१६ मंसिर २०७८, बिहीबार
 |   Thu Dec 2 2021
Logo

लोकप्रिय बन्ने होडमा कतै अप्रिय भावना दबाउनु भएको त छैन !



तपाईं प्रायः जसो यस्ता मानिसहरूलाई साथी बनाउनुहुन्छ, जसले तपाईंका हरेक कुराहरूलाई समर्थन गर्छन्— तपाईंले सोच्ने, महसुस गर्ने र बुझ्ने तरिकाहरू साथै तपाईंका रुचि र अरुचिहरू । तपाईंले आफूलाई जस्तो बनाउनु भएको छ, तपाईंले त्यसैको समर्थनको लागि कोही खोजिरहनु भएको हुन्छ ।

एकचोटि यस्तो भयो… जाडोयाममा एउटा सानो चराले अलि बढी नै मौसमको आनन्द उठायो, जसकारण दक्षिणतर्फ यात्रा ढिला आरम्भ गऱ्यो । उसले अत्यन्तै जाडोमा यात्रा शुरु गऱ्यो अनि उड्ने कोसिस गऱ्यो । तर, ऊ जाडोले कठ्याङ्ग्रिएर खस्यो । त्यही बाटोबाट एउटा गाई गइरहेको थियो, अनि बाटोमै उसले गोबर गऱ्यो । गोबर ठीक त्यही चरामाथि खस्यो अनि चरा पूरै ढाकियो । गोबरको न्यानोपनले कठ्याङ्ग्रिएको चरा बिस्तारै–बिस्तारै सामान्य अवस्थामा फर्कियो अनि ऊ राम्रो महसुस गर्दै खुसीले चिर्बिराउन थाल्यो ।

त्यसैबेला, एउटा बिरालो त्यही बाटोबाट जाँदै थियो । उसले चिर्बिराहट सुन्यो, चारैतिर हेऱ्यो अनि गोबरभित्रबाट आवाज आइरहेको कुरा चाल पायो । उसले गोबर हटायो, चरालाई गोबरबाट निकाल्यो अनि खाइदियो । अतः जसले तपाईंमाथि रद्दी थोपर्छ, ऊ तपाईंको शत्रु नै हुन्छ भन्ने हुँदैन । अनि, जसले तपाईंलाई रद्दीबाट बाहिर निकाल्छ, ऊ तपाईंको मित्र नै हुन्छ भन्ने हुँदैन । सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, जब तपाईं रद्दीले भरिनुहुन्छ, तब आफ्नो थुतुनो बन्द राख्न सिक्नुहोस् !

यदि तपाईं कसैको साथी हुनुहुन्छ भने, तपाईंले जतिबेला पनि उनको गल्तीहरू औँल्याउने, उनलाई निच देखाउन आवश्यक छैन । तर साथसाथै, तपाईंभित्र मानिसहरूबिच अलोकप्रिय वा खरो हुने साहस पनि हुनुपर्छ । अरूहरूमाझ लोकप्रिय बन्ने होडमा, आफ्नो सेरोफेरोमा सुखद माहोल बनाइ राख्ने प्रयासमा, हेर्नुस् त तपाईंले आफूभित्र कति अप्रिय भावना दबाएर राख्नुभएको छ !

यदि तपाईंले अप्रियतालाई दबाउनुभयो, यदि तपाईंले माटोमा अप्रियताको बिउ रोप्नुभयो भने, तपाईंले अप्रियताकै फल पाउनुहुनेछ । यदि कोही वास्तवमै तपाईंको मित्र हो भने, तपाईंभित्र उसको अगाडि अप्रिय हुने साहस हुनुपर्छ, अनि साथसाथै ऊ प्रति प्रेम र सद्‌भाव हुनुपर्छ । यतिखेर, तपाईंको मित्रता केवल सहमति, रुचि-अरुचिमा बनिरहेको छ । तर, चाहे तपाईंहरू स्याउ र सुन्तला जस्तै भिन्न–भिन्न भए तापनि, तपाईं असल साथी बन्न सक्नुहुन्छ । साँचो साथी ऊ हो, जसमा तपाईं कुन हदसम्म लन्ठू हो भनेर भनिदिने साहस हुन्छ, अनि त्यसबेला पनि तपाईंप्रति उसमा प्रेम र स्नेह रहिरहनेछ— यही सही अर्थमा मित्रता हो ।

म एकजना चिकित्सकलाई जान्दथेँ, जो बियर पिउँथे । जब ऊसँग मेरो भेट भयो, उनी लगभग सत्तरी वर्षका थिए— ठूलो आँत भएका अग्ला व्यक्ति । केही समयअघि उनी प्राय: आफ्नो साथीलाई भेट्न जान्थे । जब उनी भेट्न जान्थे, अर्को साथीले बियर टक्रयाउँथे अनि दुवैजना सँगै बसेर पिउँथे । समय हुनेबित्तिकै, कहिले साथी यता आउँथे, त कहिले उनी उता जान्थे ।

अचानक एकदिन साथीको कुनै गुरुसँग भेट भयो अनि उनले आध्यात्मिक अभ्यासहरू शुरु गरे, जसपश्चात उनले बियर पिउन छाडे । ती डाक्टरले मलाई यो कथा पूरै विस्तारमा सुनाए, अनि यो भने कि त्यही क्षण उनीहरूबिचको गहिरो मित्रताको अन्त्य थियो । त्यसपश्चात, यिनी कहिल्यै पनि ती साथीको घर जान चाहेनन्, किनकि साथीले बियर पिलाउन छाडेको थियो । थुप्रै मानिसहरूको मित्रता कुनै यस्तै कारणले समाप्त हुने गर्दछ । जबसम्म कुनै चिज चलिरहन्छ, त्यो कायम रहन्छ । त्यो नहनेबित्तिकै सबैथोक समाप्त हुन्छ ।

यदि तपाईंको जीवनमा कोही सच्चा साथी छैनन् भने, तपाईंले केही अभाव महसुस गर्नुहुन्छ । आखिर, साथी भनेको के हो ? साथी भनेको तपाईं जस्तै अन्योलमा जेलिएको अर्को व्यक्ति न हो । साथी वा मित्र भनेको उत्तम वा पर्फेक्ट मानिस होइन । कुरा यत्ति हो कि जब दुईजना व्यक्तिहरू एकआपसमा यति सहज बन्छन् कि कम्तीमा पनि उनीहरू एक–अर्काप्रति साँचो रूपमा प्रस्तुत हुन्छन्, तबमात्र त्यहाँ मित्रता रहन्छ । तपाईंको साथी पनि तपाईं जत्तिकै अस्तव्यस्त र भ्रमित रहेको हुन्छ । तर, यदि दुईजनाले एक–अर्काबिच निष्ठा कायम गर्ने हो भने, उनीहरू सही अर्थमा साथी बन्दछन् । तपाईंसँग एकजना मात्रै नभई थुप्रै साँचो साथीहरू हुनुपर्छ । यदि तपाईंको जीवनमा एकजना पनि त्यस्तो साथी छैनन् भने, तपाईंले आफ्नो जीवनमा केही गर्नु उत्तम हुनेछ । किनकि, मित्रता भनेको एक–अर्काको फाइदाको लागि गरिने आदान–प्रदान वा लेनदेन होइन; मित्रता भनेको दुई जीवनहरूको विशेष मिलन हो ।

–सदगुरुको प्रवचनमा आधारित


प्रतिक्रिया दिनुहोस !


इन्द्र लोहनीकी आमाको नजरमा चर्चित टेलिभिजन प्रस्तोता



झापा, १६ मंसिर

करिब १३ वर्षअघि हृदयाघातका कारण निधन भएका इन्द्र लोहनीलाई टेलिभिजन टक शोका चर्चित प्रस्तोता र अधिवक्ताका रूपमा त्यसताका धेरैले चिनेका थिए । तर, पछिल्लो पुस्ताका लागि उनको नाम गुमनाम प्रायः छ । उनलाई जान्नेहरू टेलिभिजन टक शोमा यतिको आँटिलो र खरो बहस गर्ने आजपर्यन्त नभेटिएको बताउने गर्छन् । कडा प्रश्न सोधेर नेताहरूलाई नै आच्छुआच्छु पार्ने लोहनी यो संसारमा छैनन् ।

उनै लोहनीको आमा हरिमाया लोहनीले छोरा मिडियामा बोल्दा मात्र त्यो समयकाले आफूहरूलाई चिन्ने गरेको बताउँछिन् । ‘घरभरी नेताहरूको भिड हुन्थे, जागिर लगाइदिनुप¥यो, सरुवा बढुवा गर्नुपर्‍यो भनेर कोशेलीसहित लाम लाग्थे’, हरिमायाले सम्झिइन्, ‘छोरा (इन्द्र लोहनी) कहिल्यै प्रभोलनमा परेन्, कसैले औँला ठड्याउने काम गरेन ।’

आमा हरिमाया आज छोरो यो संसारमा नभए पनि उनले लिएको अन्तर्वार्ता झल्झली सम्झिन्छिन् । ठूलो छोराको निधनपछि आफूलाई कसैले नचिनेको गुनासो गर्छिन् । ‘अहिले नचिनेजस्तो गर्छन्, नजाने जस्तो गर्छन्, ऊ जतिको आँटिलो र ट्यालेन्ट कोही देख्या छैन्’, उनले भावुक हुँदै भनिन्, ‘मेरो छोरा भनेर मात्र राम्रो भनेको हैन कि मलाई आफ्नै छोरा भएर राम्रो लागेको हो । त्यो मुल्याङ्कन गर्ने जिम्मा हजुरहरूको पनि हो ।’

त्यसताका पुष्पकलम दाहाल प्रचण्ड, बाबुराम भट्टराई, केपी शर्मा ओलीको अन्तर्वार्ताहरूले निकै ख्याती कमाएको थियो । ‘कार्यक्रम हेर्ने सबैले पत्रकार भनेको यस्तो हुनुपर्छ भन्थे । न उ पक्ष, न उ विपक्ष, निष्पक्ष थियो, त्यही भएर जनताको पत्रकार बन्यो’, भावुक हुँदै हरिमायाले सुनाइन् ।
कडा प्रश्न सोध्दा छोरालाई कसैले केही गर्लान् जस्तो लाग्दैन थियो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मलाई डर लाग्दैनथ्यो । तर, मैले उस (इन्द्र)लाई डर लाग्दैन भनेर सोध्थेँ, उसले तपार्इंको आशिर्वाद भइन्जेल केही हुँदैन भन्थ्यो । ’

ऋषि धमला बढी हल्ला गर्ने, विजय कुमार रसिलो लाग्दैन

पछिल्लो समय टिभी टक शोमा ऋषि धमाला, विजय कुमार, भुषण दाहाल, टीकाराम यात्री, राजेन्द्र बानियाँ, रवि लामिछानेसहितका प्रस्तोता देखिएका र देखिँदै आएका छन् । तर, ऋषि धमाला ‘दम’ नभएको प्रस्तोता रहेको हरिमायाको बुझाइ छ । ‘प्रश्न त जसले पनि सोध्न सक्छ नि’, उनी भन्छिन्, ‘त्यो प्रश्नको उत्तर आफैंतिर र्फिर्कयो भने नि ? जबाफ दिन सक्नुपर्छ ।’

भुषण दाहाल, रवि लामिछानेको प्रस्तुति ठिकै र विजय कुमारको पनि टक शो खासै रसिलो नलाग्ने गरेको उनले बताइन् । ‘यो मेरा कुरा हुन्, तर उनीहरूलाई नराम्रो भन्न खोजेको होइन नि’, उनले भनिन् ।

जडीबुटीबाट उपचार गर्ने अन्तिम इच्छा

औषधिको नाममा विदेशमा पैसा गएको भन्दै जडीबुटीबाट उपचार गरेर बिरामीको सेवा गर्ने इन्द्र लोहनीको अन्तिम इच्छा रहेको आमा हरिमायाले स्मरण गरिन् । ‘औषधिको नाममा धेरै पैसा विदेश गयो, त्यो रोक्नुपर्छ आमा भन्थ्यो’, उनले सम्झिँदै भनिन्, ‘घरमा आएर छोरा खेतमा जाने, जडीबुटीको बिरुवा लगाउने गर्थ्यो ।’

देशले चिनेको छोरोलाई आफ्नै गाउँवासीले बिर्सिएको उनले गुनासो गरिन् । ‘छोरा मिडियामा हुँदा यस्तो उस्तो भनेर तारिफ गर्थे, अहिले कसैले चिन्दैनन्, संसार त यस्तै रहेछ’, उनले भनिन् ।

हरिमायाले छोरा इन्द्रलाई गुमाए पनि देशका सबै छोराहरू आफ्नो छोरा भएको बताउँछिन् । ‘सबै छोराहरू मिलेर समृद्ध देश बनाउन लाग्नुपर्ने उनको सुझाव छ । उमेरले ७१ पार गरिसकेकी हरिमाया अहिले घरमा बसेर सुइटर बुन्ने गर्छिन् । घर वरपर जडीबुटीका बिरुवा लगाएकी छिन् ।

झापा गौरादह घर भएकी हरिमाया छोरा इन्द्रको परिचयबाट भन्दा आफ्नै परिचयले चिनिन मनपर्ने बताइन् । सबैको आफ्नै परिचय छ, म मेरो परिचयले नै चिनिन चाहन्छु’, उनले भनिन् । साहित्यमा अब्बल हरिमायाले एउटा मेरी आमा नेपाल नामक पुस्तक पनि प्रकाशन गरेकी छिन् ।

(पत्रकार तेजन खड्काले हरिमाया लोहनीसँग गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस !

सीमामा सास्ती : दार्चुलामा भारत जान परिचयपत्र अनिवार्य, तीनपुस्ते विवरण टिपाउनुपर्ने



दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीलाई आवत जावतमा कडाई गरेको छ। दार्चुलाबाट खलंगा पुल भएर धार्चुला प्रवेश गर्ने नेपाली नागरिकमाथि एसएसबीले चेकजाँचमा कडाई गरेको हो।

भारतीय बजार धार्चुला जान नेपालीलाई एसएसबीले परिचय पत्र अनिवार्य गरेको छ। परिचयपत्र नभए नेपालीलाई भारत प्रवेशमा रोक लगाएको स्थानीय नरेन्द्र सिंह धामी बताउँछन्।

‘धार्चुला जाने नेपालीलाई पुलमै लाइन लगाएर एसएसबीले नागरिकता वा परिचयपत्र हेर्ने गर्दछ, भयो भने जान दिन्छन् नभए घर फर्काउँछ,’ उनले भने, ‘अचेल एसएसबीले चेकजाँचमा कडाई गरेका छन्, परिचय पत्र देखाउनै घण्टौँ लाइनमा बस्नु परेको छ।’

भारत प्रवेशमा एसएसबीले कडाई गरेपछि धार्चुला जान दार्चुलाबासीले सास्ती भोग्नु परेको उनको गुनासो छ।

‘एसएसबीले आजभोलि कहिले केही कहिले केही नयाँ नयाँ नियम लगाएर दुःख दिने काम मात्रै गरेको छ। माथिको आदेश भन्दै अचेल त एसएसबीले नाकामा तीन पुस्ते विवरण राख्ने गर्दछन्,’ उनले भने, ‘परिचय पत्र बोक्न भुलेका मानिस त भारत जाने अनुमति नपाउँदा घर फर्किनु पनि परेको छ।’

नेपालीमाथि बारम्बार भारतीय पक्षले ज्यादती गर्दा पनि नेपाल सरकार भने मूकदर्शक बनेको उनको गुनासो छ।

‘भारतीय नेपाल आउन त सजिलै छ, केही गर्नु पर्दैन। हामी भारत जाँदा मात्रै किन यती सास्ती खेप्नु पर्ने?’ उनले प्रश्न गर्दै भने, ‘सीमामा एसएसबीले नेपालीलाई दिने दुःख सरकार देखे पनि नदेखे जस्तो गरेको छ।’

सामान किनबेच तथा रोजगारीका लागि दार्चुलाबासी भारततर्फ जाने गर्दछन्। तर, राहदानी, नागरिकता, मतदाता परिचयपत्र, सरकारी निकायको परिचयपत्र देखाए मात्रै नेपाली भारत जाने अनुमति पाउँछन्।

केही दिन अगाडि पिथौरागढमा नेपाल–भारतका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सिद्धराज जोशीले सीमामा एसएसबीले नेपालीलाई अनावश्यक दुःख दिने गरेको भन्दै भारतीय अधिकारीको ध्यानाकषर्ण गराएर व्यवहार सुधार्न आग्रह गरेका थिए। तर, एसएसबीको व्यवहार सुधारिनुको साटो नेपालीमाथि झनै कडाईका साथ प्रस्तुत हुन थालेका छन्।

यसअघि भारतीय प्रशासनले व्याँस गाउँपालिका–१ तिंकर र छाङरुमा जनगणना गर्न असहयोग गरेको थियो। भारतले त्यहाँ जाने जनगणना टोलीलाई आफ्नो भूमिको बाटो प्रयोग गर्न नदिएपछि ४ दिनको जोखिमपूर्ण पैदल यात्रा गरेर नेपाली बाटोबाट टोली छाङरु पुगेको थियो।

भारतीय अतिक्रमित लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि भारतीय पक्षले पछिल्लो समय सीमा क्षेत्रमा चेकजाँच तथा आवतजावतमा कडाइ गर्नुका साथै बाक्लो संख्यामा सुरक्षाकर्मी खटाएको स्थानीय बताउँछन्।

प्रतिक्रिया दिनुहोस !

विवाहपञ्चमीमा रेल चढ्ने रहर अधुरै



विवाहपञ्चमी नजिकिनासाथ भङ्गाहा नगरपालिका–४ पलार बस्तीकी सियानकीदेवी बाँतरलाई रेल चढेर जनकपुर जाने रहर जाग्छ । पछिल्ला दुई दशकयता आफ्नो ठाउँको रेल सेवा चल्न छाडेपछि उहाँको यो रहर पूरा हुन सकेको छैन । “घरबाट पैदल १० मिनेटको दूरीमा रेल स्टेसन (हाल भङ्गाहा–५ सिद्धपुर बस्ती, बिजलपुरा रेल स्टेसन) थियो, हामी कुनै वर्ष मेला भर्न छुटाउँदैनथ्याँै”, ४५ वर्षीया बाँतरले २०५७ सालसम्म रेल चढेर विवाहपञ्चमी हेर्न जाने गरेको विगत सम्झँदै भन्नुभयो, “२०५८ सालको बर्खामा बिग्ही पुल धसिएपछि रेल सेवा बन्द भएसँगै त्यसयता म मेला भर्न जनकपुर गएकी छैन ।” पछिल्ला तीन वर्षयता चाँडै रेल चल्ने कुरा सुन्नुभएका उहाँ सुनेको साँचो नहुँदा आफ्नो रेल चढेर विवाहपञ्चमी उत्सव हेर्न जाने रहर अधुरै रहेको बताउनुहुन्छ ।

सियानकीदेवी मात्र नभएर सो बस्तीका अगुवा चौठी सर्दार बाँतर पनि रेल चल्न छाडेपछि विवाहपञ्चमी मेला हेर्ने रहर दबाएर राखिएको बताउनुहुन्छ । चाँडै रेल चले एकपटक अझै चढेर रामजानकी विवाह महोत्सव हेर्ने रहर ७५ वर्षीय चौठीको छ । महोत्तरीसहित आसपासका जिल्लामा जनकपुरमा आयोजना हुने विवाहपञ्चमी उत्सव खास सांस्कृतिक पर्वका रुपमा मानिँदै आइएको छ । यस सांस्कृतिक उत्सवमा सहभागी हुन केही दिन पहिले नै घरको कामको चाँजो मिलाउने प्राचीन मिथिलाको चलन छ । “किशोर, युवा र अधेड (४० – ६० वर्षसम्म) मात्र नभई हिँडडुलमा सहारा नै चाहने वृद्धवृद्धा पनि विवाहपञ्चमी मेला हेर्न जान्थे”, प्राचीन मिथिलाको उत्सव परम्परा नजिकबाट नियाल्नुभएका मैथिल संस्कृतिविद् कामेश्वर झा भन्नुहुन्छ, “मेला हेर्न रेल चढेरै जनकपुर जाने कुरा सबैका लागि रमाइलो मानिन्थ्यो ।” पछि २०५२ सालमा सशस्त्र जनयुद्ध प्रारम्भ भएपछि मेला जाने भीड पातलिँदै गएर २०५८ मा जनकपुरबाट पश्चिम चल्ने रेल चल्न छाडेपछि भने विवाहपञ्चमीको ‘क्रेज’ घट्दै गएको ७० वर्षीय झाको अनुभव छ । अबको पछिल्लो पुस्ताले पुराना सांस्कृतिक उत्सवबारे चासो कम गरेपछि यहाँ विवाहपञ्चमी चर्चा पनि निकै पातलिएको बलवा नगरपालिका–१० धमौराका झाका अन्य समवयको ठम्याइ छ ।

धनुषा, जनकपुरधाम उपमहानगरपालिकाबाट पश्चिम लागेपछि शुरु हुने महोत्तरी जिल्लाका हालका लोहारपट्टी, बलवा, भङ्गाहा र औरही नगरपालिका क्षेत्रका बस्तीमा दुई दशकअघि जनकपुरबाट पश्चिम बिजलपुरा स्टेसन (अन्तिम रेल स्टेशनलाई बिजलपुरा भनिन्थ्यो) सम्म चल्ने रेल नै एक मात्र यातायातको साधन थियो । अरू बेला दिनको एकपटक चल्ने सो रेल विवाहपञ्चमी मेलाका बेला चारपाँच दिनसम्म भने तीनपटक आउने–जाने र खचाखच मान्छे भरिने दृश्य अझै आँखामा नाचिरहेको औरही, भोइल बस्तीका ७० वर्षीय मोहन महतो बताउनुहुन्छ ।

पछिल्ला तीन वर्षदेखि फेरि रेल सेवा चल्ने चर्चा सुन्दा लोहारपट्टी नगरपालिका, खुट्टा बस्तीकी रामरती सदालाई पनि एकपटक रेल चढेर विवाहपञ्चमी मेला हेर्न जाने धोको छ । अब चाहिँ रेल चढ्न पाइने भइयो भनेर फुरुङ्ग पर्नुभएका सदाको रहर चर्चाको ‘हल्ला’ भित्रै हराएको छ । भारतको जयनगरदेखि धनुषा, जनकपुरको कुर्थासम्म ‘रेल लिक’ तयार भएर २०७४ विवाहपञ्चमीमै रेल सेवा शुरु हुने चर्चा निकै बाक्लो चलेको थियो । “तेसुर अगहनमें विवाहपञ्चमी मेलामें जयनगर सऽ कुर्थातक रेल चलवा’क स्वरगुल मच्चल छल” ( परार मङ्सिरमै जयनगरबाट कुर्थासम्म रेल चल्ने निकै चर्चा थियो) सदाले भन्नुभयो, “मुदा चाइर साल सऽ चलल चर्चा चर्चेमें समटागेल” (तर चार वर्षदेखिको यो चर्चा अझै रुमलिएको छ) ।

विसं २०७४ को अन्त्यतिर जयनगरबाट कुर्थासम्मको ३४ किलोमिटरमा निर्माण सम्पन्न भएको रेल मार्ग अहिले विस्तार भएर महोत्तरीको बिजलपुरासम्म तयार भएको छ । अहिले बिजलपुरा स्टेसनदेखि जयनगरसम्मको ५१ किमी दूरीमा लिक तयार भएर सेवा सञ्चालन गर्न सकिने भए पनि विभिन्न अड्चनले अझै रेल चल्ने अनिश्चित नै छ । “लिक तयार छ, रेलका इञ्जिन र डब्बा किनेर ल्याई दुई वर्षदेखि त्रिपाल ओढाएर राखिएका छन्”, लोहारपट्टी–४ खुट्टाटोलका राजनीतिक कार्यकर्ता नागेन्द्र चौधरी भन्नुहुन्छ, “कानुन नभएर रेल नचलेको भनिन्छ, बुझ्नै सकिन्न, लिक बन्यो, रेल किनियो, चलाउने कानून चँैं किन अल्झेको होला ?” जयनगरदेखि बिजलपुरासम्मको मार्ग तयारीसँगै भारतबाट किनेर ल्याइएको इञ्जिन र यात्रु बस्ने डब्बा दुई वर्षदेखि धनुषाको इनरवा स्टेसनमा थन्केर रहेकामा रेल सञ्चालन गर्नेतर्फ प्रदेश र केन्द्र सरकारको तदारुकता नपुगेको सामाजिक अभियानकर्मी चौधरीको बुझाइ छ ।

जयनगरबाट जनकपुर हुँदै बर्दिबाससम्मको ६९ किमी दूरीमध्ये जयनगरदेखि कुर्थासम्म पहिलो खण्डमा लिक निर्माण भई २०७५ सालको विवाहपञ्चमीताका नै रेल सेवा चलाइने भनी त्यतिखेर रेल विभागका अधिकारीले बताए पनि सञ्चालन हुन सकेन । त्यसयता दोस्रो खण्ड कुर्थादेखि बिजलपुरा स्टेसनसम्मको १७ किमी दूरीमा अब लिक तयार भइसके पनि सेवा सञ्चालनको अत्तोपत्तो केही नदेखिएको लोहारपट्टी, बलवा र भङ्गाहा नगर क्षेत्रका सर्वसाधारण बताउँछन् ।

जयनगरबाट बिजलपुरा स्टेसनसम्म रेल सञ्चालन हुनासाथै महोत्तरीका लोहारपट्टी, भङ्गाहा र बलवा नगरपालिका र पिपरा गाउँपालिकाका कृषि उपज सोझै भारतीय बजारमा पु¥याउन सकिने यहाँका किसानले आश सँगालेका छन् । “हामीकहाँ मौसमी र बेमौसमी तरकारी लगाइन्छ, हामी राम्रो बजार नपाएर हैरान भएका छौँ”, बलवा–१० धमौराका किसान हासिम कवारी भन्नुहुन्छ, “रेल सेवा शुरु भएपछि हाम्रो तरकारी सोझै जनकपुर र जयनगर पु¥याउन सकिने छ, हाम्रो दुग्ध उत्पादनले पनि राम्रो बजार पाउनेछ ।”

रेल सञ्चालन हुनाका साथै आफ्नो नगरपालिकाका सबैजसो बस्तीका बासिन्दाको भारतीय बजार जयनगरसँग सिधा सम्पर्क हुने लोहारपट्टीका नगर प्रमुख शैलेन्द्र यादवको भनाइ छ । ‘‘हाम्रो नगरका त सबैजसो बस्ती कुर्था, पिपराढी र लोहारपट्टी रेल्वे स्टेसन वरिपरि नै छन्’’, मेयर यादवले भन्नुभयो, ‘‘रेल सेवा सञ्चालन भएमा यहाँको फसलले जनकपुरदेखि जयनगरसम्मका बजार पाउँछन् , किसानको जीवनस्तर सुध्रिन्छ ।” भङ्गाहा नगर क्षेत्रका सबै बस्ती र बर्दिबास नगरपालिकाका पशुपतिनगर र प्रेमनगर पनि बिजलपुरा स्टेसन नजिकका बस्ती हुँदा जयनगरदेखि बिजलपुरासम्म रेल सञ्चालन भएमा यहाँका किसानको सक्रियता बढ्ने भङ्गाहाका नगर प्रमुख सञ्जीवकुमार साह बताउनुहुन्छ ।

जयनगर–बर्दिबास रेल विस्तार योजनामध्ये पहिलो खण्ड (जयनगर–कुर्था) र दोस्रो खण्ड (कुर्था– बिजलपुरा) को ५१ किमीमा लिक ओछ्याउने, स्टेसन भवन बनाउनेसहितका निर्माण भएका छन् । तेस्रो खण्ड (बिजलपुरा– बर्दिबास) को १८ किमी दूरीभित्र भने कामको सुरसार नै छैन । सो खण्डभित्र रेल विस्तार योजनामा परेका जग्गाको मुआब्जा प्रक्रिया टुङ्गिन ढिलाइ हुँदा काम बढ्न नसकेको रेल विभागले जनाउँदै आएको थियो । यसपालि गत भदौमा यस खण्डको साबिक बर्दिवास गाविस क्षेत्र (हाल बर्दिबास–१, २ र १४) को मुआब्जा निर्धारण सरकारले गरेपछि अब काम अघि बढ्ने आश पलाएको छ । यद्यपि यसै खण्डको साबिक भङ्गाहा–३ र ४ (हाल भङ्गाहा–४) र साबिक किसाननगर गाविस (हाल बर्दिबास–६ र ७) को मुआब्जा सरकारले २०७६ मै निर्धारण गरे पनि कुनै जग्गाधनीले हालसम्म पाउन रीतपूर्वकको दाबी भने गरेका छैनन् ।

खासमा बर्दिबासको निर्धारण नहुँदासम्म अझै मुआब्जा रकम बढ्ने आश पालेका जग्गाधनीहरू अब बर्दिबासको मुआब्जा निर्धारण भएर सोको पुनरवलोकन नहुने सरकारले प्रष्ट्याइसकेपछि दाबीको क्रम चल्ने अड्कल गरिएको छ । “निर्धारित मुआब्जा जग्गाधनी लिन आए कि आएनन् भन्ने कुराले अब निर्माण रोकिन पर्दैन” महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने भन्नुहुन्छ, “हामीले रेल विभागलाई निर्माणसम्बद्ध काम र प्रक्रिया अघि बढाउन भनिसकेका छौंँ ।”

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जयनगरदेखि बिजलपुरासम्मको रेल सेवा यसै वर्ष (२०७८) भित्र सञ्चालन भइसक्ने जनाउनुभएको छ । सेवा सञ्चालनका लागि आवश्यक कानुन तर्जुमा गरी अध्यादेशमार्फत जारी गरेर तत्काल रेल चलाइने तयारी अघि बढेको मन्त्री यादवको भनाइ छ । “हामीले यही आउने विवाहपञ्चमीमै रेल चलाउने तयारी गरेका थियौंँ”, जनकपुरमा मङ्गलबार सञ्चारकर्मीसँग मन्त्री यादवले भन्नुभयो, “तर केही कानूनी अड्चन नखुल्दा त्यो तयारी पूरा हुन सकेन, यस वर्षभित्र चँै रेल सेवा चल्छ ।” सेवा सञ्चालनका लागि अध्यादेश जारी गर्न सबै प्रक्रिया मिलाइसकिएको उहाँको भनाइ छ । पहिलो र दोस्रो खण्डमा यसै वर्ष सेवा सञ्चालनसँगै नयाँ वर्ष लागेसँगै तेस्रो खण्डको निर्माणले गति लिने मन्त्री यादवको कथन छ ।

भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेलवे विस्तारको काम सन् २०१४ (विसं २०७०तिर) मा शुुरु गरिएको हो । विसं १९९४ जुद्धशम्शेरका पालामा शुरु भएको बिजलपुरा–जनकपुर–जयनगर ५१ किमी रेलमार्ग विसं २०५८ मा बाढीले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । त्यसअघि चन्द्रशम्शेरका पालामा विसं १९८४ मा रक्सौल–अमलेखगञ्ज रेलसेवा(पहिलो रेलसेवा) सुरु भएको थियो । जनकपुर–जयनगर रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै विभागले विसं २०७० मै रेल सेवा बन्द गराएको थियो । राष्ट्रिय महत्वको यो रेल विस्तार आयोजना सन् २०१९ भित्रै सम्पन्न गरी सकिने प्रारम्भिक लक्ष लिइए पनि यसबीचका राजनीतिक उतारचढाव, भेलबाढी र जग्गा मुआब्जा निर्धारणमा भएको ढिलाइले समयमा काम सम्पन्न गर्न नसकिएको रेल विभागले जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: