१६ मंसिर २०७८, बिहीबार
 |   Thu Dec 2 2021
Logo

योगेश भट्टराईसँगको अन्तर्वार्ता : सहमति नहुने हो भने अध्यक्षमा दर्जनौँले उम्मेदवारी दिनुपर्छ



चितवनमा १०–१२ मंसिरसम्म हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय नेताहरू जिल्ला आउन थालेका छन् । मञ्च निर्माण, प्रचारप्रसार लगायतका कामहरूलाई तीव्र बताइएको छ । यसै सन्दर्भमा महाधिवेशनको तयारी र प्रचारप्रसारबारे जानकारी लिन बुधबार चितवन आएका एमाले सचिव एवं १०औँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईसँग न्युज कारखानाकर्मी कुलप्रसाद काफ्लेले गरेको कुराकानी :

१०औँ महाधिवेशनको तयारी कसरी हुँदै छ ?

हाम्रो तयारी राम्रोसँग भइरहेको छ । तयारी हेर्दा पाँच लाखभन्दा पनि बढी मान्छे आउन सक्छन् । गाडी र बाटोको पर्याप्तता छैन, तर पनि ठूलो जनपरिचालन, ठूलो प्रदर्शनसहित नेकपा एमालेको महाधिवेशन उद्घाटन हुन्छ ।

प्रतिनिधिहरूको सन्दर्भमा भन्नुपर्दा हाम्रो जम्मा प्रतिनिधिहरूको संख्या मनोनीतसहित दुई हजार २९७ हुन्छ । ती प्रतिनिधिलाई तीन दिनसम्मको लागि आवास र खानाको व्यवस्थापन गरिएको छ । होटेलसँग सम्झौता पनि भइसकेको छ । प्रतिनिधिलाई १० मंसिर बेलुकीदेखि व्यवस्थापन हुन्छ ।

१० मंसिरमा केन्द्रीय कमिटीको बैठक पनि चितवनमै हुन्छ । त्यसपछि देशभर माहोल सिर्जना भएको छ । ठाउँठाउँमा स्वागत द्वार बनेका छन् । मोटरसाइकल ¥याली पनि भएका छन् । विभिन्न रचनात्मक कार्यहरू पनि स्थानीय कमिटीहरूले गरिराख्नु भएको छ । यसरी हामी तयारीको अन्तिम अवस्थामा छौँ ।

एमालेको विगतका महाधिवेशन र १०औँ महाधिवेशनमा खास के फरक छ ?

आज नेकपा एमाले कसको निरन्तरता हो ? कसको लिगेसी यसले बोकेको छ ? भन्ने कुरा कतिपयले बहस गरिरहेका छन् । हामीले भनेका छौँ, नेकपा एमाले २००६ सालमा स्थापित भएको नेपाल कम्युनिष्ट पार्टीको निरन्तरता हो । त्यसका संस्थापक पुष्पलाल, पुष्पलालले जुन उद्देश्यले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । उहाँको विचार, उहाँको उत्तराधिकारी पार्टी नेकपा एमाले हो ।

अर्काे कुरा, नेपालमा विश्व कम्युनिष्ट आन्दोलनको विभाजनसँगै ३० को दशकबाट दुईवटा कम्युनिष्टका धार आए । एउटा झापा आन्दोलनसँग कोअर्डिनेशन केन्द्र, नेकपा माले हुँदै २०४७ सालबाट हामी अगाडि आयौँ । एउटा त्यो धार हो । त्यसले एउटा मूलतः शान्तिपूर्ण जनसंघर्षमा आफूलाई अगाडि बढायो ।

अर्काे ३० को दशकदेखि नै चौथो महाधिवेशन, मसाल, एकता केन्द्र हुँदै माओवादीसम्मको धार छ । त्यो धारले विगतमा सशस्त्र संघर्षको नीति लियो । त्यो धारका कतिपय पार्टीले त्यो नीति परिवर्तन गरिसके । खासगरी प्रचण्ड नेतृत्वले त्यो नीति छोडिसके । त्यसो हुँदा ३ जेठ २०७५ मा प्रचण्ड नेतृत्वको पार्टीसँग पनि हाम्रो पार्टी एकता भयो ।

किनभने उहाँहरू पनि शान्तिपूर्ण बाटोमा, वैधानिक बाटोबाट नै समाजवादसम्म पुग्ने लक्ष्य लिएर आउनुभयो । त्यसकारण नेकपा एमालेले १०औँ महाधिवेशनबाट यो कुरा अझ स्पष्ट गर्न चाहन्छ कि हामी पुष्पलालले गठन गरेको कम्युनिष्ट पार्टीको पनि निरन्तरता हौँ भने ३ जेठ २०७५ को पार्टी एकतापछिको पनि हामी निरन्तरता हो ।

त्यसो हुनाले आजको दिनमा नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवृत्ति हो । मूलधार हो । प्रमुख दल हो भन्ने कुरा यो महाधिवेशनबाट स्पष्ट गर्न चाहन्छौँ । अर्काेतिर नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न ढंगबाट महत्वपूर्ण योगदान गर्ने नेता हुनुहुन्छ ।

पुष्पलाल, लोकप्रिय सरकारको थालनी गर्ने मनमोहन अधिकारी र जनताको बहुदलिय जनवाद जस्तो विचार बोकेर नेपाली जनतामा लोकप्रिय नेता हुने मदन भण्डारी । उहाँहरू लगायत हिजोका अघिल्लो पुस्ता जसले नेपाली नेपालको कम्युनिष्ट आन्दोलनको निर्माणमा योगदान पु¥याउनुभयो । त्यो पुस्ताको समेत हामीले लिगेसी बोकेका छौँ ।

महाधिवेशनको मुखमा आइपुग्दा पनि उम्मेदवारी घोषणाको सरगर्मी नै देखिँदैन । एमाले कतै प्रजातान्त्रिक प्रणाली छोडेर टीका लगाउने प्रथामा गएको त हैन ?

एमालेजस्तो लोकतान्त्रिक अभ्यास गर्दै आएको पार्टीमा टीका लगाएर नेतृत्वमा आउने सम्भावना त शून्य प्रतिशत पनि छैन । प्रतिस्पर्धा हुन्छ । बाकसमा मत हाल्ने कि कामबाट प्रतिस्पर्धा गर्ने कि, योग्यता क्षमताले नेतृत्वमा आउने भन्ने प्रश्न महत्वपूर्ण छ ।

प्रतिस्पर्धाका विभिन्न उपायहरू हुन्छन् । तर, एमालेमा कसैले तानेर माथि ल्याउने र कसैले ठेल्दिएर माथि ल्याउने कुरा एमालेमा हुँदैन । त्यो नचिताए पनि हुन्छ । त्यसरी पार्टी चल्दा पनि चल्दैन र एमाले जाँदा पनि जाँदैन ।

त्यसरी एमाले गएको भएदेखि अरू कम्युनिष्ट पार्टीहरू क्रमशः सकिँदै गए, उनीहरूको अस्तित्व विलीन हुँदै गयो । एमाले त्यस्तै हुने थियो । तर, एमाले आज जनताको बीचमा लोकप्रिय मात्र छैन, सरकार चलाएको छ । अन्तर्राष्ट्रिय लेभलमा यति ठूलो सम्बन्ध विस्तार गरेको छ । यो पार्टीमा नेतृत्व विकासको काम पनि प्रतिस्पर्धाबाट हुन्छ । त्यो मर्यादित र स्वस्थ हुन्छ ।

अध्यक्षमा भीम रावलबाहेक अरूको उम्मेदवारी घोषणा भएको छैन । यसको मतलब अब उहाँ नै सर्वसम्मत भन्ने हो ?

पार्टीले सकेसम्म सहमतिमा नेतृत्व निर्माण गरौँ भन्ने सोच बोकेको छ । पार्टी अध्यक्षको पनि मुड पुनः नेतृत्वमा आउने देखेको छु । सहमतिमा पुग्न सकेनौँ भने पनि प्रतिस्पर्धाको ढोका खुला छ । त्यो अवस्थामा दुई जना मात्र होइन, दर्जनौँ नेताहरूलाई अध्यक्षमा उम्मेदवारी दिन म आह्वान गर्छु ।

यत्रो पार्टीमा अध्यक्ष बन्छु भनेर दावा पेस गर्न आउनुप¥यो । ५०औँ वर्ष राजनीति गरेको हुँ भन्ने नेताहरूले अध्यक्ष हुन्छु, देश चलाउँछु भनेर दावा पेस गर्न आउनुप¥यो नि ! त्यो क्रममा यदि कोही नेताको नाममा सर्वसम्मत भएछ भने अरुले त्याग गर्न पनि सक्नुपर्‍यो ।

चुनाव नै भयो भने त माओवादीबाट आउने नेताहरूलाई सकस पर्छ भनिन्छ नि ?

यस्तै कुरा २०४९ सालको पाँचौँ महाधिवेशनमा पनि उठेको थियो । तत्कालीन मार्क्सवादीबाट आएकाहरू सबै हार्छन् कि भन्ने तत्कालीन मालेबाट आएकाहरूमा बहस थियो । तर, मार्क्सवादीबाट आउनु भएका मनमोहन अधिकारी अध्यक्ष हुनुभयो । भरतमणि अधिकारी वरिष्ठ नेता हुनुभयो । सहाना प्रधान, कमल कोइरालालगायतका दर्जनौँ नेताहरू ससम्मान नेकपा एमालेको नेता हुनुभयो । नेकपा एमालेभित्र के विशेषता छ भने यसले सबैलाई समेट्छ । यसले कसैलाई पनि टाढा लेखेट्दैन । सबैलाई समेट्न सक्ने समुद्र हो । तर, कहिलेकाहीँ छाल आउन सक्छ, सबैलाई अटाउने प्रयास गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !


शशांकले भने- कांग्रेस कसैसँग गठबन्धन गर्दैन, पौडेल भन्छन- एकलकाटे हुनुहुँदैन



पोखरा, १६ मंसिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धनको संकेत गरेका छन् । पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उनले नयाँ संविधानपछि कसैले पनि बहुमत ल्याउने अवस्था नभएकोले मन मिल्नेहरूसँग गठबन्धन आवश्यक रहेको बताए ।

‘कम्युनिष्ट पार्टीमा एकथरी पृथक अस्थित्व बनाएर बसेका छन् । केपी ओलीहरू एकातिर छन् । परिस्थितिले उनीहरू फेरि एकैतिर खनिने अवस्था भए कस्तो होला ? अहिले मैले सम्झाउन जरुरी छ । हामी एकोरिँदै गयौं भने गएकै चुनावको ठाउँमा पुगौंला,’ उनले भने, ‘गएको चुनावमा के भयो ? सबै एकातिर हामी अर्काेतिर । परिणाम के भयो ? अहिलेको अहिले नै बिर्सने ?’

उनले कसैले एकल बहुमत ल्याउन नसक्ने बताए । ‘अहिले जे संविधान बनाएका छौं, यो संविधानले समावेशी व्यवस्था ल्याएका छौं । सितिमिती कुनै पार्टीको एब्सुलुट मेजोरिटी आउँदैन । पूरा बहुमत ल्याएर कसैले सरकार चलाउन धेरै कठिन छ । अरूसँग नमिलिकन सम्भव छैन,’ उनी अघि भन्छन्, ‘जसरी शेरबहादुरजी अहिले प्रधानमन्त्री बन्नुभएको छ, उहाँ एक्लै कांग्रेसको मात्र हो र ? यो कुरालाई ध्यान दिनुहोस् । भोलिको चुनावमा पनि कांग्रेसलाई एक्ल्याउने कुरा नगरम । कांग्रेसलाई आईसोलेसनमा पुर्‍याउने कुरा नगरौं ।’

यसअघि बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस आगामी चुनावमा कसैसँग नमिल्ने बताएका थिए । ‘आउँदो निर्वाचनमा तिक्तता नहोस् । कांग्रेसले कसैसँग मिल्नु हुँदैन । कसैसँग नमिलेर हामी एक्लै हिड्नुपर्छ । र हामी विजय हासिल गर्छौं । त्यो अठोट हामीसँग हुनुपर्छ,’ उनले भने ।

कोइरालाले पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तासँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

गण्डकी कांग्रेसमा विवाद : बोल्न नपाएको निहुँमा नाराबाजी, मनोनयन शुल्क घटाउन माग



पोखरा, १६ मंसिर

गण्डकी प्रदेशको जारी अधिवेशनअन्तर्गत बिहीबार उद्घाटन सभामै नाराबाजी भएको छ । आफ्नो पक्षका उम्मेद्वार आकांक्षीलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सभापति पदका उम्मेद्वार अर्जुन जोशी बोलेपछि संस्थापनइतरका आकांक्षीले आफुहरू पनि बोल्न पाउनुपर्ने माग राखे ।

यहाँ संस्थापनबाट जोशी निर्विकल्प उम्मेद्वार बनेका छन् भने इतर पक्षले उम्मेद्वार टुंग्याउन सकेको छैन । कास्कीबाट शुक्रराज शर्मा, देवराज चालिसे र यज्ञबहादुर थापा आकांक्षी छन् । विवादपछि तीनै जनालाई बोल्न दिइएको छ । कांग्रेस कास्कीका सचिव भानु ढकालको नेतृत्वमा असन्तुष्टहरूले नाराबाजी गरेका हुन् ।

यसैबीच, संस्थापनइतरका नेताहरूले उम्मेद्वारी शुल्क अत्यधिक चर्को भएको भन्दै घटाउन माग गरे । नेता महादेव गुरुङले यो शुल्क तिरेर कोही पनि उम्मेद्वार बन्न नसक्ने बताए । गण्डकी कांग्रेसको सभापति उम्मेद्वार बन्न ९१ हजार शुल्क छ । उपसभापतिमा ६१, महामन्त्रीमा ५१, सहमहामन्त्रीमा ४१ र सदस्यको नाम दर्ता गराउन ३१ हजार तोकिएको छ । यस्तै, प्रवेश शुल्कका लागि २ हजार ५ सय छ ।

कार्यक्रम स्थलमै विरोध भएपछि केन्द्रीय निर्वाचन कमिटीले तोकेकै मूल्य कायम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

कांग्रेस महाधिवेशन : नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन नेता सिंहको आग्रह



हेटौँडा, १६ मंसिर

नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पार्टीको नेतृत्व चयन गर्दा ध्यान पु¥याउन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

हेटौडामा भएको कांग्रेस बाग्मती प्रदेश अधिवेशनको उद्घाटन गर्दै बिहीबार नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पु¥याउन आग्रह गरे ।

‘नेतृत्व चयन गर्दा ध्यान नदिने अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ उनले भने, ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ । नेतृत्व चयन गर्दा तपाईंहरूले ध्यान दिनु पर्दछ ।’

कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताएउँदै उनले भने, ‘संविधान जारी गरी जनतामा जाँदा दुई तिहाइ त कांग्रेसले पाउनुपर्ने हो । तर, कम्युनिष्टहरूले प्राप्त गरे।’

संविधान जारी गरेको कांग्रेसले यसको संस्थागत तथा लागू गर्ने जिम्मेवारी पनि कांग्रेसमा नै रहेको नेता सिंहको भनाइ छ ।

समयमा नै ख्याल नगरे लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको बताउँदै उनले कम्युनिटहरूले प्राप्त उपलब्धीहरू नष्ट गर्न लागि परेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: