१९ मंसिर २०७८, आईतवार
 |   Sun Dec 5 2021
Logo

एमाले महाधिवेशन : उम्मेदवारका आ-आफ्नै शैली



नेकपा एमालेका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरी पार्टीको दशौं महाधिवेशनको दौरानमा धेरै पटक बुटवल-काठमाडौं ओहोरदोहोर गरे । रुपन्देही तिलोत्तमा नगरपालिका निवासी उनी पार्टीको केन्द्रीय कमिटी बैठकमा भाग लिन काठमाडौं जानु बाध्यता हो । तर, उनी अरु नेताजस्तै निजी गाडी वा विमानमा होइन, सार्वजनिक गाडीमा हिंड्छन् र काठमाडौंमा पुगेर खुमलटारस्थित एक गेष्ट हाउसमा सय रुपैयाँको खाना खान्छन् र दुई सय रुपैयाँको बेडमा रात बिताउँछन् ।

नार्कको कृषि अनुसन्धान परिषद्को उक्त गेष्टहाउसबाट पार्टीको बैठकमा जाँदा कहिल्यै गाडी रिजर्ब गरेनन् । उक्त गेष्ट हाउस परिषद्को भए पनि व्यक्तिले सञ्चालन गरिरहेका छन् । त्यहाँबाट कहिले सार्वजनिक बस त कहिले पठाओको सवारीसाधन बोलाए र बैठकस्थल पुग्छन् । उनको यो क्रम अहिले पनि जारी छ । सरल र सादगी नेताको परिचय बनाएका गिरी फेरि केन्द्रीय सदस्यमा दोहोरिने तयारीमा छन् । ‘म फेरि केन्द्रीय सदस्यमा उठ्छु, अझै एक कार्यकाल पार्टीको केन्द्रीय कमिटीमा रहेर काम गर्ने इच्छा छ,’ उनी भन्छन् । उनी हरेकपल्टको बैठकमा काठमाडौं जाँदा त्यही दुई रुपैयाँ पर्ने होटलमा बास बस्ने गरेको र टुटल, पठाओमा यात्रा गर्ने गरेको सुनाउँछन् । ‘नेतामा सरलता र सादगी जीवनशैली भएन भने जनताले विश्वास गर्दैनन्,’ उनको भनाइ छ ।

गिरीले कतिपय महाधिवेशन प्रतिनिधिलाई भेटेर र कतिपयलाई फोन गरेर आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन् । भेट्न नपाएकाहरूलाई महाधिवेशनस्थलमै कुरा गरेर आफ्नो उम्मेदवारीबारे जानकारी गराउने उनको तयारी छ । ‘केन्द्रीय सदस्यमा मलाई सबैले विश्वास गर्छन् भन्ने विश्वास छ,’ उनी भन्छन् ।

गिरी लुम्बिनी प्रदेश सभा सदस्य पनि हुन् । शंकर पोखरेल नेतृत्वको सरकारमा गिरी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए । २०७४ सालमा रुपन्देही-२ को प्रदेश सभा १ बाट उम्मेदवार हुँदा पनि उनको बेग्लै शैली थियो । बिहान, बेलुका घरमा गाई दुहुने र डेरीमा लैजाने र दिनभर चुनावमा खटिने उनको दिनचर्या थियो । २०६४ सालको संविधान सभा चुनावमा उनी रुपन्देही-३ बाट कांग्रेस नेता बालकृष्ण खाँणसँग पराजित भएका थिए ।

सरल नेताका रुपमा चिनिएका गिरीको शैलीलाई सबैले अनुशरण गर्नुपर्ने एमाले महाधिवेशन प्रतिनिधि मोहन चापागाई बताउँछन् । ‘यस्तो सादगीपन कमै मात्र नेतामा पाइन्छ, स्वच्छ छवीका नेताहरूलाई नै महाधिवेशनले चुन्ने हाम्रो विश्वास छ,’ उनी भन्छन् ।

सरल जीवनशैलीलाई अंगाल्ने र सुविधाप्रति कुनै मोह नभएका दधिराम न्यौपानेले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछन् । तत्कालीन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य उनी नेकपा विभाजनसँगै एमाले रोजेका थिए । त्यसपछि माओवादीले कारवाही गर्दा न्यौपानेको प्रदेश सांसद पद गुमेको थियो । लुम्बिनी प्रदेशको अर्थ तथा पर्यटन समितिका तत्कालीन सभापति हुँदा उनलाई गाडीलगायत राम्रै सुविधा थियो । तर, उनले त्यसको परवाह नगरी एमाले रोजे र सांसद पद त्यागे । ‘मेरा लागि पैसा कमाउनु ठूलो कुरा होइन, सेवा गर्नु मुख्य कुरा हो,’ उनी भन्छन् ।

मजदूर आन्दाेलनबाट उदाएका कमल गौतम पनि सरल नेताको रुपमा चिनिन्छन् । रुपन्देहीबाट मजदुर कोटामा महाधिवेशन प्रतिनिधि रहेका गौतमले पनि केन्द्रीय सदस्यमा लड्ने घोषणा गरेका छन् । उनी हाल जिफन्टको केन्द्रीय उपाध्यक्ष छन् ।

सादा जीवनशैलीलाई अंगाल्ने र तल्लो वर्गको श्रमजिवी मजदुरसँग हातेमालो गर्ने भएकाले सबै प्रतिनिधिले विश्वास गर्ने गौतमको अपेक्षा छ । विकासका दृष्टिले मुलुक कै नमूना कहलिएको र नेपाल नगरपालिका संघबाट पुरस्कार हात पारेको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिँदैछन् । ‘धेरै प्रतिनिधिहरूको चाहनाअनुसार मैले उम्मेदवारी दिने सोंच बनाएको छु,’ उनले भने । उनले तिलोत्तमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरेर अर्बैं रकम जुटाएका थिए । सोही लगानी सम्मेलनको फलस्वरुप ४० अर्ब लागतमा दुग्ध प्रशोधन उद्योग तिलोत्तमामा स्थापना हुँदैछ । आफू जनताको विश्वास जितेर काम गर्न केन्द्रीय कमिटीमा जान चाहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !


माओवादी केन्द्रको राष्ट्रिय भेलाः गुरुङको भागमा विधान, हितमानलाई व्यवस्थापनको जिम्मा



काठमाडौं, १९ मंसिर

नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । 

स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार माओवादीको विधान परिमार्जन गर्ने जिम्मा स्थायी कमिटी सदस्य देव गुरुङले पाएका छन् । उनको संयोजकत्वमा गठन भएको विधान परिमार्जन समितिले पार्टीको आगामी विधानको परिमार्जित मस्यौदा राष्ट्रिय सम्मेलनमा पेस गर्नेछ । 

त्यसैगरी काठमाडौंमा हुने सम्मेलनको मूल व्यवस्थापनको जिम्मा हितमान शाक्य नेतृत्वको सात सदस्यीय कमिटीले पाएको छ । 

सम्मेलनको प्रचारको काम भने प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वमा गठित उपसमितिले गर्नेछ । 

सर्कुलरअनुसार सम्मेलनमा सहभागी हुने प्रतिनिधकिो छनोट मंसिर मसान्तसम्ममा सक्नुपर्नेछ । सम्मेलनमा सहभागी कुल सदस्यको ५ प्रतिशत प्रतिनिधि केन्द्रले मनोनयन गर्ने परिपत्रमा उल्लेख छ । हरेक प्रदेशवाट ३० जनाका दरले र एक हजार पाँच सय संगठित सदस्य बराबर एकजनाले सम्मेलनमा भाग लिन पाउनेछन् । 

प्रदेशबाट प्रतिनिधित्व गर्ने ३० मध्ये एकजना अपांगता भएका र सशस्त्र विद्रोहमा घाइते भएकाहरू अनिवार्य समेटिनुपर्ने परिपत्रमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस !

पराजित कमल थापाले भने- ‘पुरस्कार पाएँ, राजाको भलो होस्



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएको कमल थापाले विजयी राजेन्द्र लिङ्देनलाई बधाइ दिनु भएको छ । थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनुभएको छ । यद्यपि, उहाँले पराजयलाई सहर्ष स्वीकार गर्ने बताउनुभएको छ ।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना’, उहाँले भन्नुभएको छ, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’

थापाले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गनुभएको छ । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि उहाँको आरोप छ ।

उहाँले लेख्नुभएको छ– ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’

प्रतिक्रिया दिनुहोस !

नेपाली काँग्रेस प्रदेश- २ को अधिवेशन स्थगित, नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने



काठमाडौ । नेपाली कांग्रेसको प्रदेश- २ को अधिवेशन उद्घाटनपछि स्थगित भएको छ । प्रदेश २ का धनुषाबाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको निर्वाचन समितिले बताए ।अब प्रदेश- २ को नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने बताइएको छ। प्रदेश अधिवेशनको उद्घाटन भएको तीन दिन बितिसक्दा पनि मनोनय दर्तालगायत चुनावी प्रक्रिया अगाडि बढेको छैन।

यता प्रदेश सभापतिलगायत पदहरूमा आकांक्षीहरूले औपचारिक रुपमा उम्मेदवारीसमेत घोषणा गरिसकेका छन्।प्रदेशका ८ जिल्लाका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अविधेशन स्थगित भएको निर्वाचन समितिले बताए।सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ ९ख०, सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन सकेका छैनन्।

सर्लाहीमा त अहिलेसम्म वडा अधिवेशनसमेत हुन सकेको छैन। निर्वाचन समितिकाअनुसार सर्लाही जिल्लामा अधिवेशनको प्रक्रियामा झमेला देखिएको छ।जिल्लाका निर्वाचन समितिहरूबाट प्राप्त हुनुपर्ने मतदाता नामावली साँझसम्म उपलब्ध नभएकाले पूर्वघोषित निर्वाचन तालिकाअनुसार शनिबार पनि मतदाता नामावली प्रकाशन हुन सकेन।

मतदाता नामावली नै प्रकाशन हुन नसकेको कारण आइतबार हुने भनिएको मनोनयन पत्र दाखिला पनि स्थगित भएको छ। रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनोटको काम सम्पन्न भइसकेको बताइए पनि निर्वाचन समितिमा नामावली प्राप्त हुन सकेन।” श्रोतका अनुसार प्रदेशको नेतृत्व चयनको प्रक्रिया अब महाधिवेशनपछि मात्र हुनेछ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: