१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

एमाले महाधिवेशन : २१ सय ७५ प्रतिनिधि सहभागी, प्रधानमन्त्री देउवालगायत विदेशी पाहुनाले सम्बोधन गर्ने



चितवन, ९ मंसिर

नेकपा (एमाले)को १०औँ महाधिवेशनको ९५ प्रतिशत तयारी सकिएको छ । महाधिवेशनको तयारीबारे एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार उद्घाटनस्थल नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी आज रातिसम्म सबै काम पूरा हुने जानकारी दिए ।

महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइपुगेका छन् । महाधिवेशनको बन्दसत्र हुने सौराहाको होटल सेभेन स्टारको आडैमा प्रतिनिधि र स्वयंसेवक अट्ने हल लगभग निर्माण भइसकेको उनले बताए ।

जिल्लाका चोक-चोकमा झन्डा राखिएको छ । जिल्लाभित्र ५० भन्दा बढी स्वागत द्वार निर्माण गरिएको उनको भनाइ छ । महाधिवेशन सम्पन्न गर्न साढे सात करोड बढी खर्च लाग्ने अनुमान गरिएको छ । जिल्ला प्रवेश गर्ने नाकाहरूमा पनि प्रवेश द्वार निर्माण गरिएको छ ।

उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आमजनसमुदायसमेत गरी पाँच लाख जना सहभागी हुने एमालेको अपेक्षा छ । सहभागीहरूलाई नारायणी नदी किनारको नारायणगढ र गैंडाकोट दुवैतर्फ राखिने उनले बताए । उद्घाटनमा जिल्लाको सात स्थानबाट जुलुस निस्कने उनको भनाइ छ ।

बन्द सत्रमा भूगोल, जसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका गरी दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय तीन जना पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिहरूमध्ये ६ सय २७ जना महिला प्रतिनिधि हुनेछन् । दलित उत्पिडित क्षेत्रबाट दुई सय नाै जना प्रतिनिधि आउने छन् ।

महाधिवेशनको उद्घाट सत्रमा व्यवस्थापनका लागि पाँच हजार स्वयंसेवक खटाइने उनले बताए । प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई खानपान र बन्दोबस्तको व्यवस्था गरिएको छ ।

भोलि महाधिवेशन उद्घाटन सत्रको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गर्ने छन् । त्यसका लागि ओली बिहीबार नै चितवन आइपुगेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आउने छन् ।

बन्दसत्रलाई पार्टी अध्यक्ष ओली र विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम छ । ‘त्यसलगत्तै निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया अघि बढाउँछ । साँझ ६ बजेसम्ममा उम्मेदवारी दर्ता, फिर्ता लिने, दाबी विरोधलगायतका सबै प्रक्रिया पूरा गरेर उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गर्ने भनी आयोगले दिएको छ’, उनले भने ।

महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनितिक दलका नेताहरू सहभागी हुने उनले बताए । चिनियाँ कम्युनिष्ट पार्टीले महाधिवेशनका लागि भिडियो सन्देश पठाएको उनले जानकारी दिए ।

उद्घाटनपछि सबै प्रतिनिधिहरू सौराहा जाने उनले बताए । भोलि बेलुका प्रतिनिधिहरूको परिचय पत्र वितरण हुने छ । ११ मंसिर बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुनेछ । बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ ।

१२ मंसिर बिहान ८ बजेबाट मतदान सुरु हुने छ । सयवटा इलेक्ट्रोनिक भोटिङ मेसिनमध्ये १० वटा स्टक राखेर ९० वटामा भोटिङको काम हुने उनले बताए । त्यस दिन साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका छ । जबजको मार्गदर्शनबाट समाजवादसम्म पुग्ने एमालेको अबको नीति रहेको उनले बताए ।

‘महाधिवेशनलगत्तै एमाले चुनावको तयारीमा जाँदै छ । स्थानीय चुनाव, संघ र प्रदेशका चुनावमा एमालेले बहुमत हासिल गर्नेगरी एउटा संकल्प गरेर फर्किन्छ’, उनले भने, ‘यो महाधिवेशन एकता र सहमतिको महाधिवेशन हुने छ । पार्टीभित्रका अन्तरविरोधहरूलाई मैत्रीपूर्ण तरिकाले समाधान गर्दै एमालेलाई यो देशको एकमात्र कम्युनिष्ठ पार्टीको रूपमा स्थापित गर्ने काम हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !


बालिका मृत्युकाे विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप, नाै जना सुरक्षाकर्मी घाइते



कपिलवस्तु, १४ मंसिर

सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नाै जना सुरक्षाकर्मी घाइते भएका छन् । यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवकाे मृत्यु भएकाे थियो ।

मृत्युको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हाे ।  स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेका थिए ।  झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलासकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बाल गोविन्द कुर्मी, अनिल थारु, राज कुमार तेली, विवेक खत्री र कमल थापा घाइते भएका छन् ।  

अश्रु ग्यास प्रहारपछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो । अहिले अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने



काठमाडौं, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ । 

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । 

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ । 
 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने



चितवन, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । 

कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ । 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताए । 

मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: