१६ मंसिर २०७८, बिहीबार
 |   Thu Dec 2 2021
Logo

पक्राउ पर्नबाट बच्न आफ्नै मृत्यु दर्ता, १० वर्षपछि अजित प्रहरी नियन्त्रणमा



सुनसरी, ७ मंसिर

दश वर्षअघिको घटनामा अदालतबाट दोषी ठहरिएका एक फरार आरोपीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर घरमा बसेको फेला परेको छ । सुनसरीको साविक चाँदबेला -१ (हाल इनरुवा ७) का डाँका मुद्दामा फरार प्रतिवादी अजित मियाँले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर १० वर्ष घरमै बसोबास गरेको खुलेको हो ।

फरार रहँदै आएका मियाँलाई प्रहरीले सोमबार घर नजिकैबाट दिउँसो पक्राउ गरेको हो । तत्कालीन भादगाउँ सिनवारी-६ (हाल रामधुनी- ५) बस्ने जैयस कुमार साहको घरमा १७ भदाै २०६८ राति डाँका डकैतीमा तीन जनाको संलग्नता रहेको खुलेको थियो । अन्य दुई जनालाई प्रहरीले तत्काल पक्राउ गर्न सफल भए पनि मियाँ फरार थिए ।

उनीहरू तीनै जनालाई जिल्ला अदालतले ११ असार २०७५मा जनही ६ वर्ष कैद र ९९ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाका अनुसार मियाँले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र समेत बनाएका कारण पक्राउ गर्न ढिलाइ भएको जानकारी दिए ।

उनले २७ पुस २०७४ मा आफ्नो मृत्यु भएको भनी स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए । प्रहरीले उनलाई पटक पटक पक्राउ गर्न प्रयास गर्दा उनले अजितको मृत्यु भइसकेको भन्दै आफूलाई अजितको भाइ अजिजको रूपमा चिनाउँदै आएका थिए । घटनाका पीडित र अर्का अभियुक्त लुचाई शर्मा खत्वेले उनी नै अजित भएको सनाखत गरेपछि मात्र पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

सुनसरी प्रहरीले अजितसँगै एकै दिन ४२ जना फरार आरोपीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ४२ जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेस गरिएको छ । अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भए पनि आरोपीहरू फरार रहँदै आएका थिए ।

लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्न प्रहरीले अभियान नै सञ्चालन गरेको थियो । चार महिनाको अवधिमा सुनसरीबाट ५६५ जना फरार प्रतिवादीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरूबाट ११९ वर्ष आठ महिना आठ दिन कैद भुक्तान र २६ लाख ७२ हजार ९०६ रुपैया जरिवाना असुल भएको पनि प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


गण्डकी कांग्रेसमा विवाद : बोल्न नपाएको निहुँमा नाराबाजी, मनोनयन शुल्क घटाउन माग



पोखरा, १६ मंसिर

गण्डकी प्रदेशको जारी अधिवेशनअन्तर्गत बिहीबार उद्घाटन सभामै नाराबाजी भएको छ । आफ्नो पक्षका उम्मेद्वार आकांक्षीलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सभापति पदका उम्मेद्वार अर्जुन जोशी बोलेपछि संस्थापनइतरका आकांक्षीले आफुहरू पनि बोल्न पाउनुपर्ने माग राखे ।

यहाँ संस्थापनबाट जोशी निर्विकल्प उम्मेद्वार बनेका छन् भने इतर पक्षले उम्मेद्वार टुंग्याउन सकेको छैन । कास्कीबाट शुक्रराज शर्मा, देवराज चालिसे र यज्ञबहादुर थापा आकांक्षी छन् । विवादपछि तीनै जनालाई बोल्न दिइएको छ । कांग्रेस कास्कीका सचिव भानु ढकालको नेतृत्वमा असन्तुष्टहरूले नाराबाजी गरेका हुन् ।

यसैबीच, संस्थापनइतरका नेताहरूले उम्मेद्वारी शुल्क अत्यधिक चर्को भएको भन्दै घटाउन माग गरे । नेता महादेव गुरुङले यो शुल्क तिरेर कोही पनि उम्मेद्वार बन्न नसक्ने बताए । गण्डकी कांग्रेसको सभापति उम्मेद्वार बन्न ९१ हजार शुल्क छ । उपसभापतिमा ६१, महामन्त्रीमा ५१, सहमहामन्त्रीमा ४१ र सदस्यको नाम दर्ता गराउन ३१ हजार तोकिएको छ । यस्तै, प्रवेश शुल्कका लागि २ हजार ५ सय छ ।

कार्यक्रम स्थलमै विरोध भएपछि केन्द्रीय निर्वाचन कमिटीले तोकेकै मूल्य कायम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

इन्द्र लोहनीकी आमाको नजरमा चर्चित टेलिभिजन प्रस्तोता



झापा, १६ मंसिर

करिब १३ वर्षअघि हृदयाघातका कारण निधन भएका इन्द्र लोहनीलाई टेलिभिजन टक शोका चर्चित प्रस्तोता र अधिवक्ताका रूपमा त्यसताका धेरैले चिनेका थिए । तर, पछिल्लो पुस्ताका लागि उनको नाम गुमनाम प्रायः छ । उनलाई जान्नेहरू टेलिभिजन टक शोमा यतिको आँटिलो र खरो बहस गर्ने आजपर्यन्त नभेटिएको बताउने गर्छन् । कडा प्रश्न सोधेर नेताहरूलाई नै आच्छुआच्छु पार्ने लोहनी यो संसारमा छैनन् ।

उनै लोहनीको आमा हरिमाया लोहनीले छोरा मिडियामा बोल्दा मात्र त्यो समयकाले आफूहरूलाई चिन्ने गरेको बताउँछिन् । ‘घरभरी नेताहरूको भिड हुन्थे, जागिर लगाइदिनुप¥यो, सरुवा बढुवा गर्नुपर्‍यो भनेर कोशेलीसहित लाम लाग्थे’, हरिमायाले सम्झिइन्, ‘छोरा (इन्द्र लोहनी) कहिल्यै प्रभोलनमा परेन्, कसैले औँला ठड्याउने काम गरेन ।’

आमा हरिमाया आज छोरो यो संसारमा नभए पनि उनले लिएको अन्तर्वार्ता झल्झली सम्झिन्छिन् । ठूलो छोराको निधनपछि आफूलाई कसैले नचिनेको गुनासो गर्छिन् । ‘अहिले नचिनेजस्तो गर्छन्, नजाने जस्तो गर्छन्, ऊ जतिको आँटिलो र ट्यालेन्ट कोही देख्या छैन्’, उनले भावुक हुँदै भनिन्, ‘मेरो छोरा भनेर मात्र राम्रो भनेको हैन कि मलाई आफ्नै छोरा भएर राम्रो लागेको हो । त्यो मुल्याङ्कन गर्ने जिम्मा हजुरहरूको पनि हो ।’

त्यसताका पुष्पकलम दाहाल प्रचण्ड, बाबुराम भट्टराई, केपी शर्मा ओलीको अन्तर्वार्ताहरूले निकै ख्याती कमाएको थियो । ‘कार्यक्रम हेर्ने सबैले पत्रकार भनेको यस्तो हुनुपर्छ भन्थे । न उ पक्ष, न उ विपक्ष, निष्पक्ष थियो, त्यही भएर जनताको पत्रकार बन्यो’, भावुक हुँदै हरिमायाले सुनाइन् ।
कडा प्रश्न सोध्दा छोरालाई कसैले केही गर्लान् जस्तो लाग्दैन थियो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मलाई डर लाग्दैनथ्यो । तर, मैले उस (इन्द्र)लाई डर लाग्दैन भनेर सोध्थेँ, उसले तपार्इंको आशिर्वाद भइन्जेल केही हुँदैन भन्थ्यो । ’

ऋषि धमला बढी हल्ला गर्ने, विजय कुमार रसिलो लाग्दैन

पछिल्लो समय टिभी टक शोमा ऋषि धमाला, विजय कुमार, भुषण दाहाल, टीकाराम यात्री, राजेन्द्र बानियाँ, रवि लामिछानेसहितका प्रस्तोता देखिएका र देखिँदै आएका छन् । तर, ऋषि धमाला ‘दम’ नभएको प्रस्तोता रहेको हरिमायाको बुझाइ छ । ‘प्रश्न त जसले पनि सोध्न सक्छ नि’, उनी भन्छिन्, ‘त्यो प्रश्नको उत्तर आफैंतिर र्फिर्कयो भने नि ? जबाफ दिन सक्नुपर्छ ।’

भुषण दाहाल, रवि लामिछानेको प्रस्तुति ठिकै र विजय कुमारको पनि टक शो खासै रसिलो नलाग्ने गरेको उनले बताइन् । ‘यो मेरा कुरा हुन्, तर उनीहरूलाई नराम्रो भन्न खोजेको होइन नि’, उनले भनिन् ।

जडीबुटीबाट उपचार गर्ने अन्तिम इच्छा

औषधिको नाममा विदेशमा पैसा गएको भन्दै जडीबुटीबाट उपचार गरेर बिरामीको सेवा गर्ने इन्द्र लोहनीको अन्तिम इच्छा रहेको आमा हरिमायाले स्मरण गरिन् । ‘औषधिको नाममा धेरै पैसा विदेश गयो, त्यो रोक्नुपर्छ आमा भन्थ्यो’, उनले सम्झिँदै भनिन्, ‘घरमा आएर छोरा खेतमा जाने, जडीबुटीको बिरुवा लगाउने गर्थ्यो ।’

देशले चिनेको छोरोलाई आफ्नै गाउँवासीले बिर्सिएको उनले गुनासो गरिन् । ‘छोरा मिडियामा हुँदा यस्तो उस्तो भनेर तारिफ गर्थे, अहिले कसैले चिन्दैनन्, संसार त यस्तै रहेछ’, उनले भनिन् ।

हरिमायाले छोरा इन्द्रलाई गुमाए पनि देशका सबै छोराहरू आफ्नो छोरा भएको बताउँछिन् । ‘सबै छोराहरू मिलेर समृद्ध देश बनाउन लाग्नुपर्ने उनको सुझाव छ । उमेरले ७१ पार गरिसकेकी हरिमाया अहिले घरमा बसेर सुइटर बुन्ने गर्छिन् । घर वरपर जडीबुटीका बिरुवा लगाएकी छिन् ।

झापा गौरादह घर भएकी हरिमाया छोरा इन्द्रको परिचयबाट भन्दा आफ्नै परिचयले चिनिन मनपर्ने बताइन् । सबैको आफ्नै परिचय छ, म मेरो परिचयले नै चिनिन चाहन्छु’, उनले भनिन् । साहित्यमा अब्बल हरिमायाले एउटा मेरी आमा नेपाल नामक पुस्तक पनि प्रकाशन गरेकी छिन् ।

(पत्रकार तेजन खड्काले हरिमाया लोहनीसँग गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस !

कांग्रेस अधिवेशन गराउन नसकेर तेस्रो निर्वाचन अधिकृत पनि जिल्ला छाडेर भागे



काठमाडौं । सर्लाहीमा कांग्रेस अधिवेशन गराउन नसकेर तेस्रो निर्वाचन अधिकृत पनि जिल्ला छाडेर भागेका छन् । प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत भरत राउत बिहीबार अधिवेशन गराउन छाडेर भागेका हुन् । उनी अधिवेशन गराउनु एक दिनअघि सर्लाही छोडेर हिँडेका छन्। क्रियाशील सदस्यताको विवादले उग्र रुप लिँदै आएको सर्लाहीमा यसअघि अधिवेशन गराउने क्रममा गोली समेत चलेको थियो।

जसरी भए पनि अधिवेशन गराउनुपर्ने बाध्यताका बाबजुद भोलि (शुक्रबार) प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गराउने तयारी थियो। तर, निर्वाचन अधिकृत नै डरले भागेर हिँडेपछि निर्वाचन अन्योलमा परेको छ । यसअघि सर्लाहीमा २ जना निर्वाचन अधिकृतले अधिवेशन गराउन नसकेर राजीनामा बुझाएर हिँडेका थिए। त्यसपछि निर्वाचन गराउन तेस्रो अधिकृत भएर आएका राउत पनि बिहीबार मध्याह्न सर्लाही छाडेर हिँडेका छन् । गुटगतका कारण सर्लाहीमा तोकिएको समयमा निर्वाचन हुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: