१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

१०७ वर्षीया कली र ८७ वर्षीया भद्रमायाको लोभलाग्दो सहकार्य



सिन्धुली, ८ मंसिर

दलानमा बोराको धागो निकाल्दै गरेकी उनको अनुहार चाउरी परको छ । मुखमा दाँत छैन । जोडले बोल्दा मात्र सुन्ने । आँखा पनि राम्रो नदेख्ने । कमलामाई नगपालिका १० जाहानटोलकी १०७ वर्षीया कुमारी सुनुवार (कली) हेर्दा कमजोर देखिए पनि उनको काम गर्ने शक्ति र जाँगर भने कम भएको छैन । घरको दलानमा बसेर दिनभर बोराको धागो निकाली नाम्लो र दाम्लो बाटेर दैनिकी टार्ने गर्छिन् कली ।

रामेछापबाट १४ वर्षको उमेरमा विवाह गरेर सिन्धुली आएकी कली माइती हुँदादेखि नै दाम्लो बाट्ने गरेको र आफूले जानेको सिपलाई निरन्तरता दिएको बताउछिन् । ‘विवाह भएको एक वर्ष दिन नपुग्दै जेठो छोरा जन्मियो । श्रीमानको जागिर थिएन । खेतीपातीबाट बिहानबेलुका छाक टार्नसमेत धौधौ हुन्थ्यो’, उनले भनिन्, ‘आफ्नो र परिवारको दुई छाक भोक मेटाउन माइतीमा गर्दै आएको दाम्लो बाट्ने काम यहाँ आएर पनि गर्न थालेँ ।’

दाम्लो नै आफ्नो आयआर्जनको दरिलो माध्यम भएको कलीले बताइन् । ‘माइतिमा ८०÷९० वटा बाख्रा थियो । ति सबैलाई मैले नै दाम्लो बनाउथेँ । त्यतिबेला त गाउँका मान्छेहरू आफ्नो बाख्राका लागि आफैँ दाम्लो बनाउँथे’, विगत सम्झँदै कलीले भनिन् ।

सातवटा छोराकी आमा कलीसँग अहिले तीन जना मात्र छोरा छन् । चार भाइ छोराले भने संसार छोडिसकेको उनले सुनाइन् । छोराहरू छुट्टिएपछि पाँच वर्षसम्म कली एक्लै बसिन् । स्वास्थ्यमा समस्या आएपछि अहिले जाहानटोलमा ठूलोकान्छो छोराबुहारीसँगै बस्छिन् । कान्छा छोरा काठमाडौमा बस्छन् भने काइँला छोरा नजिकै छन् ।

उनले अहिले दिनमा दुईवटा दाम्लो बाट्छिन् । आफूले बाटेको दाम्लो गाउँमा बिक्री गर्छछिन् । ‘कति त घरमै किन्न आउँछन् । आफैँ पनि गाउँमा लगेर बिक्री गर्छु’, कलीले भनिन् ।

घरबाट आधा घण्टाको बाटो हिँडेर दोमान, डाँडाटोललगायत छिमेकी गाउँमा दाम्लो बेच्न जाने गरेको उनले सुनाइन् । एउटा दाम्लोको २५ र नाम्लो ५० रुपैयाँमा बिक्री गर्छिन् ।

कली वृद्धभत्ता पनि लिन्छिन् । तर, त्यो पैसा भने औषधिमूलोमै खर्च हुने गर्दछ । ‘बाथरोग छ । वृद्धभत्ताको पैसा त औषधिमै खर्च हुन्छ’, कलीले भनिन्, ‘आफूलाई खान मन लागेको कुरा भने दाम्लो बेचेको पैसाले पुगेको छ । यही अगाडि एउटा पसल छ । त्यहाँबाट बिस्कुट चाउचाउ लिएर आउँछु । भोक लागेको बेला घरमा बसेर कुटुकुट खान्छु ।’

कलीलाई अझै केही वर्ष बाँच्छु भन्ने आत्मविश्वास छ । ‘केही नबाँचे पनि आठ दश वर्ष त बाँच्छु होला । अझै पाँच सात वर्षसम्म त दाम्लो बनाएरै बेच्न सक्छु जस्तो लाग्छ’, कलीले भनिन्, “ऊ बेला सुकामाना घिउ खाएको तागत छ मसँग । अहिलेका मान्छे जस्तो विषादी हालेको खाने कुरा खाएनौँ । त्यसैले म त अझै धेरै वर्ष बाँच्छु ।’

कली गाउँकै सबैभन्दा बढी उमेर भएकी वृद्धा समेत हुन् । जाहानटोलमा नाम्लो र दाम्लो बाट्ने कली मात्र होइन । ८७ वर्षीया भद्रमाया मगर पनि नाम्लो र दाम्लो बाटेर आफूलाई खान मन लागेको कुरा खाने गर्छिन् । सिमेन्टका बोरा र चामल ल्याएका बोरा जम्मा गरेर बोराको धागो निकाली नाम्लो र दाम्लो बनाउने गरेको उनले सुनाइन् ।

‘तल्लो घर बनाउँदा सिमेन्ट ल्याएको थियो । त्यहीबाट यो बोरा जम्मा गरँे’, उनले भनिन्, ‘पहिले त जंगल गएर भोर्लोेको पाट ल्याएर नाम्लो बनाउथेँ ।’

अहिले जंगल जान नसके नि विभिन्न सामान ल्याएको बोराको धागो निकालेर नाम्लो र दाम्लो बनाउने गरेको उनले सुनाइन् । भद्रमायाले नाम्लो र दाम्लो बेचेर घर खर्चमासमेत सहयोग गर्छिन् । ‘कहिले काहीँ दाम्लो बेचेको पैसाले घरमा तरकारी ल्याउँछु’, उनले भनिन्, ‘अस्तिको पैसाले मासु र टमाटर ल्याएँ ।’

छोराछोरीको कमाइको आस गर्नु नपरेको उनले सुनाइन् । भद्रमायाले नाम्लो र दाम्लो बचेर केही पैसा बिरामी अथवा केही समस्या परेमा खर्च गर्नलाई जम्मा गरेर राखेको बताइन् ।

कली र भद्रमाया नाम्लो र दाम्लोसँगै बनाउँछन् । बनाएको नाम्लो र दाम्लो बेच्न दोमान, डाँडाटोल, सरकारी टोलसम्म पुग्छन् । एउटा नाम्लोको ५० रुपैयाँ र दाम्लो २५ रुपैयाँमा बेच्छन् । दुवै जना दाम्लो बेचेको पैसाले आफुृलाई खान मन लागेको सामान ल्याउँछन् ।

‘कली मेरो दिदी पर्छ । हामीसँगै नाम्लो र दाम्लो बेच्न जान्छौँ’, भद्रमायाले भनिन्, ‘उता दिदीको घरमा बोरा धेरै छ भने कहिले काहीँ मलाई दाम्लो बनाउनको लागि पनि दिनुहुन्छ ।’

पहिले नाम्लो बनाउनको लागि भोर्लोको पाट लिन कली र भद्रमायासँगै जंगल जान्थे । दुवै जना सँगै बसेर नाम्लो र दाम्लो बाट्ने गर्छन् । ‘कली अहिले राम्रोसँग आँखा देख्नुहुन्न । नाम्लो बनाउ चाहिँ यहीँ आउनुहुन्छ’, भद्रमाया भन्छिन्, ‘मैले नाम्लो बाट्न सहयोग गर्छु । एउटा नाम्लो बाट्न सहयोग गरेबापत कहिले ५ रुपैयाँ, कहिले १० रुपैया दिनुहुन्छ ।”

कली र भद्रमायाकोे मिहेनत देखेर स्थानीय तहले उनीहरूलाई सम्मान गरिसकेको छ । वृद्धा अवस्था भए पनि उमेरको कुनै प्रवाह नगरी आफ्नै मिहेनतबाट जीविकोपार्जन गरिरहेको भन्दै कली र भद्रमायालाई कमलामाई नगरपालिकाले, वडा, विभिन्न संजालले सम्मान गरेको कलीको ठूलो कान्छी बुहारीले बताइन् ।

कमलामाई नगरपालिकाले यस आर्थिक ०७८÷७९ मा ‘बा आमाको मुस्कान नगरपालिकाको मुस्कान’ कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमअन्तर्गत नगर भित्रका सबै जेष्ठ नागरिकलाई पुरै दाँत निशुल्क हाल्ने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १०० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सम्मान र स्वास्थ्यलाई ध्यान दिँदै दैनिक एक लिटर दुध उपलब्ध गराइने उल्लेख छ । हाल नगरले १०० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकको विवरण संकलन गरिरहेको छ । हालसम्म संकलित विवरणअनुसार नगरभित्र १०० सय वर्ष उमेर कटेका जम्मा २१ जना ज्येष्ठ नागरिक छन् ।


प्रतिक्रिया दिनुहोस !


विद्यार्थीहरुलाई प्राथमिक उपचार तालिम सम्पन्न



रोट्रयाक्ट क्लब अफ धरान घोपाले कार्मेल स्कूल, बुद्ध चौक र दिल्ली पब्लिक स्कुल, घोपामा प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ ।

आफ्नो दीर्घकालीन परियोजना “पुनर्जीवन – जीवनको आशा” अन्तगर्त विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्राथमिक उपचार र यसको तरिकाहरु बारे सचेत गरिएको थियो ।

यसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई रक्तश्राव, इपिस्टासिस(नाकबाट रगत बग्ने), फ्र्याक्चर, स्प्लिन्ट, कुकुरको टोकाइ र सर्पको टोकाइ जस्ता विपत्तिको बेला चाल्नु पर्ने कदम र लिनु पर्ने सावधानी बारे सचेत बनाउनु रहेको थियो ।

यस कार्यक्रम विद्यालय क्षेत्रमा करिब बिहान ११ बजेबाट विद्यार्थी, शिक्षक र क्लबका केही सदस्यहरू सहित १५० सहभागीहरूको उपस्थिति सहित सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

६७६ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, ९६ प्रतिशत जडान सम्पन्न



मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्‍याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले ६७६ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरेको छ ।

प्राधिकरणका अनुसार गत कात्तिक मसान्तसम्म ६७६ स्थानीय निकायको कार्यालयमा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार ५ हजार ६५३ वडा कार्यालय, ५ हजार ३ माध्यामिक विद्यालय र ४ हजार १७ स्वास्थ्य संस्थामा इन्टनरेट जडान भएको छ ।

प्राधिकरणले देशका ७०२ स्थानिय तहमा इन्टरनेट सेवा पुर्‍याउन १८ प्याकेजमा विभिन्न इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेको थियो । जस अनुसार अब २६ वटा स्थानीय तहमा मात्रै इन्टरनेट पुर्‍याउन बाँकी रहेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ‌ओटा प्याकेजमध्ये १६ ओटा प्याकेजहरु मार्फत् ६५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सकिएको छ ।

यस्तै १ ओटा प्याकेज मार्फत् ५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा ५० प्रतिशतभन्दा बढी काम सकिएर सेवा सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

साथै ४ प्याकेज मार्फत् ४ जिल्लामा तोकिए बमोजिमका स्थानहरुमा ३० प्रतिशतभन्दा बढी काम सकिएर सेवा सञ्चालनमा आएको छ । ब्रोडब्याण्ड इन्टरनेट जडानको काम ९६.०४ प्रतिशत सकिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

उम्मेदवारी नदिएको पदमा पनि भीम रावलको नाम, बुटवल महाधिवेशन काण्ड दोहोरिने खतरा



सौराहा । नेकपा एमालेका अध्यक्षका उम्मेदवार भीमबहादुर रावलले आफूले उम्मेदवारी नदिएको पदमा आफ्नो नाम राखिएको भन्दै आपत्ति जनाएका छन् । दशौं राष्ट्रिय महाधिवशेनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावमा मतदान गर्न पुगेका रावलले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेदवारमा पनि देखेपछि आपत्ति जनाएका हुन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगले पनि पदाधिकारीमा उठ्ने व्यक्तिले केन्द्रीय सदस्यमा उठ्नेरनउठ्ने अधिकार स्वयं व्यक्तिलाई नै दिएको भन्दै रावलले आफूले दाबी नै नगरेको पदमा उम्मेदवारी राखेकोमा अहसमति जनाए ।

‘पहिला पदाधिकारीमा उठ्ने नाम सदस्यमा राख्ने भनेकाले मैले के छ भनेर सोधेको थिए । मलाई पदाधिकारी र सदस्य दुबै राख्न चाहे भने दुबै हुन्छ । होइन भने पदाधकारी मात्र हुन्छ भनेको थियो । मैले पदाधिकारीमा लड्ने सदस्यमा नलड्ने भनेको थिए । तर अघि मतदान गर्न जाँदा सदस्यमा मेरो नाम देखेँ । अध्यक्षमा लड्ने व्यक्ति म सदस्यमा लड्ने भन्ने कुरै आउँदैन,’ रावलले न्युज कारखानासँग भने ।

यो प्रकरण रावलले बुटवलको आठौं महाधिवेशनमा फेस गरिसकेका छन् । उनले सम्झिए, ‘बुटवल महाधिवेशनमा सदस्यताको लागि मैले उम्मेदवारी दिएको थिइन, उम्मेदवारी दिएको उपाध्यक्षमा हारे, अनि मलाई सदस्य पद जितेको भनेर सपथ लिन भनियो । मैले उम्मदेवारी हालेकै छैन मैले कसरी सपथ लिने भने । त्यसलाई विवादको विषय बनाएर भीम रावलले सपथ लिएन भनेर समस्या खडा भयो । पछि मैले बाध्य भएर सपथ लिनुपर्ने अवस्था आएको थियो ।’

बुटवल महाधिवेशनको अवस्था नआओस् भनेर आफूले पहिले नै निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरे पनि आफ्नो नाम केन्द्रीय सदस्यमा समेत उम्मेदवारका रुपमा राखेर बेइमानी गरिएको उनको भनाइ छ । उनले नदिएको ठाउँमा उम्मेदवार भनेर नाम राखिदिँदा प्रतिनिधि पनि झुक्किने र जितेर पनि विवाद सिर्जना गर्‍यो भनेर नकारात्मक टिप्पणी हुनसक्ने भन्दै सचेत गराए । ‘अब मलाई त्यहाँ त्यतिकै सदस्य भइस् भनेर मनौ मलाई जिताइदिए भने पनि त्यो पदमा मैले सपथ लिन सक्दिनँ । महिले अहिले नै प्रष्ट पारेको छु । पछि मान्छेहरुले सथप लिएन भीम रावलले यसो गर्‍यो भनेर नभनुन् । नकारात्मक रुपमा न लैजाउन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: