१६ मंसिर २०७८, बिहीबार
 |   Thu Dec 2 2021
Logo

पर्वत कांग्रेसकाे बागडाेर फेरि जोशी परिवारमा, सभापतिमा युवराज विजयी



पोखरा, १० मंसिर

पर्वत कांग्रेसका संस्थापकमध्ये एक हुन् अमृतप्रसाद जोशी । कांग्रेसको राजनीतिमा जोशीको भूमिका महत्वपूर्ण छ । आन्दोलनको नेतृत्व मात्रै होइन, पारिवारिक सम्बन्ध पनि कांग्रेससँगै जोडिएको छ ।

स्याङ्जाका नेता गोपालमान श्रेष्ठले उनै जोशीका छोरी बिहे गरेका हुन् । श्रेष्ठ हाल कांग्रेसको केन्द्रीय सदस्य छन् । पर्वत कांग्रेसमा सभापति नभए पनि लामो समय उनै अमृतको चहलपहल रह्यो । २०३२ सालमा पहिलो पटक इन्दु शर्मा कांग्रेसको सभापति बने । उनी १६ वर्ष सभापति भएपछि अमृतका जेठा छोरा अर्जुन जोशीलाई पार्टी सुम्पिए । जानकारहरूका अनुसार अमृत र इन्दु निकट थिए । जसकारण लामो समय उनी सभापति हुँदा अमृतले साथ दिए । अमृत तत्कालीन जिविसको सभापति भएर काम गरेका थिए ।

त्यसपछिको १६ वर्ष अर्थात् २०६४ सम्म अर्जुन पर्वतको कांग्रेस सभापति बने । २०६४ देखि ०६७ सम्म नवराज गुरुङ, ०६७ देखि ०७१ सम्म लालकाजी गुरुङ र त्यसपछि खिमप्रसाद भुसाल नेतृत्वमा रहे । अर्जुनले सभापति छाडेको १४ वर्षपछि उनकै परिवारमा नेतृत्व पुगेको छ । अर्जुनका भाइ युवराज जोशी सभापति निर्वाचित भएका छन् । पर्वतमा जोशी परिवारको बोलवाला कायम छ ।

त्यसको प्रमाण संसदीय निर्वाचनमा दिइएको टिकटबाट थाहा लाग्छ । २०५६ देखि हालसम्मको संसदीय निर्वाचनमा सधैं अर्जुन जोशी उम्मेदवार बनेका छन् । २०४८ मा दुई क्षेत्र रहेको पर्वतको १ बाट नवराज गुरुङ र २ बाट उमा रेग्मी उम्मेदवार थिए । २०५१ मा १ बाट इन्दु शर्मा र २ बाट उमाको उम्मेदवारी दोहोरियो ।

२०५६ मा क्षेत्र नम्बर १ को उम्मेदवार बने जोशी । २ बाट डिल्लीराज शर्मा उम्मेदवार थिए । २०६४, २०७० हुँदै २०७४ मा लगातार चौंथो पटक उनी प्रतिनिधिसभा सांसदका लागि प्रतिस्पर्धी बने । वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका जोशी केन्द्रीय सदस्य बन्नकै लागि १३औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलमा छिरे । अहिले सभापति बनेका युवराज देउवा प्यानलकै हुन् ।

उनका निकटतम प्रतिस्पर्धी यामबहादुर मल्ल (रामकृष्ण) पनि देउवा समूहकै हुन् । जोशीले मल्ललाई एक सय ६० मतान्तरले पराजित गरेर सभापति बनेका हुन् । जोशीले ६ सय नाै मत पाए भने मल्लले चार सय ४९ मत प्राप्त गरे । सभापतिका लागि तीनजनाको उम्मेदवारी थियो । अर्का उम्मेदवार मिलन सुवेदीले ९६ मत ल्याए । सुवेदी पनि अर्जुन जोशी नजिककै थिए । यो अधिवेशनमा जोशीकै क्याम्प बाहिर गएर स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् । पर्वतको उपसभापतिमा डा. चूडामणि शर्मा र शिवप्रसाद सुवेदी, सचिवमा अशोक उचै ठकुरी र गुप्तनिधि शर्मा तथा सहसचिवमा अच्युत तिवारी र तिलकप्रसाद भुसाल विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा सांसदहरू पराजित

महाधिवेशन प्रतिनिधिमा सांसददेखि पूर्वसभापतिसम्म पराजित भएका छन् । संघीय सांसद लालकाजी गुरुङ र प्रदेश सांसद ललितकला गुरुङ महाधिवेशनमै पराजीत भएका हुन् । उनीहरू दुवैजना समानुपातिक सांसद हुन् । १० जना प्रतिनिधि निर्वाचित हुनुपर्नेमा लालकाजी खुलाबाट १२औं स्थानमा परे भने महिलाबाट उम्मेदवारी दिएकी ललितकला पाँचौं स्थानमा परिन् । महिलामा चार जना निर्वाचित हुने व्यवस्था थियो । खुलाबाट चुनाव लडेका जिल्ला सचिव विश्वप्रकाश प्रसाईं र उपसभापति दुर्गाबहादुर खत्रीसमेत पराजित भए । नेताहरू राम शर्मा पौडेल, गंगाधर पौडेललगायतले पराजय भोगे ।

महाधिवेशन प्रतिनिधिमा खुलातर्फ रामचन्द्र जोशी, नवराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, विद्वान गुरुङ, ऋषिकेश तिवारी, विमलराज क्षेत्री, राजेन्द्रप्रसाद तिवारी, बसन्तबहादुर सिके र खिमप्रसाद भुसाल विजयी भएका छन् । खुल्ला महिलातर्फ सीताकुमारी काफ्ले लामिछाने, मुना भुसाल, रेखा गुरुङ र राधाकुमारी कुँवर क्षेत्री विजयी भए । खस आर्य खुलामा तोरण मल्ल ठकुरी, डा. केदार सुवेदी र कुलप्रसाद उपाध्याय, खस आर्य महिलामा मुना शर्मा लामिछाने, मिनाकुमारी केसी र सिर्जना मल्ल, आदिवासी जनजातितर्फ मीना कर्माचार्य र मोहनबहादुर गुरुङ, अपांगता कोटामा लेखनाथ पौडेल र दलितमा खुलातर्फ जीवनबहादुर नेपाली र खैसरा दर्जीले जितेका छन् । मुस्िम कोटामा सनम बेगम निर्विरोध चयन भए ।


प्रतिक्रिया दिनुहोस !


शशांकले भने- कांग्रेस कसैसँग गठबन्धन गर्दैन, पौडेल भन्छन- एकलकाटे हुनुहुँदैन



पोखरा, १६ मंसिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धनको संकेत गरेका छन् । पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उनले नयाँ संविधानपछि कसैले पनि बहुमत ल्याउने अवस्था नभएकोले मन मिल्नेहरूसँग गठबन्धन आवश्यक रहेको बताए ।

‘कम्युनिष्ट पार्टीमा एकथरी पृथक अस्थित्व बनाएर बसेका छन् । केपी ओलीहरू एकातिर छन् । परिस्थितिले उनीहरू फेरि एकैतिर खनिने अवस्था भए कस्तो होला ? अहिले मैले सम्झाउन जरुरी छ । हामी एकोरिँदै गयौं भने गएकै चुनावको ठाउँमा पुगौंला,’ उनले भने, ‘गएको चुनावमा के भयो ? सबै एकातिर हामी अर्काेतिर । परिणाम के भयो ? अहिलेको अहिले नै बिर्सने ?’

उनले कसैले एकल बहुमत ल्याउन नसक्ने बताए । ‘अहिले जे संविधान बनाएका छौं, यो संविधानले समावेशी व्यवस्था ल्याएका छौं । सितिमिती कुनै पार्टीको एब्सुलुट मेजोरिटी आउँदैन । पूरा बहुमत ल्याएर कसैले सरकार चलाउन धेरै कठिन छ । अरूसँग नमिलिकन सम्भव छैन,’ उनी अघि भन्छन्, ‘जसरी शेरबहादुरजी अहिले प्रधानमन्त्री बन्नुभएको छ, उहाँ एक्लै कांग्रेसको मात्र हो र ? यो कुरालाई ध्यान दिनुहोस् । भोलिको चुनावमा पनि कांग्रेसलाई एक्ल्याउने कुरा नगरम । कांग्रेसलाई आईसोलेसनमा पुर्‍याउने कुरा नगरौं ।’

यसअघि बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस आगामी चुनावमा कसैसँग नमिल्ने बताएका थिए । ‘आउँदो निर्वाचनमा तिक्तता नहोस् । कांग्रेसले कसैसँग मिल्नु हुँदैन । कसैसँग नमिलेर हामी एक्लै हिड्नुपर्छ । र हामी विजय हासिल गर्छौं । त्यो अठोट हामीसँग हुनुपर्छ,’ उनले भने ।

कोइरालाले पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तासँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

गण्डकी कांग्रेसमा विवाद : बोल्न नपाएको निहुँमा नाराबाजी, मनोनयन शुल्क घटाउन माग



पोखरा, १६ मंसिर

गण्डकी प्रदेशको जारी अधिवेशनअन्तर्गत बिहीबार उद्घाटन सभामै नाराबाजी भएको छ । आफ्नो पक्षका उम्मेद्वार आकांक्षीलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सभापति पदका उम्मेद्वार अर्जुन जोशी बोलेपछि संस्थापनइतरका आकांक्षीले आफुहरू पनि बोल्न पाउनुपर्ने माग राखे ।

यहाँ संस्थापनबाट जोशी निर्विकल्प उम्मेद्वार बनेका छन् भने इतर पक्षले उम्मेद्वार टुंग्याउन सकेको छैन । कास्कीबाट शुक्रराज शर्मा, देवराज चालिसे र यज्ञबहादुर थापा आकांक्षी छन् । विवादपछि तीनै जनालाई बोल्न दिइएको छ । कांग्रेस कास्कीका सचिव भानु ढकालको नेतृत्वमा असन्तुष्टहरूले नाराबाजी गरेका हुन् ।

यसैबीच, संस्थापनइतरका नेताहरूले उम्मेद्वारी शुल्क अत्यधिक चर्को भएको भन्दै घटाउन माग गरे । नेता महादेव गुरुङले यो शुल्क तिरेर कोही पनि उम्मेद्वार बन्न नसक्ने बताए । गण्डकी कांग्रेसको सभापति उम्मेद्वार बन्न ९१ हजार शुल्क छ । उपसभापतिमा ६१, महामन्त्रीमा ५१, सहमहामन्त्रीमा ४१ र सदस्यको नाम दर्ता गराउन ३१ हजार तोकिएको छ । यस्तै, प्रवेश शुल्कका लागि २ हजार ५ सय छ ।

कार्यक्रम स्थलमै विरोध भएपछि केन्द्रीय निर्वाचन कमिटीले तोकेकै मूल्य कायम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

कांग्रेस महाधिवेशन : नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन नेता सिंहको आग्रह



हेटौँडा, १६ मंसिर

नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पार्टीको नेतृत्व चयन गर्दा ध्यान पु¥याउन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

हेटौडामा भएको कांग्रेस बाग्मती प्रदेश अधिवेशनको उद्घाटन गर्दै बिहीबार नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पु¥याउन आग्रह गरे ।

‘नेतृत्व चयन गर्दा ध्यान नदिने अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ उनले भने, ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ । नेतृत्व चयन गर्दा तपाईंहरूले ध्यान दिनु पर्दछ ।’

कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताएउँदै उनले भने, ‘संविधान जारी गरी जनतामा जाँदा दुई तिहाइ त कांग्रेसले पाउनुपर्ने हो । तर, कम्युनिष्टहरूले प्राप्त गरे।’

संविधान जारी गरेको कांग्रेसले यसको संस्थागत तथा लागू गर्ने जिम्मेवारी पनि कांग्रेसमा नै रहेको नेता सिंहको भनाइ छ ।

समयमा नै ख्याल नगरे लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको बताउँदै उनले कम्युनिटहरूले प्राप्त उपलब्धीहरू नष्ट गर्न लागि परेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: