१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

गण्डकी प्रदेशको सभापतिका लागि पौडेल समूहका ४ जनासहित ५ जना उम्मेदवार



पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश समितिको सभापति बन्न पूर्व मन्त्री, सांसद र जिल्लाका नेताहरुको दौडधुप सुरु भएको छ । कास्कीका कांग्रेस नेता देवराज चालिसेले बुधबार प्रदेश कमिटी सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । चालिसेले पौडेल समूहको तर्फबाट प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । त्यस्तै पौडेल समूहकै पूर्वमन्त्री यज्ञबहादुर थापाले पनि प्रदेश सभापतिका लागि दाबी गरेका छन् भने कास्की कांग्रेसमा प्रभाव जमाइरहेका पूर्व सांसदसमेत रहेका शुक्रराज शर्माले नेतृत्व हात पार्न कसरत गरिरहेका छन् । पौडेल समूहकै मानिने शर्माले सभापति हात पार्ने कसरतका साथ पौडेल समूहलाई पनि प्रभावमा पारेर देउवा क्याम्पमा लागेकोसमेत कांग्रेस वृतमा चर्चा चलिरहेको छ ।

सभापति देउवा समूहका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीलाई पनि प्रमुख दाबेदारको रुपमा हेरिएको छ । तनहुँ कांग्रेसका पूर्वसभापति रघुनाथ पौडेलले पनि आफू प्रदेश सभापतिका लागि उम्मेदवार बनेको घोषणा गरिसकेका छन् । प्रदेश सभापतिका लागि अहिलेसम्म देखिएका पाँच जना आकांक्षीमध्ये चार जना पौडेल समूहकै छन् । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार रवीन्द्र अधिकारीसँग पराजित चालिसे त्रिभुवन विश्वविद्यालयको प्राध्यापकबाट राजीनामा दिएर राजनीतिमा होमिएका हुन् । उनी त्रिभुवन विश्वविद्यालयका पूर्व स्ववियु सभापतिसमेत हुन् ।

कास्कीमा १७ वर्ष पार्टी सभापति चलाएका पूर्वसांसद शुक्रराज शर्मा प्रदेश सभापतिका अर्का उम्मेदवार हुन् । पछिल्लो पटक २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनका जगत विश्वकर्मासँग पराजित शर्माले कास्की कांग्रेसमा प्रभाव जमाउँदै आएका छन् । कास्की जिल्ला कार्यसमितिको निर्माण कसरी हुन्छ, त्यसले पनि प्रदेशको राजनीतिलाई प्रभाव पार्ने छ । कास्कीमा पाँच जना सभापतिका आकांक्षी छन् । त्यसमा चार जना पौडेल समूहकै तर कास्कीमा प्रभाव जमाइरहेका नेताहरुको उपगुट नजिक छन् ।

कास्कीका तीन वटा क्षेत्रबाट तीन जनाले नै प्रदेश सभापतिका लागि दाबी गरेका छन् । कास्की क्षेत्र नम्बर २ बाट चालिसे र ३ बाट शर्माले दाबी गर्दा क्षेत्र नम्बर १ का पूर्व मन्त्रीसमेत रहेका नेता यज्ञबहादुर थापाले पनि दाबी गरेका छन् । २०३६ सालमा नेविसंघमा विमलेन्द्र निधि अध्यक्ष हुँदा थापा उपाध्यक्ष बनेका थिए । २०७० सालमा संविधान सभा सदस्य बनेका थापा २०७३ सालमा न्याय, कानुन तथा संसदीय मामिला मन्त्री बनेका थिए । २०७४ सालको निर्वाचनमा खगराज अधिकारीसँग पराजित भएका थिए । कांग्रेस वरिष्ठ नेता पौडेल समूहका तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले पनि प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य तथा पर्वतका प्रभावशाली नेता अर्जुन जोशीलाई पनि कांग्रेसको सम्भावित सभापतिका रुपमा हेरिएको छ । तर, जोशीले उम्मेदवारी घोषणा गरिसकेका छैनन् । पहिलो पटक हुन लागेको कांग्रेस प्रदेश कार्यसमितिमा सभापति एक, उपसभापति २, महामन्त्री २ र १ महिलासहित ३ जना सहमहामन्त्री हुनेछन् । प्रदेश सभापतिले निर्वाचित सदस्यहरुबाट नाम प्रस्ताव गरी निर्वाचित कार्यसमितिबाट १ जना कोषाध्यक्ष चुनिने छन् ।


प्रतिक्रिया दिनुहोस !


वैशाखमै चुनाव गर्न राष्ट्रपतिको दबाब



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् । प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् । राष्ट्रपतिसँगको भेटपछि केही मन्त्रीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रपतिज्यूले बोलाएर वैशाखमै निर्वाचन गर्नुपर्यो भन्नुभयो, मैले यो सरकारले निर्णय गर्ने विषय हो, उपयुक्त निर्णय गर्छ भनें ।’

शीतलनिवास स्रोतले भने राष्ट्रपतिले प्रधानमन्त्रीलाई संवैधानिक प्रावधानका विषयमा स्मरण मात्र गराएको बतायो । राष्ट्रपतिका विज्ञ सल्लाहकार टीका ढकालले भने, ‘कुनै तिथि मितिको कुरा गर्नुभएको होइन, संविधान र कानूनमा जे व्यवस्था छ, त्यसअनुसार अगाडि बढ्नुपर्छ भन्नुभएको हो । सारांशमा त्यही बुझ्दा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस !

मुलुकलाई आर्थिक सम्वृद्धितर्फ डोर्‍याउनुपर्छ : उपेन्द्र यादव



जनकपुरधाम, १३ माघ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्लदोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अव आर्थिक सम्वृद्धिको बाटोमा मुलुकलाई डोर्‍याउनुपर्ने बताएका छन् ।

धनुषाको लक्ष्मिनियामा बिहीबार सेन्ट्रल अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अधिकार प्राप्त हुन अझै बाँकी रहे पनि विगतका आन्दोलनबाट प्राप्त संघीय व्यवस्थालाई मजबुत बनाई अब आर्थिक सम्वृद्धितर्फ अगाडी बढ्नुपर्ने बताए ।

आर्थिक बिना सम्वृद्धि प्राप्त नहुने बताउँदै अध्यक्ष यादवले भने, ‘सम्वृद्धिसँगै गरिबी, बेरोजगारी जस्ता समस्या समाधान हुन्छ । त्यसकारण अव आर्थिक सम्वृद्धितर्फ अगाडी बढ्नुपर्ने समय आएको छ ।’ निजी क्षेत्र र सहकारी क्षेत्रको सहयोगले पनि मुलुकलाई आर्थिक सम्वृद्धिको बाटोमा अगाडी बढाउन सकिने उनले बताए ।

विकासशील मुलुकलाई अगाडी बढाउन निजी क्षेत्र र सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने गरेको पनि बताए । ‘नेपालमा भाषा, अनुहार, जातजाति, धर्म सांस्कृतिक, समुदाय, परम्पराका हिसाबले विभेद अझै जारी नै रहेको छ,’ उनले भने, ‘यी विभेदलाई चिर्दे अगाडी बढ्नु अहिलेको आवश्यकता हो ।’ समाज परिवर्तनको लागि शिक्षा र स्वास्थ्य महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भने, ‘समाज शिक्षित भएको खण्डमा गरिबी, बेरोजगारी जस्ता समस्या बिस्तारै बिस्तारै समाप्त हुँदै जान्छ र देश सम्वृद्धिको बाटोमा अगाडी बढ्छ ।’

सेन्ट्रल अस्पतालका अध्यक्ष विजय झाले आफूहरूले सेन्ट्रल अस्पताललाई मुलुककै नमुना अस्पतालको रूपमा विकास गर्ने योजना बनाएको बताए । अस्पताल सञ्चालन गर्ने आफ्नो पुरानो सपना रहेको बताउँदै झाले अहिले सरकारबाट सय शय्याको अनुमति पाए पनि थप एक सय शय्याको लागि फाइल अगाडी बढाई सकेको बताए ।

अस्पतालमा एनआइसीसु, आइसीयु, ओपिडी, क्यान्सर सम्बन्धी रोगको उपचार, ल्यसपोकोपि तथा अन्य रोगको सहुलियत मूल्यमा उपचार गरिने उनले बताए ।

यसैबीच, कार्यक्रममा सेन्ट्रल अस्पतालका अध्यक्ष विजय झाले जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनले जसपाको सिद्धान्त र उपेन्द्र यादवको विचारबाट प्रभावित भएर आफू जसपामा प्रवेश गरेको बताए ।

कार्यक्रममा प्रदेशका पूर्व मन्त्री ज्ञानेन्द्रकुमार यादव, जसपाका केन्द्रीय सदस्य महाजन यादव, प्रदेश सांसद चमेलीदेवी दास, लक्ष्मिनिया गाउँपालिका अध्यक्ष विन्देश्वर यादवलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !

राष्ट्रियसभा निर्वाचनमा दलीय ह्वीप उल्लंघन, क्रसभोट हाबी, गठबन्धनमा शंका



काठमाडौं । राष्ट्रियसभामा खाली १९ मध्ये १८ सीट हत्याउन सफल भएपनि चुनावी प्रक्रियामा व्यहोर्नुपरेको घात, अन्तर्घातका घटना पाँच दलीय गठबन्धनका लागि अप्रत्यासित बनेको छ । आगामी तीन चुनावमा समेत गठबन्धनका लागि हौसिएका सत्तारुढ दल र अन्तरपार्टी क्रसभोटको अन्तरकथा भोगेको एमालेका लागि पनि यो ठूलो शिक्षा हो । चुनावमा देखिएको दृश्यले पार्टीभित्र गुट, उपगुटको राजनीति कति हावी छ भन्ने स्पष्ट हुन्छ ।

दलीय हिसाब विपरीत प्रदेश १ कोएक सिटमा भने नेकपा एमालेका उम्मेदवार अप्रत्याशित रूपमा विजयी बने । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेको यो चुनावमा कतै मत बदर भयो भने कतै गठबन्धन र एमाले दुबैतिर क्रस भोटिङ भयो । क्रस भोटिङ एवं अन्तरघात हुँदा प्रदेश एकबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भए । जित एमालेका सोनाम ग्याल्जेन शेर्पाको नाममा लेखियो । गठबन्धनमा अन्तरघात भएको परिणाम कांग्रेसका गोपाल बस्नेत र एमालेका गुरु बरालबीच बराबर मत आयो । भोट नभई भाग्य बलियो हुँदा सांसद नामको विशेषण बस्नेतका नाममा फाप्यो । मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गरेर क्षेत्रीय, वर्गीय, नातागोतामा मत विभाजित भएको देखिन्छ ।

अपवादलाई छाडेर प्रायः धेरैवटा प्रदेशमा गठबन्धनमा सहभागी कम्युनिस्ट उम्मेदवार भन्दा कांग्रेस उम्मेदवारले कम मत पाएका छन् । प्रदेश १ मा धोका पाएको जनता समाजवादी पार्टीले प्रदेश २ मा माओवादी भन्दा बढी भोट पाएको छ । सातै प्रदेशको नतिजा हेर्दा क्रस भोटिङको बाहुल्य बाक्लो छ ।

उति नै मतभार रहेका ठाउँमा गठबन्धनका उम्मेदवारले फरक–फरक मत पाएको तथ्याङ्क हेर्दा सत्तारुढ गठबन्धनमा अनुशासन पालना नभएको स्पष्ट देखिन्छ । प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूले नै गठबन्धन नहेरी जथाभावी भोट हालेको पाइएको छ । त्यस्तै अरूको भोट पाएर जितेका जनप्रतिनिधि स्वयंको भोट बदर भएको छ । गठबन्धनको सहमतिमा बनेका उम्मेदवारको भोट संख्या नै आकाश जमिन फरक पर्नु दलीय व्हीपले काम नगर्नु हो ।

गठबन्धन दलमा मात्रै होइन, एमालेमा पनि अन्तरघात भएको पाइएको छ । जस्तो– प्रदेश १ मा एमालेकी सुमित्रा भण्डारीले आफ्नै चारजना प्रदेश सांसदको भोट पाउनु भएन । एकीकृत समाजवादीकी जयन्ती राईलाई एमालेले पनि भोट हाले । अन्य प्रदेशमा पनि एमालेको भोट गठबन्धनतिर गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: