१६ मंसिर २०७८, बिहीबार
 |   Thu Dec 2 2021
Logo

सुरक्षा निकायको क्षमता अभिवृद्धि सरकारको विशेष प्राथमिकतामा : प्रधानमन्त्री



प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौँमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सुरक्षा निकायलाई सबल बनाउन सके मात्रै मुलुक र नागरिकको सुरक्षा हुनेमा जोड दिनुभयो । शान्ति, सुरक्षा, विकास निर्माण र सुशासनको आधारशीला भएको उल्लेख गर्नुहुँदै उहाँले मुलुकको अस्तित्व जोगाउन तथा नागरिकको सुरक्षित जीवन सम्भव बनाउन सबल र सुदृढ आन्तरिक तथा बाह्य सुरक्षा प्रबन्ध आवश्यक भएको बताउनुभयो ।

“सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न विशेष जोड दिँदै आएको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो । राष्ट्र र जनताप्रति अनुशासित, इमान्दार, व्यावसायिक र उत्पादनशील भएर काम गर्न उहाँले सशस्त्र प्रहरीलाई निर्र्देशन दिनुभयो । प्रधानमन्त्री देउवाले सीमा अपराध नियन्त्रणलगायत राष्ट्रियता तथा मुलुकको अस्मिता जोगाउन अग्रपङ्क्तिमा खटिएर काम गर्दैआएकामा सशस्त्र प्रहरीको प्रशंसा गर्नुभयो ।

नेपालको सुरक्षा निकाय आतङ्कवाद र सीमा अपराध नियन्त्रण गर्न सक्षम रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले भूकम्प र कोभिड–१९ जस्ता सङ्कट र विपद् व्यवस्थापन तथा पुनःस्थापनाका लागि सशस्त्र प्रहरीले गरेको काम अनुकरणीय रहेको स्मरण गर्नुभयो । उहाँले वर्तमान सरकार विधिको शासन स्थापना गर्न, संविधानको भावना र मर्मअनुसार जनताको नैसर्गिक अधिकारको संरक्षण, भ्रष्टाचारमुक्त समाज निर्माण, भाइचारा र सहअस्तित्व कायम राख्दै सबै जातजाति, भाषाभाषी, लिङ्ग, वर्ण र समुदायको सर्वाङ्गिण विकास गर्न दृढ सङ्कल्पित रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले सरकारको उक्त सङ्कल्प पूरा गर्न तीनै तहका सरकार, राज्यका सबै तह, सङ्घसंस्था, नागरिक समाज र आम जनताको सामूहिक प्रयासको आवश्यकता औँल्याउनुभयो । उहाँले कर्तव्यनिष्ठ, लगनशील र अनुशासित भई मुलुक र नागरिकको सुरक्षामा खटिन सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री देउवाको निर्देशन अक्षरसः पालना गर्ने प्रतिबद्धता जनाउँदै नेपाल सरकारबाट सशस्त्र प्रहरीलाई स्रोत साधन उपलब्ध गराउन तथा क्षमता अभिवृद्धि गर्न सहयोग प्राप्त हुने विश्वस व्यक्त गर्नुभयो । जस्तोसुकै सुरक्षा चुनौतीका बीच सशस्त्र प्रहरीले ज्यानको बाजी लगाएर काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो । राष्ट्र र जनताका लागि सुरक्षित र सचेत रहँदै आवश्यक पर्दा ज्यान अर्पण गर्न उहाँले मातहतका सशस्त्र प्रहरी कर्मचारी तयार रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा दीक्षित सशस्त्र प्रहरीले प्र्रतिष्ठानका कार्यकारी निर्देशक खड्गबहादुर राईबाट शपथ लिएका थिए । पन्ध्र महिने तालिम सकाएर चार महिलासहित ५८ सशस्त्र प्रहरी निरीक्षक दीक्षित भएका छन् । प्रशिक्षण अवधिभर विभिन्न क्रियाकलापमा सहभागी भई उत्कृष्ट भएका प्रशिक्षार्थीलाई सो अवसरमा पुरस्कारसमेत वितरण गरिएको थियो ।

प्रशिक्षण अवधिभर प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्ट पहिलो, सहिष्णुता विधातर्फ प्रकाशकुमार शाही, कवाज विधातर्फ चन्द्रबहादुर लामा र चाँदमारी विधातर्फ सन्दीप भट्ट उत्कृष्ट भइ पुरस्कृत हुनुभएको थियो । सो अवसरमा सशस्त्र प्रहरीद्वारा कवाज, ब्याण्ड र खुकुरी ड्रिल, नृत्य तथा झाँकी प्रदर्शन गरिएको थियो । समारोहमा सशस्त्र प्रहरीले दीक्षान्त कवाजद्वारा प्रधानमन्त्री देउवालाई सलामी अर्पण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !


शशांकले भने- कांग्रेस कसैसँग गठबन्धन गर्दैन, पौडेल भन्छन- एकलकाटे हुनुहुँदैन



पोखरा, १६ मंसिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धनको संकेत गरेका छन् । पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उनले नयाँ संविधानपछि कसैले पनि बहुमत ल्याउने अवस्था नभएकोले मन मिल्नेहरूसँग गठबन्धन आवश्यक रहेको बताए ।

‘कम्युनिष्ट पार्टीमा एकथरी पृथक अस्थित्व बनाएर बसेका छन् । केपी ओलीहरू एकातिर छन् । परिस्थितिले उनीहरू फेरि एकैतिर खनिने अवस्था भए कस्तो होला ? अहिले मैले सम्झाउन जरुरी छ । हामी एकोरिँदै गयौं भने गएकै चुनावको ठाउँमा पुगौंला,’ उनले भने, ‘गएको चुनावमा के भयो ? सबै एकातिर हामी अर्काेतिर । परिणाम के भयो ? अहिलेको अहिले नै बिर्सने ?’

उनले कसैले एकल बहुमत ल्याउन नसक्ने बताए । ‘अहिले जे संविधान बनाएका छौं, यो संविधानले समावेशी व्यवस्था ल्याएका छौं । सितिमिती कुनै पार्टीको एब्सुलुट मेजोरिटी आउँदैन । पूरा बहुमत ल्याएर कसैले सरकार चलाउन धेरै कठिन छ । अरूसँग नमिलिकन सम्भव छैन,’ उनी अघि भन्छन्, ‘जसरी शेरबहादुरजी अहिले प्रधानमन्त्री बन्नुभएको छ, उहाँ एक्लै कांग्रेसको मात्र हो र ? यो कुरालाई ध्यान दिनुहोस् । भोलिको चुनावमा पनि कांग्रेसलाई एक्ल्याउने कुरा नगरम । कांग्रेसलाई आईसोलेसनमा पुर्‍याउने कुरा नगरौं ।’

यसअघि बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस आगामी चुनावमा कसैसँग नमिल्ने बताएका थिए । ‘आउँदो निर्वाचनमा तिक्तता नहोस् । कांग्रेसले कसैसँग मिल्नु हुँदैन । कसैसँग नमिलेर हामी एक्लै हिड्नुपर्छ । र हामी विजय हासिल गर्छौं । त्यो अठोट हामीसँग हुनुपर्छ,’ उनले भने ।

कोइरालाले पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तासँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

गण्डकी कांग्रेसमा विवाद : बोल्न नपाएको निहुँमा नाराबाजी, मनोनयन शुल्क घटाउन माग



पोखरा, १६ मंसिर

गण्डकी प्रदेशको जारी अधिवेशनअन्तर्गत बिहीबार उद्घाटन सभामै नाराबाजी भएको छ । आफ्नो पक्षका उम्मेद्वार आकांक्षीलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सभापति पदका उम्मेद्वार अर्जुन जोशी बोलेपछि संस्थापनइतरका आकांक्षीले आफुहरू पनि बोल्न पाउनुपर्ने माग राखे ।

यहाँ संस्थापनबाट जोशी निर्विकल्प उम्मेद्वार बनेका छन् भने इतर पक्षले उम्मेद्वार टुंग्याउन सकेको छैन । कास्कीबाट शुक्रराज शर्मा, देवराज चालिसे र यज्ञबहादुर थापा आकांक्षी छन् । विवादपछि तीनै जनालाई बोल्न दिइएको छ । कांग्रेस कास्कीका सचिव भानु ढकालको नेतृत्वमा असन्तुष्टहरूले नाराबाजी गरेका हुन् ।

यसैबीच, संस्थापनइतरका नेताहरूले उम्मेद्वारी शुल्क अत्यधिक चर्को भएको भन्दै घटाउन माग गरे । नेता महादेव गुरुङले यो शुल्क तिरेर कोही पनि उम्मेद्वार बन्न नसक्ने बताए । गण्डकी कांग्रेसको सभापति उम्मेद्वार बन्न ९१ हजार शुल्क छ । उपसभापतिमा ६१, महामन्त्रीमा ५१, सहमहामन्त्रीमा ४१ र सदस्यको नाम दर्ता गराउन ३१ हजार तोकिएको छ । यस्तै, प्रवेश शुल्कका लागि २ हजार ५ सय छ ।

कार्यक्रम स्थलमै विरोध भएपछि केन्द्रीय निर्वाचन कमिटीले तोकेकै मूल्य कायम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

कांग्रेस महाधिवेशन : नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन नेता सिंहको आग्रह



हेटौँडा, १६ मंसिर

नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पार्टीको नेतृत्व चयन गर्दा ध्यान पु¥याउन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

हेटौडामा भएको कांग्रेस बाग्मती प्रदेश अधिवेशनको उद्घाटन गर्दै बिहीबार नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पु¥याउन आग्रह गरे ।

‘नेतृत्व चयन गर्दा ध्यान नदिने अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ उनले भने, ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ । नेतृत्व चयन गर्दा तपाईंहरूले ध्यान दिनु पर्दछ ।’

कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताएउँदै उनले भने, ‘संविधान जारी गरी जनतामा जाँदा दुई तिहाइ त कांग्रेसले पाउनुपर्ने हो । तर, कम्युनिष्टहरूले प्राप्त गरे।’

संविधान जारी गरेको कांग्रेसले यसको संस्थागत तथा लागू गर्ने जिम्मेवारी पनि कांग्रेसमा नै रहेको नेता सिंहको भनाइ छ ।

समयमा नै ख्याल नगरे लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको बताउँदै उनले कम्युनिटहरूले प्राप्त उपलब्धीहरू नष्ट गर्न लागि परेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: