१९ मंसिर २०७८, आईतवार
 |   Sun Dec 5 2021
Logo

नगरपालिकाभित्रै छैन सडकको पहुँच



पाल्पा, १० मङ्सिर (रासस) : जिल्लाको तानसेन नगरपालिकाकाभित्रका बस्तीमा सडकको पहुँच नहुँदा कृषि उत्पादन बजारसम्म निकासी गर्न समस्या भएको छ । खेतबारीमा उत्पादित तरकारी बजार पु¥याउन नै समस्या भएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।

तानसेन नगरपालिका–१०, जमुनाखर्ककी सीतादेवी आलेले १० वर्ष अघिदेखि तरकारी खेती गर्नुहुन्थ्यो । दलित तथा जनजाति बस्ती रहेको यस क्षेत्रमा व्यावसायिक रुपमा तरकारी खेती हुँदै आएको छ । यसमध्येकी उहाँ पनि ठूलो मात्रामा व्यावसायिक रुपमा तरकारी खेती गर्नुहुन्छ ।

तरकारी खेतीबाट वार्षिक रु तीन चार लाख आम्दानीसमेत हुन्छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटबल सडकखण्डको जहरेपिपलदेखि जमुना खर्चसम्म सडक नहुँदा यहाँ उत्पादित तरकारीलगायतका बस्तु निकासीमा समस्या नहटेको आलेको गुनासो छ । जहरेपिपलदेखि जमुनाखर्कसम्म झण्डै एक किलोमिटर पैदल हिँड्नसमेत सडक नभएको हो ।

खेतबारीमा तरकारी उत्पादन गर्न निकै मेहनत गर्नुपर्छ, उत्पादित तरकारी मानिसलाई बोकाएर लैजानुपर्ने गर्दा खर्च बढी हुन्छ, बजारमा समेत बिचौलियाले राम्रो मूल्य नपाइने समस्या रहेको आलेको गुनासो छ । गाँउबस्तीमा सडक आउँछ आउँछ भने पनि स्थानीयवासीले गाडी र फराकिला सडक देख्न सिद्धार्थराजमार्गअन्तर्गतको जहरेपिपलमा पुग्नुपर्ने बाध्यता हटेको छैन ।

स्थानीय सरकारको नेतृत्व जनप्रतिनिधिले पाएपछि उत्साहित बनेका नागरिक बस्ती सडक नहुँदा अझै पनि पहुँचवालाले मात्रा योजना प्राप्ति गरेको गुनासो छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा पनि घन्कियो । तर, सडक नहुँदा लास घाटमा, विरामी र सुत्केरी महिलालाई अस्पताल पु¥याउन समस्या छ । सडक नहुँदा ढुङ्गामा टेकेर खेतका डिल तथा खोलाका किनारामा ज्यान जोखिमा राखी यात्रा गर्नुपर्छ । हामीलाई सडक चाहिन्छ भनेर पटक पटक भने पनि सडक नभएपछि खोलाको किनारा, खेतका डिलमा टेकेर बिरामी बोक्नुपर्ने समस्या रहेको स्थानीयवासी भीमबहादुर नेपालीले बताउनुभयो । दलित, गरिब र पहुँचविहीनको कुरा स्थानीय सरकारले सुनिरहेकै छन् ।

सडक विस्तार गरी गाउँमा ल्याउन खोजिएको पहिरो सडकको काम पूरा हुन नसक्दा समस्या भएको हो । स्थानीय सरकारको यस वर्ष सडकको विस्तार गर्न बजेट विनियोजन गरिएको तानसेन नगरपालिका–१० का वडाध्यक्ष त्रिलोचन पौडेलले बताउनुभयो । यस वर्ष नै बस्तीमा सडक सञ्जालले जोडेर गाउँलाई आवतजावतमा सहजता ल्याउने योजना रहेको वडाध्यक्ष पौडेलको भनाइ छ । यसपालिका काम पूरा नभए अर्को वर्ष पूरा गर्ने हुन्छ, वडाध्यक्ष पौडेलले बताउनुभयो ।

वञ्चितीकरणमा परेका समुदायका बस्तीमा अझै विकास पूर्वाधार निर्माण हुन सकेको छैन । पहुँचवाला व्यक्तिका घरघरमा स्थानीय सरकारले सडक विस्तार गरेको छ तर, पहुँचविहीन नागरिकको टोल बस्तीमै सडक, खानेपानी, स्वास्थ्य, शिक्षाको भरपर्दो सुविधा नहुँदा नागरिकले समस्या भोगिरहेका छन् । दलित अधिकारका लागि साँझा अभियान पाल्पाका अध्यक्ष विष्णु बोमरेलका अनुसार दलित तथा विपन्न समुदायको लक्षित गरी कार्यक्रम सञ्चालन आर्थिक, सामाजिक तथा शैक्षिक अवस्थामा सुधार हुन सकेको छैन ।

दलित अधिकारकर्मीका अनुसार जिल्लाका अधिकांश दलित बस्तीमा सडक, खानेपानीमा अझै पनि पहुँच छैन । व्यावासयिकरुपमा कृषि उत्पादन गरी आत्मनिर्भर बनाउन आयआर्जनका कार्यक्रम सञ्चालन हुन नसक्दा बेरोजगारीको समस्यामा कमी नदेखिएको हो ।


प्रतिक्रिया दिनुहोस !


माओवादी केन्द्रको राष्ट्रिय भेलाः गुरुङको भागमा विधान, हितमानलाई व्यवस्थापनको जिम्मा



काठमाडौं, १९ मंसिर

नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । 

स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार माओवादीको विधान परिमार्जन गर्ने जिम्मा स्थायी कमिटी सदस्य देव गुरुङले पाएका छन् । उनको संयोजकत्वमा गठन भएको विधान परिमार्जन समितिले पार्टीको आगामी विधानको परिमार्जित मस्यौदा राष्ट्रिय सम्मेलनमा पेस गर्नेछ । 

त्यसैगरी काठमाडौंमा हुने सम्मेलनको मूल व्यवस्थापनको जिम्मा हितमान शाक्य नेतृत्वको सात सदस्यीय कमिटीले पाएको छ । 

सम्मेलनको प्रचारको काम भने प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वमा गठित उपसमितिले गर्नेछ । 

सर्कुलरअनुसार सम्मेलनमा सहभागी हुने प्रतिनिधकिो छनोट मंसिर मसान्तसम्ममा सक्नुपर्नेछ । सम्मेलनमा सहभागी कुल सदस्यको ५ प्रतिशत प्रतिनिधि केन्द्रले मनोनयन गर्ने परिपत्रमा उल्लेख छ । हरेक प्रदेशवाट ३० जनाका दरले र एक हजार पाँच सय संगठित सदस्य बराबर एकजनाले सम्मेलनमा भाग लिन पाउनेछन् । 

प्रदेशबाट प्रतिनिधित्व गर्ने ३० मध्ये एकजना अपांगता भएका र सशस्त्र विद्रोहमा घाइते भएकाहरू अनिवार्य समेटिनुपर्ने परिपत्रमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस !

पराजित कमल थापाले भने- ‘पुरस्कार पाएँ, राजाको भलो होस्



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएको कमल थापाले विजयी राजेन्द्र लिङ्देनलाई बधाइ दिनु भएको छ । थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनुभएको छ । यद्यपि, उहाँले पराजयलाई सहर्ष स्वीकार गर्ने बताउनुभएको छ ।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना’, उहाँले भन्नुभएको छ, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’

थापाले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गनुभएको छ । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि उहाँको आरोप छ ।

उहाँले लेख्नुभएको छ– ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’

प्रतिक्रिया दिनुहोस !

नेपाली काँग्रेस प्रदेश- २ को अधिवेशन स्थगित, नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने



काठमाडौ । नेपाली कांग्रेसको प्रदेश- २ को अधिवेशन उद्घाटनपछि स्थगित भएको छ । प्रदेश २ का धनुषाबाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको निर्वाचन समितिले बताए ।अब प्रदेश- २ को नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने बताइएको छ। प्रदेश अधिवेशनको उद्घाटन भएको तीन दिन बितिसक्दा पनि मनोनय दर्तालगायत चुनावी प्रक्रिया अगाडि बढेको छैन।

यता प्रदेश सभापतिलगायत पदहरूमा आकांक्षीहरूले औपचारिक रुपमा उम्मेदवारीसमेत घोषणा गरिसकेका छन्।प्रदेशका ८ जिल्लाका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अविधेशन स्थगित भएको निर्वाचन समितिले बताए।सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ ९ख०, सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन सकेका छैनन्।

सर्लाहीमा त अहिलेसम्म वडा अधिवेशनसमेत हुन सकेको छैन। निर्वाचन समितिकाअनुसार सर्लाही जिल्लामा अधिवेशनको प्रक्रियामा झमेला देखिएको छ।जिल्लाका निर्वाचन समितिहरूबाट प्राप्त हुनुपर्ने मतदाता नामावली साँझसम्म उपलब्ध नभएकाले पूर्वघोषित निर्वाचन तालिकाअनुसार शनिबार पनि मतदाता नामावली प्रकाशन हुन सकेन।

मतदाता नामावली नै प्रकाशन हुन नसकेको कारण आइतबार हुने भनिएको मनोनयन पत्र दाखिला पनि स्थगित भएको छ। रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनोटको काम सम्पन्न भइसकेको बताइए पनि निर्वाचन समितिमा नामावली प्राप्त हुन सकेन।” श्रोतका अनुसार प्रदेशको नेतृत्व चयनको प्रक्रिया अब महाधिवेशनपछि मात्र हुनेछ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: