनसमेत निर्माण गर्न शुरु भएको छ”, लामाले भन्नुभयो “कहिले गोरखा त कहिले पोखराको शाखामा तालिम तथा गोष्ठी चलाउन पुगेको छु, कहिले सडक नाटक चलाउन देश दौडाहामा ।” सडक नाटकमार्फत मानवीय सेवाको भाव झल्काउन ठूलो मद्दत पुगेको उहाँको अनुभव छ ।

सानै उमेरमा ४९ जना ‘बेसहाराकी आमा’ बन्न पाउँदा खुशी लागेको उहाँ बताउनुहुन्छ । मुठ्ठी दानबाट सञ्चालित बागलुङ शाखामा अहिले सडकापेक्षी, बेसहारा, अपाङ्गता र मनोरोगी आश्रित छन् । आश्रम स्थापनाका लागि शुरुआती चरणमा मनिष रायमाझी अहिले शिव खड्काका नेतृत्वमा सामाजिक स्वय्ंसेवी टोलीको सहयोग स्मरणीय रहेको लामा बताउनुहुन्छ ।

आश्रम नै घर

लामालाई आफू जन्मेको घर बिर्सिसके जस्तो लागेको छ । अहिले उहाँलाई आश्रम नै घर जस्तो लाग्छ । बाबाआमा भेट्न घर जान समेत उहाँलाई फुर्सद छैन । “अहिले त आश्रम आफ्नै घर जस्तो लाग्छ, बालबालिका आफ्नै छोराछोरी जस्तो लाग्छ”, लामाले भन्नुभयो । आफ्नो जन्मघर जानै फुर्सद नभएको बताउने लामाले घर पुगेपछि आमाले सुमिराका छोराछोरीले के खालान् भनेर सिन्कीको गुन्द्रकसहितका सामग्री पोको पारेर पठाउने गर्नुभएको छ ।

मकवानुपर, हेटौँडा–८ कमानेमा जन्मनुभएका लामाका बाबाआमाले शुरुआती चरणमा मानवसेवाप्रतिको छोरीको रुचिलाई नकार्नुभएको थियो । पढाइ, लेखाइ भएकी छोरी अर्काको सेवामा समय खेर फालेको भनी उहाँहरु रुष्ट हुनुभएको थियो । “एक पटक बाबाआमाले आश्रममा आउँदा शौचालय सफा गर्दै गरेको देख्नुभएछ, घरमा गएर पढेको छोरी यस्तो काम गर्छे भन्दै रुनुभएछ”, लामाले स्मरण गर्दै भन्नुभयो, “पछि विस्तारै गाउँलेबाट मेरो कामको प्रशंसा सुनेपछि चित्त बुझाउँदै जानुभएको रहेछ ।”

पछिल्ला वर्षमा मानवसेवामा समर्पित आफ्नी छोरीको साहस, योगदान र भूमिकाको चौतर्फी चर्चा, परिचर्चापछि अभिभावकले गर्व गर्ने गरेको लामा बताउनुहुन्छ । आश्रम स्थापनाको १० वर्षमा मानवसेवा आश्रमका २२ शाखा सञ्चालित छन् । अहिले बागलुङ शाखाको भवन निरयघाटमा निर्माणाधीन छ ।


प्रतिक्रिया दिनुहोस !


गण्डकी कांग्रेसमा विवाद : बोल्न नपाएको निहुँमा नाराबाजी, मनोनयन शुल्क घटाउन माग



पोखरा, १६ मंसिर

गण्डकी प्रदेशको जारी अधिवेशनअन्तर्गत बिहीबार उद्घाटन सभामै नाराबाजी भएको छ । आफ्नो पक्षका उम्मेद्वार आकांक्षीलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सभापति पदका उम्मेद्वार अर्जुन जोशी बोलेपछि संस्थापनइतरका आकांक्षीले आफुहरू पनि बोल्न पाउनुपर्ने माग राखे ।

यहाँ संस्थापनबाट जोशी निर्विकल्प उम्मेद्वार बनेका छन् भने इतर पक्षले उम्मेद्वार टुंग्याउन सकेको छैन । कास्कीबाट शुक्रराज शर्मा, देवराज चालिसे र यज्ञबहादुर थापा आकांक्षी छन् । विवादपछि तीनै जनालाई बोल्न दिइएको छ । कांग्रेस कास्कीका सचिव भानु ढकालको नेतृत्वमा असन्तुष्टहरूले नाराबाजी गरेका हुन् ।

यसैबीच, संस्थापनइतरका नेताहरूले उम्मेद्वारी शुल्क अत्यधिक चर्को भएको भन्दै घटाउन माग गरे । नेता महादेव गुरुङले यो शुल्क तिरेर कोही पनि उम्मेद्वार बन्न नसक्ने बताए । गण्डकी कांग्रेसको सभापति उम्मेद्वार बन्न ९१ हजार शुल्क छ । उपसभापतिमा ६१, महामन्त्रीमा ५१, सहमहामन्त्रीमा ४१ र सदस्यको नाम दर्ता गराउन ३१ हजार तोकिएको छ । यस्तै, प्रवेश शुल्कका लागि २ हजार ५ सय छ ।

कार्यक्रम स्थलमै विरोध भएपछि केन्द्रीय निर्वाचन कमिटीले तोकेकै मूल्य कायम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

इन्द्र लोहनीकी आमाको नजरमा चर्चित टेलिभिजन प्रस्तोता



झापा, १६ मंसिर

करिब १३ वर्षअघि हृदयाघातका कारण निधन भएका इन्द्र लोहनीलाई टेलिभिजन टक शोका चर्चित प्रस्तोता र अधिवक्ताका रूपमा त्यसताका धेरैले चिनेका थिए । तर, पछिल्लो पुस्ताका लागि उनको नाम गुमनाम प्रायः छ । उनलाई जान्नेहरू टेलिभिजन टक शोमा यतिको आँटिलो र खरो बहस गर्ने आजपर्यन्त नभेटिएको बताउने गर्छन् । कडा प्रश्न सोधेर नेताहरूलाई नै आच्छुआच्छु पार्ने लोहनी यो संसारमा छैनन् ।

उनै लोहनीको आमा हरिमाया लोहनीले छोरा मिडियामा बोल्दा मात्र त्यो समयकाले आफूहरूलाई चिन्ने गरेको बताउँछिन् । ‘घरभरी नेताहरूको भिड हुन्थे, जागिर लगाइदिनुप¥यो, सरुवा बढुवा गर्नुपर्‍यो भनेर कोशेलीसहित लाम लाग्थे’, हरिमायाले सम्झिइन्, ‘छोरा (इन्द्र लोहनी) कहिल्यै प्रभोलनमा परेन्, कसैले औँला ठड्याउने काम गरेन ।’

आमा हरिमाया आज छोरो यो संसारमा नभए पनि उनले लिएको अन्तर्वार्ता झल्झली सम्झिन्छिन् । ठूलो छोराको निधनपछि आफूलाई कसैले नचिनेको गुनासो गर्छिन् । ‘अहिले नचिनेजस्तो गर्छन्, नजाने जस्तो गर्छन्, ऊ जतिको आँटिलो र ट्यालेन्ट कोही देख्या छैन्’, उनले भावुक हुँदै भनिन्, ‘मेरो छोरा भनेर मात्र राम्रो भनेको हैन कि मलाई आफ्नै छोरा भएर राम्रो लागेको हो । त्यो मुल्याङ्कन गर्ने जिम्मा हजुरहरूको पनि हो ।’

त्यसताका पुष्पकलम दाहाल प्रचण्ड, बाबुराम भट्टराई, केपी शर्मा ओलीको अन्तर्वार्ताहरूले निकै ख्याती कमाएको थियो । ‘कार्यक्रम हेर्ने सबैले पत्रकार भनेको यस्तो हुनुपर्छ भन्थे । न उ पक्ष, न उ विपक्ष, निष्पक्ष थियो, त्यही भएर जनताको पत्रकार बन्यो’, भावुक हुँदै हरिमायाले सुनाइन् ।
कडा प्रश्न सोध्दा छोरालाई कसैले केही गर्लान् जस्तो लाग्दैन थियो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मलाई डर लाग्दैनथ्यो । तर, मैले उस (इन्द्र)लाई डर लाग्दैन भनेर सोध्थेँ, उसले तपार्इंको आशिर्वाद भइन्जेल केही हुँदैन भन्थ्यो । ’

ऋषि धमला बढी हल्ला गर्ने, विजय कुमार रसिलो लाग्दैन

पछिल्लो समय टिभी टक शोमा ऋषि धमाला, विजय कुमार, भुषण दाहाल, टीकाराम यात्री, राजेन्द्र बानियाँ, रवि लामिछानेसहितका प्रस्तोता देखिएका र देखिँदै आएका छन् । तर, ऋषि धमाला ‘दम’ नभएको प्रस्तोता रहेको हरिमायाको बुझाइ छ । ‘प्रश्न त जसले पनि सोध्न सक्छ नि’, उनी भन्छिन्, ‘त्यो प्रश्नको उत्तर आफैंतिर र्फिर्कयो भने नि ? जबाफ दिन सक्नुपर्छ ।’

भुषण दाहाल, रवि लामिछानेको प्रस्तुति ठिकै र विजय कुमारको पनि टक शो खासै रसिलो नलाग्ने गरेको उनले बताइन् । ‘यो मेरा कुरा हुन्, तर उनीहरूलाई नराम्रो भन्न खोजेको होइन नि’, उनले भनिन् ।

जडीबुटीबाट उपचार गर्ने अन्तिम इच्छा

औषधिको नाममा विदेशमा पैसा गएको भन्दै जडीबुटीबाट उपचार गरेर बिरामीको सेवा गर्ने इन्द्र लोहनीको अन्तिम इच्छा रहेको आमा हरिमायाले स्मरण गरिन् । ‘औषधिको नाममा धेरै पैसा विदेश गयो, त्यो रोक्नुपर्छ आमा भन्थ्यो’, उनले सम्झिँदै भनिन्, ‘घरमा आएर छोरा खेतमा जाने, जडीबुटीको बिरुवा लगाउने गर्थ्यो ।’

देशले चिनेको छोरोलाई आफ्नै गाउँवासीले बिर्सिएको उनले गुनासो गरिन् । ‘छोरा मिडियामा हुँदा यस्तो उस्तो भनेर तारिफ गर्थे, अहिले कसैले चिन्दैनन्, संसार त यस्तै रहेछ’, उनले भनिन् ।

हरिमायाले छोरा इन्द्रलाई गुमाए पनि देशका सबै छोराहरू आफ्नो छोरा भएको बताउँछिन् । ‘सबै छोराहरू मिलेर समृद्ध देश बनाउन लाग्नुपर्ने उनको सुझाव छ । उमेरले ७१ पार गरिसकेकी हरिमाया अहिले घरमा बसेर सुइटर बुन्ने गर्छिन् । घर वरपर जडीबुटीका बिरुवा लगाएकी छिन् ।

झापा गौरादह घर भएकी हरिमाया छोरा इन्द्रको परिचयबाट भन्दा आफ्नै परिचयले चिनिन मनपर्ने बताइन् । सबैको आफ्नै परिचय छ, म मेरो परिचयले नै चिनिन चाहन्छु’, उनले भनिन् । साहित्यमा अब्बल हरिमायाले एउटा मेरी आमा नेपाल नामक पुस्तक पनि प्रकाशन गरेकी छिन् ।

(पत्रकार तेजन खड्काले हरिमाया लोहनीसँग गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस !

विप्लवको पार्टीका ७ दर्जन बढी एकीकृत समाजवादीमा प्रवेश (नामावलीसहित)



काठमाडौं । केही समयअघि शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहका आठ दर्जन बढी युवाहरु माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश भएका छन् । काठमाडौंमा भएको १५ गते डीबी लामिछानेको नेतृत्वमा शिव राई, एलबी मगरसहित विप्लवका पार्टीका ८१ जना समाजवादीमा प्रवेश भएका हुन् । पार्टीमा माधव नेपालले टिका लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: